आइतवार, मंसिर २४, २०८०

खाद्य सुरक्षाका लागि उत्पादकत्व बृद्धिस“गै पोषणका कुरालाई पनि लैजानु पर्दछ

shyam paudel
श्यामप्रसाद पौडेल
आयोजना निर्देशक
कृषि तथा खाद्य सुरक्षा आयोजना

० खाद्य संकटको चर्चा चलिरहेका बेला कृषि तथा खाद्य सुरक्षा आयोजनाले के गरिरहेको छ ?
कृषि तथा खाद्य सुरक्षा आयोजना सन् २०१३ देखि खाद्य सुरक्षासँग सम्वन्धित नै रहेर सञ्चालनमा रहेको छ । हाम्रो देशको सन्दर्भमा भन्ने हो भने सुदूर तथा मध्यपश्चिम क्षेत्रका पहाडि, उच्च पहाडि र हिमाली जिल्लाहरु समेत भौगोलिक क्षेत्रका हिसावले बढी नै संवेदनशील र खाद्य न्यूनता भन्दा कुपोषणको समस्या बढि छ । त्यस कारणले गर्दा सुदूर पश्चिम तथा मध्य पश्चिमको पहाडि र उच्च पहाडि जिल्लालाई यो आयोजनाले लक्षित गरेको छ । खासगरी मुख्य खाद्यान्न बालीहरु धान, गहुँ, मकै,आलुको उत्पादकत्व बृद्धि गर्ने र कृषकहरुका लागि नेपाल कृषि अनुसन्धान परिषद्ले विकसित गरेका नयाँ प्रविधिहरु र सुधारिएका अभ्यासहरु कृषक पाठशालाको माध्यमबाट सिकाउँछौं ।
त्यसपछि नयाँ बीउ प्रविधिहरुको अवलम्बन गर्न सहयोग गर्दछौं । आयोजनाले जिल्ला स्थित कृषि विकास कार्यालयबाट कृषि सम्वन्धि, बाली सम्वन्धि कार्यहरु पशु सेवा कार्यालयबाट पशुपंक्षीको उत्पादकत्व बृद्धि गर्नेकार्यहरु र त्यसको खपत उपभोग पनि बढोस् भनेर काम गरिरहेका छौं । पोषणका दृष्टिकोणले खानपानको परिवर्तन गर्नका लागि पनि जिल्ला जनस्वास्थ्य कार्यालय मार्फत कायक्रम सञ्चालन गरिरहेका छौं ।
० खाद्य सुरक्षासँग पोषणको कुरा पनि उठिरहेको छ, पोषणसँगै उत्पादकत्व बृद्धि गर्न कत्तिको सम्भव छ ?
सम्भव बनाएर लैजानु पर्दछ । यो अत्यन्तै महत्वपूर्ण पनि हो । त्यसका लागि उत्पादन गर्ने बालीहरु छनौट देखिनै ध्यान दिनु आवश्यक छ । आलुको जातमा जिङ्क तत्व पनि पाईने किसिमले प्रविधिलाई अंगाल्न सक्नु पर्दछ । खाद्यान्नको हिसावले उत्पादकत्व बढाउने एउटा पाटो छ भने अर्कोतिर पोषणको कुरा गर्दा खाद्यान्न मात्र भएर पुग्दैन । पोषणका लागि फलफूल, तरकारी माछामासु तथा दूधजन्य पदार्थ ठिक मात्रामा खानु पर्ने हुन्छ  । विभिन्न उमेर, समूह काम गर्ने बर्गको लागि शारीरिक पौष्टिक तत्वको मात्रामा फरक फरक हुन्छ । त्यसकारण पनि हामीले प्रविधि विकासदेखि लिएर त्यस्ता प्रविधिहरुलाई किसानसम्म पु¥याउने अभियानमा जुटेका छौं । पछिल्लो समयमा हेर्ने हो भने कृषक पाठशालाका कारण पोषण सम्वन्धि धेरै कुरामा किसानहरु जानकार भईसकेका छन् । जसले गर्दा खाद्य सुरक्षाका लागि उत्पादकत्व बृद्धि र पोषणका लागि कतिपय स्थानीय जातका बालीहरु ज्यादै महत्वपूर्ण पनि भएकाले यसलाईसँगै लिएर जानु पर्दछ ।
० कस्ता बालीहरुको उत्पादकत्व बृद्धिमा यहाँहरुले सहयोग गरिरहनु भएको छ त ?
