शनिबार, बैशाख ८, २०८१

केराउ उत्पादन भएपनि किसान उत्साहित

जुम्ला, ८ असार । हिँउदे बाली अन्र्तगत केराउले उत्पादन दिन थालेपछि जुम्लाका किसान खुसी भएका छन् । जुम्लामा फागुनको महिनामा पनि हिँउ पर्ने र चिसोका कारणले कुनै बाली उत्पादन नहुने भए पनि कृषि अनुसन्धान केन्द्र बागवानी राजिकोटमा अनुसन्धान भैरहेको केराउले हिँउदे सिजनमै उत्पादनमा दिन थालेपछि जुम्लाका किसानहरु खुशी भएका हुन् । जुम्लामा खासै हिउदे सिजनमा अरु केही उत्पादन नभए पनि अनुसन्धनाका लागि फागुनको अन्त्यमा लगाएका केराउले तीन महिना भित्रै उत्पादन दिन थालेको कृषि अनुसन्धान केन्द्र बागवानी राजिकोटका प्राविधिक अधिकृत भिम बहादुर महतले कृषि अनलाईनलाई बताए । केन्द्रमा हिँउदे खेतीका लागि विभिन्न जातका केराउको अनुसन्धान भैरहेपनि इलामको जौ बारीबाट ल्याएको केराउले उत्पादन दिन थालेको हो । यस बर्ष अनुसन्धानकै लागि राजीकोटमा चार रोपनी जग्गामा लगाएको केराउले एक रोपनीबाट ६० किलोभन्दा बढी केराउ उत्पादन दिएको छ ।
केराउ कोषे बाली भएकाले स्याउ तथा फलफुलका बिरुवा रोपेको ठाँउमा लगाउनसके केराउबाट झरेका पातले बिरुवामा मलको रुपमा पनि काम गर्ने अनुसन्धानले देखाएको छ । राजिकोटमा उत्पादन भएको केराउको बिउ किसानलाइ बितरण गरिने भएकाले समयमै बीउ लिएर खेत बारीमा उत्पादन गर्न केन्द्रले आग्रह गरेको छ । केराउ खेतीले जग्गाको उर्बरा शक्तिमा पनि बृद्धि गर्ने भएकाले हिउदे सिजनमा केराउ लगाए बर्षे सिजनको बालीलाइ फाइदा पुग्ने बिज्ञहरुको भनाइ छ । श्याम बिसी

प्रकाशित मिति: मङ्लबार, असार ८, २०७२