बिहिबार, बैशाख १३, २०८१

काभ्रेमा धानको बीउ निःशुल्क

काभ्रे, २६ जेठ । गत बैशाख १२ र २९ गते गएको विनासकारी भूकम्पका कारण अन्नपात पुरिएर समस्यामा परेका किसानहरुलाई जिल्ला कृषि कार्यालय काभ्रेको संयोजनमा ४८ लाख बराबरको ६० मेट्रिक टन धानको बीउ निःशुल्क वितरण गरिएको बताइएको छ ।
राष्ट्रिय बीउबिजन कम्पनीले उपलब्ध गराएको बीउ कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले कृषि सेवा केन्द्रमार्फत वितरण गरेको छ । जिल्ला कृषि विकास कार्यालय काभ्रेका अनुसार खुमल ४, मकवानपुर १, सावित्री, टाइचिन, सुक्खा १ र २ जातको बीउ मङ्गलटार, भकुन्डे, खोपासी, बनेपा, पाँचखाल कृषिसेवा केन्द्रमार्फत विभिन्न गाविसमा वितरण गरिएको हो ।
दुई सातादेखि वितरण भएको बीउ वितरण कार्य अहिले अन्तिम अवस्थामा पुगेको छ । कतिपय स्थानमा दैवी प्रकोप उद्धार समितिको सल्लाह लिएर बीउ वितरण गरिएको हो । भूकम्पबाट जिल्लामा रु एक अर्ब २५ करोड बराबरको खाद्यान्न क्षति भएको छ । काभ्रे जिल्लामा मौरीका घार र गोलभेँडाको टनेलमा पनि ठूलो क्षति भएको छ ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ २६, २०७२