शुक्रबार, चैत्र १६, २०८०

भूकम्प प्रभावित किसानलाई खडेरीले पनि छोडेन

kisan
गोरखा, २५ जेठ । फिनामका इन्द्रबहादुर खत्रीको घर भूकम्पले भत्कायो । उहाँको परिवार अहिले टहरोमा बस्दै आएको छ । सरकारले घर बनाउने पैसा दिए सानोतिनो घर ठड्याउने खत्रीको धोको छ । खत्रीको परिवारलाई अधियाँ लगाएर खान पुग्थ्यो । नयाँ अन्न खानु पर्दैनथ्यो । पुरानोले धान्थ्यो ।
भूकम्पबाट भकारीको धान, मकै, कोदोलगायत अन्न पुरिएपछि राहत सामग्रीका भरमा जीवन निर्वाह गर्नु परेको छ । तर खत्रीलाई पटक्कै चित्त बुझेको छैन । मागेर खानु पर्दैनथ्यो, पसिना चुहाएर परिश्रम गरेर बिहान बेलुकी हातमुख जोर्दै आएको थियो खड्का परिवार ।
खेतबारीमा लगाएको मकैले चमारा निकालेको थियो । सुत्ला च्याप्ने बेलामा खडेरी परेपछि खत्रीको परिवारले मकैको आश मारिसकेका छन् । “भूकम्पले घर भत्कायो । अन्नपात माटोमा मिल्यो”, खत्रीले भन्नुभयो, “लगाएको मकै सुक्यो ।” विगत एक महिनादेखि पानी नपर्दा मकैबाली सखाप भएको हो । मकैले चमरा निकालेको छ । यही बेला पानी पाएमात्रै घोगा हाल्छ । पानी नपाएर मकैको बोट सुकेर ढोडजस्तै भएको छ ।
“अब पानी परे पनि मकैको घोगा लाग्दैन”, खत्रीले गुनासो गर्नुभयो, “पोलेर खाने एक घोगा मकैको पनि रहर हुने भयो ।” पाखो बारीमा खेती गरिएको मकै भर्खरै एकोहोरो गोडेको खत्रीको भनाइ छ ।
ऋण खोजेर किनेर ल्याएको रसायनिक मल दोहोरो गोडेर मकैमा राख्नुभएका फिनामका अर्का किसान चित्र खड्का पनि चिन्तामा हुनुहुन्छ । चमारा निकालेको मकैको पात र गुबो सुकेको छ । “खेताला खोजेर मल राखेर उकेरा लगायौँ, उहाँले भन्नुभयो, “खडेरी प¥यो । चिस्यान हरायो ।” मकैबारीमा सिँचाइ गर्न वरपर पानीको स्रोत नभएको किसानको भनाइ छ । प्रायः गरी मकैलाई सिँचाइ गरिँदैन । भर्खरै मल राखेको मकैको बोट गाईबस्तुलाई खुवाउँदा गला लागेर निल्न नसक्ने खड्काको भनाइ छ ।
“सुकेको मकैको घाँस गाईबस्तुले निल्नै सक्दैनन्”, खड्काले भन्नुभयो, “भर्खर विकासे मल राखेका छौँं । गाईबस्तुले खायो भने पनि असर गर्छ ।” घाँस खुवाउन पनि काम नलागेपछि किसानले मकै फाँडेका छैनन् । खेतमा सुकेर गएको छ । “यस वर्ष दसैदसा रहेछ”, खड्काले दुःख पोख्नुभयो, “भूकम्पले घर खोस्यो । खुसी लुट्यो । खडेरीले मकैबाली सखाप पा¥यो । धान रोप्न पाइँदैन ।” खेतमा धानको बीउ राख्ने बेला भए पनि बीउ कहाँबाट ल्याउने टुङ्गो नभएको किसानको भनाइ छ । किसान अन्योलमा छन् ।
कृषि विकास कार्यालय गोरखाको तथ्याङ्कअनुसार भूकम्पले किसानलाई रु चार करोडभन्दा बढी घाटा लागेको छ । अन्नपात माटोमा पुरिएपछि किसान राहत सामग्रीको भरमा बस्नुपरेको छ । मनसुन सुरु हुन ढिला भएकाले मकै, धान सुकेपछि किसान झन मारमा छन् । कार्यालय प्रमुख तीर्थकुमार श्रेष्ठका अनुसार पूर्णरूपामा घर क्षति भएका, खेती गर्न चाहने किसानलाई धानको बीउ वितरण सुरु गरिएको छ । विभिन्न गैरसरकारी संस्थाको सहयोगमा तीन किलोदेखि सात किलोसम्म बीउ उपलब्ध गराएको छ ।
“एक सय ३० मेट्रिक टन धानको बीउ बाँड्यौँं”, श्रेष्ठले भन्नुभयो, “खाद्य तथा कृषि सङ्गठनबाट प्राप्त हुने तरकारीको बीउ बाँड्ने हाम्रो तयारी छ ।” मकवानपुरे, खुमल, सावित्रीलगायत बीउ किसानलाई बाँडेको कार्यालयले जनाएको छ । धानखेती हुने क्षेत्रका किसानलेमात्रै बीउ पाएका छन् । साथै १० हजार प्याकेट तरकारीको बीउ समेत वितरणको तयारीमा कार्यालय जुटेको छ । निःशुल्क धानको र तरकारीको बीउ किसानलाई वितरण गरिने बताएको छ । प्रशन्न पोखरेल

प्रकाशित मिति: सोमवार, जेष्ठ २५, २०७२