बिहिबार, बैशाख १३, २०८१

रोपाइँ गर्न नपाउँदा कृषक चिन्तित

मोरङ, २४ असार । पर्याप्त पानी नपर्दा मोरङका कृषकहरू धान रोपाइँ गर्न नपाएर चिन्तित भएका छन् । असार पहिलो सातादेखि नै रोपाई सुरु गर्ने किसानहरू असार बित्न लाग्दा पनि पर्याप्त वर्षा हुन नसक्दा चिन्तित भएका हुन् ।

मोरङको कोसी हरैचा नगरपालिका–१४ का कृषक पुष्पेन्द्र भट्टराई भन्छन्, ‘पानी पर्न सकेन, दुई चास लगाएको खेत चिरा पर्न थालिसक्यो, खै कैले गर्नु रोपाइँ ?’ मोरङको ८० हजार हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ । त्यसमध्ये ५० प्रतिशत खेतमा मात्रै ढुक्कसँग सिँचाइको भर हुन्छ भने ५० प्रतिशत क्षेत्रफलका लागि मौसमकै भर गर्नुपर्छ । केही दिनअघि सुरु भएको वर्षाले रोपाइँमा सहयोग गर्ने आशा राखेका कृषक पछिल्ला दिनमा पानी पर्न नसकेपछि निरास बनेका हुन् । मोरङ गोठगाउँका कृषक खेमप्रसाद कोइराला पनि पानी नपर्दा खेत हिल्याउन नसकेको बताउँछन् । ‘यसपटक त रोपाइँ गर्न भदौ लाग्लाजस्तो छ,’ उनले भने ।

जिल्ला कृषि कार्यालय मोरङका अनुसार बिहीबारसम्म २५ प्रतिशत धान रोपाइँ सकिएको छ । कार्यालयका प्रमुख राजेन्द्र उप्रेतीका अनुसार पानी नपर्दा रोपाइँ केही प्रभावित हुने देखिए पनि आत्तिहाल्नुपर्ने अवस्था छैन । किसानले खेत जोतेर आली काटेर तयारी अवस्थामा बसेका छन्, बिउ पनि तयार छ, उपे्रतीले भने, ‘मौसम सुधार हुनेबित्तिकै दुई÷ तिन दिनमा ५० प्रतिशत रोपाइँ सम्पन्न हुन्छ ।’यस वर्ष सुनसरी मोरङ सिँचाइ आयोजनाको नहरबाट सिञ्चित हुने जग्गामा भने रोपाइँको काम केही ढिलो हुन पुगेको छ । मोरङको सिसबनी बडहरामा केही दिनअघि नहर फुटेपछि सिँचाइ अवरोध हुन पुगेको थियो । मर्मतपछि अहिले नहरमा पानी छाडिएकाले कृषकले रोपाइँको तयारी गर्न थालेको उप्रेतीले बताए ।

मोरङका पूर्वी क्षेत्र र उत्तरी क्षेत्रमा भने धान रोपाइँ भइसकेको छ । नहर सिँचाइको भर नपर्ने कृषकहरूले बोरिङ र स्यालो ट्युबेलबाट सिँचाइ गरी धान रोपाइँ गरिसकेको कृषि कार्यालयले जनाएको छ । कतिपय क्षेत्रमा भने चैते धान, सनपाटलगायतको खेती लगाएका कारण रोपाइँ केही दिनपछि हुने उप्रेतीले बताए । उनका अनुसार मोरङमा भदौ पहिलो सातासम्म रोपाइँ जारी रहन्छ । सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरछेउका (शिर) का क्षेत्रमा सुरुमा धान रोपाइँ हुने र टाढा (पुछार) का क्षेत्रमा पछिसम्म धान रोपाइँ हुने कार्यालयले जनाएको छ । गत वर्ष मोरङमा ७८ हजार हेक्टर जमिनमा धानखेती लगाइएको थियो । त्यसमा ३ लाख २० हजार मेट्रिक टन धान उत्पादन भएको जिल्ला कृषि कार्यालयको तथ्यांकमा उल्लेख छ । -सुदीप कोइराला

प्रकाशित मिति: बिहिबार, असार २४, २०७२