शुक्रबार, बैशाख ७, २०८१

गुणस्तरहीन बीउ बजारमा छ्याप छ्याप्ती सरकार मौन

काठमाडौं । गुणस्तर वीउ बेच्छु भनेर एग्रोभेट सञ्चालनका लागि स्वीकृत लएका अधिकांश एग्रोभेटहरु बढी नाफा कमाउनका लागि किसानको भविष्यमाथि खेलबाड गरिरहेका छन् । गुणस्तरहीन बीउ निरन्तर विक्री वितराण गरिरहँदा पनि सम्वन्धिन निकाय मौन बसेकै कारण बीउ व्यापारीहरुको कमाउ धन्दा फस्टाउँर्दै गएको पनि छ । तर, बीउका विशेषज्ञहरु भन्छन् बीउ गुणस्तरिय भए २० प्रतिशत उत्पादनमा आफै बृद्धि हुन्छ, । विडम्वना नेपालमा गुणस्तरीय बीउ नपाइनु सबै भन्दा ठुलो समस्या हो । विभिन्न नाममा स्थापना भएका बीउ विजन आयातकर्ता, ठुला कम्पनी , तथा नेपाली कम्पनीहरुले किसानमाझ लोकप्रिय रहेका बीउहरु मिति गुज्रेपछि पुन ः प्याकेजिङ गरी नयाँ मिति र समय राखी विक्री गर्ने लहर बढ्दै गएको छ । किसानप्रति अनुत्तरदायी ब्यापारीका कारण अत्यन्तै कडा परिश्रम र दुख गरी कृषि उपज उत्पादन गरी आफ्नो जिविकोपार्जन गर्ने साना किसानदेखि लिएर भर्खर ब्यवसायिकता तर्फ अगाडि बढ्दै गरेका किसान ठगिएका छन् । बीउ विजन गुणस्तर नियन्त्रण केन्द्रका नामले बीउको गुणस्तर मापन गर्ने सरकारी कार्यालय झन् यो बिषयमा लाचार देखिन्छ । न अनुगमन न कसैलाई कारवाही यसको काम केवल तलव र तालिम भत्ता खाने बाहेक अरु हुन सकेको छैन । seeed
बजारमा मिति सिद्धिएका यस्ता बीउहरु छ्याप्छ्याप्ती भेटिन्छन् । हाकाहाकी सिद्धिएको मिति मालाथिएन वा ढुसीनासक बिषादीले मेट्ने गरेको कतिपय एग्रोभेटहरु आँफै बताउँछन् । उनीहरु भन्छन्, कारवाही गर्ने निकाय कोही छ भने कारवाही गरेर देखाओस् । बिदेशबाट बीउ आयात गर्ने आयातकर्ता मालिक र यहाँका थोक बिक्रेता एग्रोभेट सञ्चालक नोकर जस्तो भएकाले कहिलेकाँही आवाज उठेपनि सुनुवाई नहुने उनीहरुको गुनासो छ ।
किसान माझ लोकप्रिय रहेको नाङ्वो बायो कम्पनीको मिनु अर्लि मुला नेपाल आयात गर्ने कम्पनीले नयाँ प्याकिङ् गरी मिति नयाँ राखेर बजारमा ल्याएको छ । कम्पनीले आयात गरेको सो बीउको प्याकेजिङ मिति २०१३ को जुलाई महिना भए पनि सोहि प्याकेटमा कम्पनीले आफ्नो तर्फबाट २०१५ को जुलाईसम्म २ वर्ष समय बढाई प्याकिङ्ग भएको समय र मिति बढाएको छ । सो बीउ नेपाल आयत गर्ने नेपाली आयातकर्ता नेपाल सिड कम्पनीका अध्यक्ष नेम महर्जन कृषि साप्ताहिकसँग उमारशक्ति परिक्षण गरेर मिति बढाएको दाबी गर्दछन् । यसो गर्दा कुनै समस्या नहुने उनको दावी छ । आफुहरुले कुनै प्रकारको नियम नमिचेको उनी तर्क गर्छन् । उनी