मङ्लबार, बैशाख ११, २०८१

माछा प्राविधिक कृषकका पोखरीमा

दमौली, ९ असार । माछापालनमा देखिएका समस्या र त्यसको समाधानको बारेमा कृषकहरुलाई प्रत्यक्ष रुपमा जानकारी दिने उद्देश्यले माछा प्राविधिकले सोमबार तनहुँको पुर्कोट गाविसमा माछापोखरीको अवलोकन गरेका छन् । जिल्ला कृषि विकास कार्यालय तनहुँका वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्रकुमार मल्ल, मस्त्य अनुसन्धान केन्द्र बेगनास कास्कीका अनुसन्धान अधिकृत भरतकुमार श्रेष्ठ लगायतको टोलीले पुर्कोट गाविसमा रहेका पोखरीको अवलोकन गरेका हुन् ।
माछापालक कृषकलाई भेटेरै माछापालनका बारेमा जानकारी दिने उद्देश्य सहित कार्यक्रम आयोजना गरिएको वरिष्ठ कृषि विकास अधिकृत मल्लले बताए । माछापालक कृषकलाई माछापालनमा देखिन सक्ने समस्या एव समाधानको बारेमा फिल्डमै गएर बुझाउन कार्यक्रम गरिएको मल्लले जानकारी दिए ।
सो अवसरमा मस्त्य अनुसन्धान केन्द्र बेगनासका अधिकृत श्रेष्ठले पुर्कोट गाविस ३ र ७ मा रहेको पोखरीको तापक्रम र अक्सिनको मात्राको परीक्षण गरेका थिए । परीक्षणका क्रममा उक्त पोखरीहरुमा माछाका लागि उपयुक्त तापक्रम भेटिएको उनले जानकारी दिए । उनका अनुसार परीक्षणका क्रममा तापक्रम ३२ डिग्री र अक्सिजनको मात्रा ५ भेटिएको थियो । माछाका लागि तापक्रम ३२ डिग्री र अक्सिन ७ सम्म उपयुक्त रहेको श्रेष्ठले बताए । ‘त्यो भन्दा कम वा बढि भयो भने माछाको वृद्धिका लागि असर पर्न सक्छ,’ उनले भने, ‘
तराईमा तापक्रम बढि हुने भएकोले तराईमा धेरै माछा उत्पादन हुने गरेको मस्त्य अधिकृत श्रेष्ठले बताए । उनले माछापालक कृषकलाई पानी हरियो बनाइराख्न सके माछाका लागि उपयुक्त हुने सुझाव समेत दिए । माटोको स्थिति र पानीको गुणस्तर माछाका लागि आवश्यक रहेकाले त्यसतर्फ पनि ध्यान दिनुपर्ने उनको सुझाव थियो ।
तनहुँ जिल्लामा माछापालन व्यवसाय फस्टाउँदै गएको वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्रकुमार मल्लले बताए । जिल्लमा ६ सय रोपनी क्षेत्रफलमा माछापालन गरिएको र यो वर्ष १ सय २५ रोपनी क्षेत्रफलमा माछापोखरी खनिएको उनले जानकारी दिए । माछापालनका लागि पोखरी खन्न कृषि विकास कार्यालयले प्रति रोपनी १० हजार रुपैयाँ अनुदान दिने गरेको छ ।
सजिलो खेती र माछाको बजारका कारण कृषकहरुको माछापालनमा आकर्षण बढ्दै गएको छ । तनहुँमा कमन कार्प, ग्रास कार्प, सिल्भर कार्प, रहु, नैनी, माहुर जातका माछाहरु पालिने गरिएको छ । – कृष्ण न्यौपाने

प्रकाशित मिति: बुधबार, असार ९, २०७२