शनिबार, बैशाख ८, २०८१

पूर्व कृषि सचिवले पाए ग्लोबल मेरिट

काठमाडौँ, ५ असार । कृषि विकास मन्त्रालयका पूर्व कृषि सचिव डा मुक्तिनारायण श्रेष्ठ हालै ग्लोबल मेरिट एवार्डबाट पुरस्कृत भएका छन् । विश्व भेटनरी काँगे्रसको ५५औँ वर्षको इतिहासमा डा श्रेष्ठ यो अन्तर्राष्ट्रिय सम्मान पाउने पहिलो एसियाली व्यक्ति बन्न सफल भएका छन् । पुरस्कार प्राप्तपश्चात् उनले जीवनपर्यन्त पशु स्वास्थ्य र पशु कल्याण पेसामा आबद्ध भइरहने जानकारीदिएका छन् । mukti narayan shresth
विश्व भेटनरी काँगे्रसको उद्घाटन समारोहमा डा श्रेष्ठलाई थाइल्यान्डमा सम्मान गरिएको थियो । भेटनरी पेसामा उल्लेखनीय काम गरेकाले उनको उच्च प्रशंसा गर्दै थाइल्यान्डका विशेष राजप्रतिनिधि प्रिभी काउन्सुलरले उनलाई सम्मान गरेका थिए । सम्मेलनमा ७० देशका दुई हजार ७०० भन्दा बढी प्रतिनिधिको सहभागिता थियो ।
विश्वभरका योग्य भेटनरी डाक्टरहरूको प्रतिस्पर्धामा विश्व भेटनरी काँगे्रसले नियुक्ति गरेका त्यससम्बन्धी अन्तर्राष्ट्रिय न्यायाधीशहरूको समितिबाट उम्मेदवारमध्ये उत्कृष्ट पेसागत सेवा, योगदान र उपलब्धि गरेका आधारमा डा श्रेष्ठ छनोट भएका हुन् ।
उनले ३७ वर्षअघि पाटनको पुल्चोक कृष्णगल्लीस्थित नेपालमा पहिलो भेटनरी क्लिनिकको स्थापनासमेत गरेका थिए । उनी नेपाल भेटनरी प्राक्टिसनर्स एसोसिएसन नेपालका अध्यक्ष र नेपाल भेटनरी एसोसिएसनका आजीवन सदस्य समेत रहेका छन् ।

प्रकाशित मिति: शनिबार, असार ५, २०७२