भन्छन् यस्ता बिषय खोज्ने र लेख्ने काम पत्रकारको होईन । तर बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख धर्मदत्त बरालले बीउको उत्पादन मिति पुनः थप्न उमारशक्ति परिक्षण गरी ६ महिना सम्म पुनः प्याकिङ् भएको मिति र समय बढाउन सकिने बताए । ६ महिना भन्दा बढि बढाउने नियम नभएको बराल बताउँछन् । कसैले यस्तो गरिएको भेटिएमा तुरन्तै कारवाही गरिने पनि उनले बताए ।
देखादेख बीउमा ठगी भैरहँदा यसका नियमन निकाय रमिते बनेको छ । बिउ आयात गर्ने केही ठुला कम्पनीहरुले किसान माझ लोकप्रिय रहेको बीउहरुको मूल्य प्रत्येक वर्ष बढाउने गरेको समस्या त छदै छ । यससँगै मिति नाघेका बीउहरु पुनः लामो समयको मिति थप गरी किसानलाई विक्रि वितरण गरिरहको अवस्था छ । बीउमा ठगि गर्नु भनेको नेपाली कृषि क्षेत्रको विकासमा रोकावट गर्नु हो । नेपाली किसानको लगानी र श्रमलाई खेर फाल्नु हो, तर यस विषयमा विभिन्न सञ्चार माध्यमहरुमा केही समाचार आएपनि विभिन्न स्रोतको प्रयोग गरी यस प्रकारको समाचार दबाउने प्रयास गरिएले गल्ती गर्नेहरु कारवाहीमा नपरेका हुन् । बीउको ठगि प्रकृयामा निजी कम्पनीहरु जति भागिदार छन् उत्तिकै भागिदार कृषि हेर्ने सरकारी निकाए पनि छ । नियम मिचेर काम गर्ने निजी कम्पनीहरुको विषयमा आएका आवाजहरु सुनेर पनि नसुने झै गर्ने उनीहरुको रवैयाले नेपाली कृषि क्षेत्र भ्यागुताको धार्नी नपुगे झै विकासको एउटै अवस्थामा बस्न बाध्य भएको छ ।
हालसालै लोकप्रिय बनेको सिर्जना टमाटरको बिउको उत्पादन गर्ने नेपाली बीउ कम्पनीहरुलाई त झन सरकारले खुला छाडिदिएको छ । न यसका कुनै आधिकारिक कम्पनी छन् । न यसको गुणस्तर मापन नै हुन्छ । हुँदा हुँदा कृषि अनुसन्धान परिषद् भित्रकै कर्मचारीपनि यसको ब्यापारमा लागेको पाईएको छ । आजकल किसान नार्कमै गएर बीउ किन्न थालेका छन् । हालसम्म कुनैपनि नीजि कम्पनीलाई सिर्जना जातको टमाटर उत्पादन गर्ने आधिकारीक अनुमति नभएको बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख धर्मदत्त बरालले बताए ।
सिर्जना जातको बीउ कृषि अनुसन्धान परिषद्ले करिब १३ वर्ष अघि नेपालमा उन्मोचन गरेको हो । यो बीउ सम्बन्धि सम्पूर्ण अधिकार कृषि अनुसन्धान परिषद्सँग सुरक्षित रहेको छ । कृषि अनुसन्धान परिषद्सँगमात्र यो बीउको स्रोत बीउ उत्पादन गर्ने अधिकार छ । तर विगत ४–५ वर्ष यता टनेल भित्र व्यवसायिक गोलभेँडा खेती गर्ने किसान माझ सिर्जना जातको गोलभेँडा लोकप्रिय बनेकाले व्यवसायिक हिसाबले ६–७ वटा कम्पनीले