बिहिबार, फाल्गुन १७, २०८०

फौजी किराले अन्नबाली सखाप पारेपछि किसान चिन्तित

मुस्ताङ, २४ जेठ । फौजी किराले अन्नबाली नष्ट गरेपछि किसानहरु चिन्तित बनेका छन् । रातको समयमा आउने किराले मकै र जौ नष्ट गरेपछि किसानहरु समस्यामा परेका छन् । जिल्लाको जोमसोम, मार्फा, कुञ्जो, लेते, कोबाङ र टुकुचे गाविसमा उक्त किराको बिगबिगी बढेको किसानहरुले जानकारी दिएका छन् । खेतमा लगाएको अन्नबाली सखाप पार्ने गरी खाइदिएपछि आफूहरु मर्कामा परेको मार्फाका किसान श्याम थकालीले जानकारी दिए । मध्यरातको समयमा एकै हुलमा आउने किरालाई फौजी किरा भनिन्छ । उक्त किरालाई दिउँसोमा देख्न मुश्किलपर्छ । “बिहान र दिउँसो खासै देखिँदैन, रातको समयमा आएर सखाप नै पारिदिन्छ, थकालीले भने, “पहिला विषादीको प्रयोग पनि गरिएन अहिले समस्या भएको छ ।” भर्खरै उम्रेको मकै, जौलगायतका अन्नबालीमा यस्तो प्रकोप देखिएपछि किसानहरु मारमा परेका छन् ।

जिल्लाको तल्लो क्षेत्रका यी गाविसहरुलाई मकै र जौ उत्पादनको दृष्टिले पकेट क्षेत्र मानिएको छ । त्यसका साथै यस क्षेत्रमा स्याउ र फापरको उत्पादन पनि राम्रो हुने किसानहरुले जानकारी दिएका छन् ।जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत राजाराम अधिकारीले त्यस क्षेत्रमा फैलिएकोे फौजी किराको प्रकोप नियन्त्रणका लागि प्रयास भइरहेको जानकारी दिए । “कृषि विकास कार्यालय र टुकुचे सेवा केन्द्रबाट प्राविधिकहरु खटिरहेका छन्, विषादी प्रयोग र त्यसको रोकथामका लागि अन्य उपायहरु प्रयोग भइरहेको छ” अधिकारीले भने ।

प्रकाशित मिति: आइतवार, जेष्ठ २४, २०७२