जुम्ला, २८ जेठ । देशैभरसगैँ जुम्लामा पनि गर्मि बढेपछि जुम्लामा भर्खरै फलेको स्याउका चिचिला अर्थात गुच्चा आकारका दाना भएका स्याउ झर्ने समस्या देखिएको छ । चिचिला झर्ने समस्या देखिएपछि स्याउखेतीबाटै आफ्नो जिविका चलाउने कृषकहरु चिन्तित भएका छन् । बढ्दै गईरहेको तापक्रम र हावामा देखिएको तुवालो जस्तो मौसममा आएको परिबर्तनले गर्दा स्याउका चिचिला झर्ने समस्या देखिएको जिल्ला कृषि बिकास कार्यालय जुम्लाले जनाएको छ ।
यस्तो समस्या धेरै ठाउँमा पाईएको बताउदै यो समस्या आएमा सिचाईमा बढि ध्यान दिन जिल्ला कृषि बिकास कार्यालय जुम्लाका निमित्त वरिष्ठ कृषि विकास अधिकृत विष्णुवहादुर महतले कृषकहरुलाई आग्रह पनि गरेका छन् । यो समस्याको बेलामा सिंचाइको व्यवस्थापन गर्न सकिएमा स्याउका चिचिला झर्ने समस्याको समाधान गर्न सकिने उनको भनाइ रहेको छ । उनले स्याउ बगैँचामा सिंचाई गर्न लागि पानीका बिभिन्न स्रोतहरु जस्तै पानी ट्याकी, मुहानबाट पाईप लगाएर, सिचांई कुलोको प्रयोग गरेर सिंचाइ गर्न सकिने बताए । हिँउ परेको वेला निर्माण गरि हिउ संकलन गरिएका हिँउ पोखरीबाट यति बेलाको समयमा सिंचाई गर्न उपयुक्त हुने निमित्त वरिष्ठ कृषि विकास अधिकृत महतको भनाई रहेको छ । बोटको मुख्य हागाँको एक हात वरिपरि प्रत्येक बोटलाई कम्तिमा ५ देखि १० लिटरका दरले घाम ढल्कने बेला तिर सिचाई गर्नु पर्ने कृषि अनुसन्धान केन्द्र बिजयनगर जुम्लाका वरिष्ठ बैज्ञानिक एवम् अनुसन्धान प्रमुख रामचन्द्रिका प्रसादले बताए । स्याउका बिरुवालाई सिंचाइ गरि सकेपछि त्यस माथि पराल अथवा खर र अन्य कुनै झारपातले छापो दिनु पर्ने उनको भनाइ छ । – श्याम बि सी
जुम्लामा स्याउका चिचिला झर्न थाले

Add Comment