विभिन्न प्याकिङ्मा यो जातको गोलभेँडा बजारमा ल्याएका छन् । विभिन्न कम्पनीहरुले प्याकिङ् गरेको बीउको गुणस्तरियता मापन गर्ने कुनै संयन्त्र बनेको छैन । किसान कुन कम्पनीले उत्पादन गरेको बीउ लगाउने भन्ने विषयमा द्धिविधामा परेका छन् । सबैले आफ्नो बिउ गुणस्तरिय भएको दाबी गर्ने भएपनि बीउ किनेर लागाइसके पछि मात्र त्यो बीउ कस्तो हो भन्ने थाहा हुने भएकाले यस विषयमा किसानलाई धेरै समस्या भएको काठमाडौँको दहचोकमा विगत ५ वर्ष देखी व्यवसायिक गोलभेँडा खेती गदै आएका किसान पदमलाल घिसीङ् बताउँछन् । उनका अनुसार गोलभेँडामा मात्र नभई अन्य विभिन्न तरकारीबालीमा गुणस्तरीय बीउ प्राप्त गर्न धेरै गाह्रो छ । यसले व्यावसायिक रुपमा लागेका किसानलाई हतोत्साही बनाएको उनको अनुभव छ । कतिपय कम्पनीहरुले बाहिर प्याकेटिङमा जति प्रतिशत उमारशक्तिको उल्लेख गरेका छन् सोहि अनुसारको बिउको उमारशक्ति पाइदैन । जुन रोग सहन सक्ने विशेषता भनिएको छ । सोहि रोगको प्रकोप बिउमा बढी देखीने गरेको छ । यस्तो अवस्थाले भरर्खर मात्र व्यावसायिकता तर्फ उन्मुख हुन थालेको नेपालको कृषि क्षेत्र समस्याग्रस्त भएको छ । नेपाली किसानलाई आधुनिक प्रविधिको उपयोगको विषयमा प्राविधिक जानकारीको अभाव त छँदै थियो, यस सँगै गुणस्तरिय बीउको अभाव पनि टड्कारो समस्याको रुपमा देखा परेको छ । बीउ ब्यवसाय गर्ने ब्यवसायीहरुको साझा संगठनको रुपमा चिनिएको नेपाल बीउ ब्यवसायी संघका अध्यक्ष लक्ष्मीकान्त ढकाललाई तपाँईहरुको संगठने बीउमा ठगी गर्ने ब्यवसायीलाई संगठित मात्र गर्ने हो की उनीहरुलाई कारवाहीको सिफारिस पनि गर्छ भन्ने प्रश्नमा हालसम्म कसैलाई कारवाहीको सिफारिस नगरिएको बताउँछन्  ।
तरकारीबालीमा मात्र नभई अन्नबालीमा पनि गुणस्तरिय बिउ प्राप्त गर्न समस्या छ । विभिन्न कम्पनीहरुले प्रत्येक वर्ष विदेशबाट ल्याउने नयाँ–नयाँ हाइब्रिड जातका बीउहरुको परिक्षण गर्ने थलो किसानको खेतबारी भएको छ । प्रत्येक वर्ष तराईका विभिन्न जिल्लामा मकैमा दाना नलागेको, धानमा भुस मात्र फलेको जस्ता किसानका गुनासाहरु आउने गरेका छन् । तर यी समस्याहरु गुणस्तरीय बीउको कारणले हो भनेर गहिरो रुपमा आम सञ्चार माध्यमहरुमा आउन सकेका छैनन् । बीउको राजनीतिले सबै तह र तप्काका मानिसहरुलाई जकडेको अवस्था छ । जब सम्म कृषि क्षेत्रमा गुणस्तरीय बीउको सुनिश्चितता हुदैन तब सम्म यस क्षेत्रमा गरेको ५० प्रतिशत लगानी बालुवामा पानि राखे जस्तै हुने निश्चित छ ।

प्रकाशित मिति: सोमवार, असार १४, २०७२