शनिबार, बैशाख १, २०८१

पशु, चौपायाका लागि उपचार र औषधि वितरण सुरु

बनेपा, २३ जेठ । भूकम्पका कारण अझै पनि डर र त्रासमा रहेका पशु, चौपायाका लागि उपचार र औषधि वितरण सुरु भएको छ । काभ्रेपलाञ्चोकको चण्डेनीमण्डन गाविसको वडा नं १ देखि ९ सम्मका ६०० कृषकका ६०० पशु चौपायालाई उपचार र औषधि वितरण सुरु भएको जिल्ला पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

उत्पादनशील पशुको उत्पादन बढाउने लक्ष्यअनुसार हामीले यो कार्यक्रम अघि बढाएका हौँ जिल्ला पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकका वरिष्ठ पशु विकास अधिकृत डा शरणकुमार पाण्डेले भने । उनले सो कार्यक्रम जिल्लाको ज्याम्दी गाविससहित अन्य गाविसमा समेत लगिने उल्लेख गर्दै झन्डै रु १२ लाखबराबरको औषधि वितरण भएको बताए । चण्डेनीमण्डन गाविस– ५ का भोलाप्रसाद नेपालले गोठ व्यवस्थापन नभएका कारण पशु घाममा बसेर बिरामी पर्न थालेको उल्लेख गर्दै पशुलाई दानापानी पनि राम्रो तरिकाले दिन नसकेका कारण उत्पादनशील पशुको दूधको उत्पादन घटेको बताए ।
करिब ४०० लिटर दूध उत्पादन हुने गाविसमा अहिले घटेर १२० लिटरमा सीमित भएको छ सरस्वती दुग्ध उत्पादक सहकारी संस्था चण्डेनीमण्डनका भोलाप्रसाद भने । एक सय ५५ घरधुरी रहेको चण्डेनीमण्डन गाविसमा रहेका अधिकांश घरमा पशु मरेका छन् । तीमध्ये बिमा गरेका पशु ४० वटा मात्रै छन् भने अन्य ४०० भन्दा बढी छन् । पशुपालनको पकेट क्षेत्र मानिने सो गाविसमा मात्रै रु एक करोड ५० लाखबराबरको पशुधनको क्षति भएको पशु चिकित्सक मणि सापकोटाले जानकारी दिए । उत्पादनशील पशुको उत्पादन बढाउनका लागि यस्तो कार्यक्रम प्राथमिकतामा परेको उनको भनाइ छ । काभ्रेपलाञ्चोकमा भूकम्पका कारण साना, ठूला पशु र पक्षीसमेत गरी १८ हजारको हाराहारीमा मृत्यु हुँदा रु १० करोडबराबरको पशुधनको क्षति भएको छ ।

प्रकाशित मिति: शनिबार, जेष्ठ २३, २०७२