शुक्रबार, चैत्र १६, २०८०

पत्रकारलाई गाली गर्दै बामदेवले सम्हाले कृषि मन्त्रालयको जिम्मेवारी

काठमाडौं । लाटो खान्छ एक बल्ड्याङ्ग बाठो खान्छ दश बल्ड्याङ्ग भन्ने नेपाली उखान जस्तै धान दिवसका दिन मूलपानीको रोपाई दिवसमा थोरै गल्ती र धेरै रमाईलो गर्दा तात्कालिन कृषि मन्त्री हरिप्रसाद पराजुलीको पदले बल्ड्याङ्ग खाएपछि कृषि मन्त्रीका लागि एमाले भित्रको केही किसानका नेताहरुले निकै मेहनत पनि गरे ।bamdev join the agriculture ministry

नेकपा एमालेको भागमा परेको कृषि मन्त्रालयमा नयाँ कृषि मन्त्रीका लागि बलराम बाँस्कोटाको निकै नै चर्चा पनि भयो । केही सञ्चार माध्यमले त बलराम वाँस्कोटा कृषि मन्त्री हुँदै भन्ने समाचारहरु पनि प्रकाशित गरे । गृहमन्त्री कमरेड बामदेव गौतमसँग टाँसिएको बलराम वाँस्कोटाका फोटाहरु पनि दुइचार दिन निकै चर्चामा आए । तर उनी कृषि मन्त्री हुन पाएनन् । कृषि मन्त्रीका लागि एमालेपाटीभित्र समेत विवाद भएपछि अन्ततोगत्वा अर्को व्यवस्था नभएसम्मका लागि कृषि मन्त्रालय उप्रधान तथा गृहमन्त्री बामदेवले नै सम्हाल्ने गरी सहमति भयो ।
लामोसमयसम्म अखिल नेपाल किसान महासंघको अध्यक्ष सम्हालेका कमरेड बामदेव गौतमले कृषि मन्त्रीको समेत जिम्मेवारी सम्हाल्दा धेरैले खुशी पनि व्यक्त गरे । सोमबार विहान १० बजे कृषि मन्त्रालयमा आफ्नो जिम्मेवारी सम्हाल्न पुग्दा हरिप्रसाद पराजुलीले जस्तै कृषिका धेरै ज्ञानगुन र अनुभवका कुरा गर्ने आशामा बसेका कर्मचारी तीन छक्क परे । कारण कृषि मन्त्रीको जिम्मेवारी सम्हाल्ने वित्तिकै बामदेव गौतमले कृषि विकासको कुरा गर्नुको साटो पत्रकारहरुलाई सक्दो गाली गरे ।
पत्रकारहरुकै कारण हरिप्रसाद पराजुलीको मन्त्री पद गएको ठूलो चिन्ता व्यक्त गर्दै हरिप्रसाद पराजुलीले विगतमा गरेका राम्रा कामहरुको धेरै नै प्रशंसा पनि गरे । आफूले गृह मन्त्रालयमा धेरै समय दिनु पर्ने भएकाले हरिप्रसाद पराजुलीकै सल्लाहमा कृषि मन्त्रालयलाई अगाडि बढाउने भन्दै मन्त्री गौतमले नेपाली पत्रकारहरुले पीत पत्रकारिता गर्ने गरेको आरोप पनि लगाए तर कसले र कुन सञ्चार माध्यमले पीत पत्रकारिता गरे भन्ने आँट गर्न सकेनन् ।bamdev

पीत पत्रकारिता गर्नेहरुलाई मुलुकले बनाएको कानून बमोजिम कार्वाही हुनु पर्दछ तर गृहमन्त्री जस्तो पदमा बसेका व्यक्तिले पत्रकारिता क्षेत्रलाई नै अशोभनीय किसिमले पीत पत्रकारिता भन्दै गाली गर्न मिल्ला कि नमिल्ला । गल्ती गर्ने पत्रकारहरुको लागि पत्रकार आचार संहिता अनुरुप कार्वाही गर्ने व्यवस्था हुँदा हुँदै गृहमन्त्री एवं कृषि मन्त्री समेत बन्न पुगेका बामदेव गौतमले पत्रकारिता क्षेत्रलाई सत्तो सराप गर्नु राम्रो हो कि होइन । कमरेड बामदेवले पत्रकारहरुलाई गाली गर्नु भन्दा गल्ती गर्नेहरुलाई सच्याउन निर्देशन दिनु पर्दथ्यो कि ?
कृषि मन्त्रीको पद सम्हालिरहँदा बर्खेखेती शुरु भएका कारण किसानहरुले कुनै पनि समस्या भोग्न नपरोस् भनिदिएको भए अलि बेस हुनथ्यो कि ? मल वीउ अभाव हुन दिन्न भन्नुको सट्टा पत्रकारलाई गाली गरेरै जिम्मेवारी सम्हालेका कृषि मन्त्रीले कृषिका लागि कति काम गर्दछन् त्यो भने हेर्न वाँकी नै छ । – कृषि सम्वाददाता

प्रकाशित मिति: सोमवार, असार २१, २०७२