आइतवार, जेष्ठ १३, २०८१

पशुचौपाया बजारको कारोबारमा मन्दी

रौतहट-वैशाख १२ गतेको भुइँचालो र त्यसपछिका पराकम्पका कारण राजधानी लगयतका देशका मुख्य सहरका पशु बजारमा कारोबार घटेको छ। रौतहटजिल्लाको गरुडा, कटहरिया, गंगापिपरा, राजपुर लगायत पशु बजारमा डेढ महिनादेखि मन्दी आएको व्यवसायीले बताए। जिल्लाको सबैभन्दा बढी पशु किनबेच हुने गरुडा बजारमा हाटको दिन पशुको संख्या निक्कै घटेको छ। बजारका ठेकेकार शेख अमिनले पशु बजारमा समेत भूकम्प आएको भन्दै व्यवसायी र ठेकेदार डेढ महिनामै धराशयी भएको प्रतिक्रिया दिए।
नेपालमा बारम्बार भूकम्प जान थालेपछि भारतबाट पशु आउन छाडेकोले अहिलेको जस्तै अवस्था रहे पशु व्यवसायीको बिल्लिबाठ हुने उनी बताउँछन्। बजारका अर्का ठेकेदार मन्सारुल देवानले पशु किनबेचमा लगानी गर्ने व्यवसायी अहिलेको बजार अवस्थाप्रति चिन्तित रहेको बताउँछन्।
जिल्लाबाट हरेक दिन दुई ट्रकभन्दा बढी राँगा, भैंसी राजधानी काठमाडौं, पोखरालगायत सहरमा पठाउने धर्मपुरका व्यवसायी सिकिन्दर यादवले भूकम्पछि बैंकको ऋण तिर्नसमेत गाह्रो भएको बताए। बैंकबाट ऋण लिएर लगानी गरेको पनि उनले जानकारी दिए।
कृषि तथा पशु बजार सरुअठाबाट दैनिक घटीमा चार ट्रक राँगा, भैंसी र बोका काठमाडौं पठाउँदै आएका अर्का व्यावसायी चाँद महम्मदले मुस्किलले दैनिक एक ट्रक पठाइरहेका छन्। काठमाडौं र पोखरामा नै माग घटेपछि भारतबाट सर्लाही तथा रौतहटको विभिन्न नाकाबाट राँगाभैंसी नेपाल भित्र‍याउने देवानको कारोबार पनि निक्कै घटेको छ।
कारोबारमा मन्दी आएपछि व्यावसायी र ठेकेदार पलायन हुने अवस्था आएको गंगा पिपराका ठेकेदार छोटन सिंहले बताए। अहिले धान रोप्ने सिजन भएकोले किसानले गोरु र राँगामात्र किनबेच गरिरहेको ठेकदार सिंहले बताए। बजारको मन्दीले अरु पशुचौपाया बिक्री हुन नसकेको उनको भनाइ छ। – मदन ठाकुर
प्रकाशित मिति: बिहिबार, असार ३, २०७२