शुक्रबार, चैत्र १६, २०८०

अलैँचीका बिरुवा बेचेर राम्रो आम्दानी

इलाम, साउन २ गते । सूर्योदय नगरपालिका–८ की कृषक सुकुलमु योल्मोले अलैँचीको बिरुवाबाट राम्रो आम्दानी लिनुभएको छ । अलैँची विकास केन्द्रमा मजदुरी काम गर्दै आउनुभएकी योल्मोले आफ्नै बारीमासमेत अलैँचीको बिरुवा उत्पादन गरी बिक्री गरेर राम्रो आम्दानी लिनुभएको हो ।

२०६० सालदेखि अलैँची विकास केन्द्र पान्दामको केन्द्रीय कार्यालयले अलैँचीका बिरुवा उत्पदान लागि दैनिक ज्यालामा काम गर्दै अउनुभएकी योल्मो यतिखेर आफै अलैँची बिरुवाको मालिक बन्नुभएको हो । यो वर्ष अलैँचीको बिजु बिरुवा उत्पादन गरेर योल्मोले एक लाख ३३ हजार रुपियाँ आम्दानी गर्नुभएको छ । १४ हजार आठ सय गोटा बिरुवा प्रतिगोटा नौ रुपियाँले बिक्री गरेर कृषक योल्मोले उक्त रकम आम्दानी लिएको बताउनुभयो ।
एक रोपनी आठ आना जग्गामा बिरुवा उत्पादन गर्नुभएको योल्मोले खर्च कटाएर खुद एक लाख १३ हजार रुपियाँ आम्दानी भएको बताउनुभयो । अलैँची विकास केन्द्रको प्राविधिक सहयोगमा कृषक योल्मोले सफलता प्राप्त गर्नुभएको हो । लगातार तीन वर्षदेखि बिरुवा उत्पादन गर्दै आउनुभएको भए पनि यसअघि ठूलो परिमाणमा बिरुवा उत्पादन नभएको उहाँले बताउनुभयो ।कार्यालयले बीउ उपलब्ध गराएपछि थप हौसला थपिएको कृषक योल्मोले बताउनुभयो । कृषक योल्मोबाटै प्रेरणा पाएपछि छिमेकीले बिरुवा उत्पादन थालेका छन† । बारीमा अरु खेती लगाएको भए पाँच हजारको पनि आम्दानी हुने थिएन, उहाँले भन्नुभयो, अलैँचीको बिरुवाले फाइदा दिएको छ ।
योल्मोले उक्त आम्दानीबाट दुई बच्चालाई पढाइरहनु भएको छ भने घरखर्चमा सजिलो भएको दाबी गर्नुहुन्छ । अलैँची विकास केन्द्र स्थापनासँग जिल्लाको जिर्मले, सूर्योदय नगरपालिका, मावुलगायत गाविसमा बिरुवा उत्पादन हुँदैआएको छ । कृषकलाई बिरुवा उत्पादनका लागि केन्द्रले बीउ उपलब्ध गराउँदै आएको केन्द्रका प्रमुख पदम अधिकारीले जानकारी दिनुभयो । बिरुवा तीन वर्ष भित्रमा बिक्री हुन्छ ।

प्रकाशित मिति: शनिबार, साउन २, २०७२