खाद्य सुरक्षासँग पोषणका लागि आवश्यक स्थानीय बालीहरुको उत्पादन बृद्धिका लागि पनि सहयोग गरिरहेका छौं । जस्तै कोदो, उवा, फापर कर्णाली लगायत विभिन्न जिल्लाहरुमा कागुनो जस्ता स्थानीय जातको बालीहरुमा पनि सहयोग गर्दै आईरहका छौं । यी बालीहरुमा खासगरी भिटामिन, मिनरल्सहरु लगायत पौष्टिक तत्वहरुको हिसावले अत्यन्तै राम्रो छ । हाम्रा नागरिकहरुको खानेबानीमा पनि केही परिवर्तन गर्नु आवश्यक छ । यो आयोजनाले प्रमुख बालीहरु धान, गहुँ, मकै आलु लगायतको उत्पादकत्व बढाउने र पौष्टिक तत्वहरु बढी हुने फापर जौ,उवा कोदो चिनो, कागुनो जस्ता स्थानीय जातको बालीको संरक्षण तथा त्यसको उत्पादकत्व बढाउने काम पनि गरिरहेका छौं ।
० विगतमा भन्दा पछिल्ला दिनहरुमा आयोजना सञ्चालन भएका पहाडि जिल्लाहरुमा स्थानीय जातका बालीहरु लोप हुन लागिसके भन्छन् नि ?
लोप हुन लागेका छन् भन्दा पनि सडक यातायातको सुविधाका कारण खानपिनमा परिवर्तन भएको पक्कै हो । पहिलो स्थानीय उत्पादनहरु नै बढी खपत हुन्थ्यो भने अहिले चामल नै बढी प्रयोग हुन थालेको पाइन्छ । जसका कारण परम्परागत रुपमा उत्पादन हुने बालीको क्षेत्रफल नै घट्न गएकोले त्यस्तो देखिएको हो र उत्पादनमा कमी भएको छ । कर्णाली जिल्लामा उत्पादन हुने सिमी अत्यन्तै महत्वपूर्ण मानिन्छ । त्यो क्षेत्रमा उत्पादन भएको सिमी बाहिरिँदै आएको छ । कर्णालीकै मानिसहरुमा कुपोषणको समस्या बढी छ । जुन पोषणका हिसावले उत्कृष्ट छ त्यही नै बाहिर जाने हो भने कुपोषणले खाद्य सुरक्षाको समस्यालाई सम्वोधन गदैैन । त्यसकारण सिमीलाई स्थानीय स्तरमा खपत बढाउनलाई कोशिस गर्नु पर्दछ  । यताबाट चामल जाने उताबाट पौष्टिक खाद्यबस्तु अन्य जाने भयो भने पोषणका दृष्टिकोणले पूर्ण भने हुँदैन ।
० किसानहरु कत्तिको उत्साहित भएका छन् त ?
हामीले कृषि तथा पोषणको विषयमा काम गर्ने छुट्टा छुट्टै संस्थाहरुसँग काम गरिरहेका छौं । एउटै आयोजनमा पोषण सुधारका लागि कृषिजन्य बस्तुको उत्पादकत्व बढाएर काम गर्न आमा समूह, कृषक समूह, स्वास्थ्यकर्मीसँग समेत काम गरिरहेका छौं । त्यसकारण यो आयोजना एउटा विशेषता पनि हो । अरु आयोजना भन्दा यो आयोजना पृथक पनि छ । नौलो पनि छ । यसका हामीले केही नयाँ कुरा पनि किसानहरु समक्ष लगेका छौं । त्यसकारण किसानहरुले यो आयोजनामा एकदमै मन पराउनु भएको छ । हामीले बाली पिच्चे कृषक पाठशाला सञ्चालन गरेपछि किसानहरु झन् उत्साहित हुन भएको छ । धान बाली सम्वन्धि कृषक पाठशाला कै कुरा गर्ने हो भने जग्गाको तयारी ब्याड राख्ने, बीउको जगेडा गर्नेदेखि लिएर बाली लगाउने र उत्पादन बालीको हार्भेष्ट गर्ने बेलासम्मका नयाँ प्रविधि किसानहरुलाई अभ्यास गराउँदै आएका छौं । त्यसैले पनि आयोजना किसानमय बनेको छ ।
० अन्त्यमा के भन्नु हुन्छ ?
किसानहरुलाई वास्तविक रुपमा आवश्यक भनेको प्रविधि नै हो । अरु देशहरुमा पनि कृषिको विकास प्रविधिकै कारणले गर्दा भएको छ । हिमाल, पहाड तराई जुनसुकै ठाउँमा होस् ठाउँ अनुसार उपयोग हुने प्रविधि विस्तार गर्नु आवश्यक छ । अर्को कुरा के हो भने किसानहरुलाई हरेक बस्तु र बालीका लागि कुन कुन समयमा के के गर्नु पर्दछ भन्ने ज्ञान नभएको धेरै छ । त्यसकारण किसानहरुलाई सहि सूचना प्रवाह गरेर आधुनिकीकरणमा संलग्न गराएर उत्पादकत्व बृद्धि गराउनु आवश्यक छ । – वैकुण्ठ भण्डारी

प्रकाशित मिति: आइतवार, असार २७, २०७२