बिहिबार, चैत्र १५, २०८०

माटोको प्रकृति जाँचेर बीउ राख्न कृषकलाई आग्रह

रौतहट, २५ जेठ । कृषकले प्राविधिक ज्ञानको अभावमा आफ्नो जमिन अनुकूलबाहेकका धान लगाउन थालेपछि कृषि विकास कार्यालय रौतहटले माटोको प्रकृति जाँचेर धानको बीउ राख्न आग्रह गरेको छ । यहाँ केही दिनअघि पर्याप्तमात्रामा वर्षा भएपछि यतिखेर कृषक धानको बीउ राख्न व्यस्त छन् । तर अधिकांश कृषकले खेतको माटोको प्रकृति बुझ्न नसक्दा धानखेतीबाट उल्लेख्य लाभ लिन नसकेको पाइएको छ ।

धानखेतीका लागि एक हजार ९६५ मेट्रिक टन बीउको आवश्यकता रहेको कृषि विकास कार्यालयले जनाएको छ । धानको बीउ खरिद गर्ने कृषकको चन्द्रनिगाहपुर, सन्तपुर, डुमरिया, मटिऔन, गरुडा तथा गौर क्षेत्रमा रहेका कृषि एग्रोभेट पसलमा भीड लाग्ने गरेको छ । बाली विकास प्राविधिक थुकरन मिश्रले जिल्लाका किसानलाई हर्दिनाथ, चन्दन, सावित्रीलगायतका बीउ राख्न सल्लाह दिए । जिल्लामा ५८ हजार ४४० हेक्टर खेतीयोग्य जग्गा रहेपनि ३९ हजार ३०० हेक्टरमा मात्र धानखेती हुने गरेको छ । सो क्षेत्रफलमा उत्पादन क्षमता ९८ हजार ४४० मेट्रिक टन रहेको छ । कृषि कार्यालयले १५० दिनको अवधिमा पाक्ने अगहनी तथा १२० दिनमा पाक्ने भदैया धान लगाउनका लागि माटोको प्रकृति जाँचेर धानको बीउ राख्न कृषकलाई सुझाव दिएको छ ।

यहाँ बर्खे धानका लागि सावा, सावित्री, स्वर्ण सव एक, मकवानपुरे धानको बीउ राख्नु उत्तम मानिएको छ । असिञ्चित खेतबारीका लागि विन्देश्वरी, चैते दुई, चैते छ, हर्दिनाथ एक, सिएच ४५ जातका धानको बीउ राख्न सकिने जनाइएको छ ।

प्रकाशित मिति: सोमवार, जेष्ठ २५, २०७२