शुक्रबार, चैत्र १६, २०८०

२२ करोडको दूध बिक्री

हेटौंडा, २४  असार – मकवानपुरका दुग्ध उत्पादक कृषकले २१ करोड ९६ लाख रुपैँयाको दूध बिक्रि गरेका छन् । सहकारीमा आवद्ध भई कृषकहरुले आर्थिक बर्ष ०७१÷०७२ को ९ महिनामा २१ करोड ९६ लाख ७४ हजार ६ सय २३ रुपैँयाको दूध बिक्री गरेका हुन् ।
जिल्ला दुग्ध उत्पादक सहकारी संघका अनुसार चैतसम्ममा संघमा आवद्ध दुग्ध उत्पादक सहकारी संस्थाले ४६ लाख लिटर दूध बिक्री गरेका छन् । “संघले ५४ वटा सहकारीका २४ वटा चिस्यान केन्द्रबाट दूध संकलन गर्ने गरेको छ ।”–संघका व्यवस्थापक कुमारमणी दाहालले बताए । आव ०७०/०७१ मा ५८ लाख ७० हजार लिटर दूध संकलन भएको जनाईएको छ । “चालु आवमा करिव ६२ लाख लिटर दूध संकलन हुने अनुमान गरिएको छ ।”–उनले भने ।
ग्रामिण भेगमा व्यावसायिक पशुपालन गर्ने क्रम बढेकाले बर्षेनी दूध उत्पादन बढिरहेको संघको तथ्यांकले देखाएको छ । कृषकमा व्यवसायिकता अभिबृद्धि भएकाले दूधको परिमाण बढेको संघका अध्यक्ष बासुदेव सापकोटाले बताए । सापकोटाका अनुसार हेटौँडा–२० को चेतनशिल दुग्ध उत्पादक सहकारी संस्थाले मात्रै दैनिक दुई हजार पाँच सय लिटर दूध संकलन गर्ने गरेको छ । संघले दूधको परिमाणमा भन्दा पनि आगामी दिनमा गुणस्तरमा ध्यान दिन लागेको जनाएको छ । दूधको एसएनएफ ८ कायम गर्न सदस्य सहकारीसँग समन्वय गरिरहेको सापकोटाले बताए ।
प्रतिष्पर्धी बजारमा परिमाणसँगै गुणस्तरमा पनि जोड दिनु जरुरी रहेको केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण देवकोटाले बताए । नेपाल दूधमा आत्मनिर्भर भईसकेको बताउँदै उनले भारतबाट हुने दुग्ध पदार्थको आयात रोक्नुपर्ने बताए । उनले नेपालमा ‘मिल्क होलिडे’ हुन नदिन भारत र भुटानमा दूग्ध पदार्थ निर्यातको सम्भाव्यताबारे अध्ययन भईरहेको बताए । उनले गुणस्तरीय दूध उत्पादन गर्दै निर्यातमा तयार रहनुपर्ने बताए । अघिल्लो बर्षको तुलनामा आव २०७१÷७२ मा १० प्रतिशतले दूध उत्पादन बृद्धि भएको र आउँदो बर्ष २० देखि २५ प्रतिशतले दूध उत्पादन बृद्धि हुने केन्द्रिय दुग्ध उत्पादक संघको अनुमान छ ।-रुपेश दुलाल

प्रकाशित मिति: बिहिबार, असार २४, २०७२