बिहिबार, चैत्र १५, २०८०

बीउ नहुँदा खेत बाँझै रहने किसानहरुको चिन्ता

भक्तपुर, १४ जेठ । विगतका वर्षमा जेठ १५ सम्ममा धानका बीउ लहलह गर्ने बेला भइसक्ने भए पनि यस वर्ष बीउको अभावमा किसानलाई खेत बाँझो होला भन्ने चिन्ताले सताउन थालेको छ । धान रोप्न जोहो गरेर राखेको धानको बीउ भूकम्पले भत्काएको घरसँगै माटोमा मिलेपछि यस वर्ष यहाँका किसानलाई धानको बीउको हाहाकार नै भएको छ । बीउ नहुँदा रोपाइँ हुने कि नहुने भनेर उनीहरु अलमलमा परेका छन् । भक्तपुरको सूर्यमढीका रामकृष्ण प्रजापति खेत खनिसक्ने बेला भए पनि केही गर्न नपाएको बताउन्छन । उनि भन्छन – “भत्किएको घरले पुरिनाले बीउ नै छैन, भूकम्पको पीडाले खेतमा जानै मन छैन, खै कसरी रोप्नु धान ।”

सिपाडोलका अनुप कासुलाको गुनासो पनि उस्तै नै छ । रोप्नका लागि तयारी राखेको खेत बीउ पुरिएपछि बाँझै छ । बीउ नहुँदा खेत खन्नसमेत नगएको उनले बताए । भक्तपुरका किसानले एक रोपनी क्षेत्रफलमा धान रोप्न एक पाथी बीउ राख्ने गर्छन् । ग्रामीण क्षेत्रको कुलो लाग्ने र खोला नजिकका खेतमा जेठ १५ सम्म रोपाइँ नै सक्ने गरे पनि यस वर्ष बीउ हुनेहरु भर्खरै राख्ने तयारीमा जुटेका छन् भने कतिपय किसान बीउ खोज्न दौडधुप गर्न थालेका छन् । ताथली सौडोलकी शारदा गिरीको चिन्ता पनि उस्तै छ । गत वर्ष रोपिसक्ने खेतका लागि यस वर्ष बीउसमेत राख्न नपाएको उनि बताउन्छन । गिरी भन्छन – “विगतमा जेठ १५ सम्म त कुलो लाग्ने खेतमा रोपाइँको चटारै हुन्थ्यो, रोपाइँ सकेर असारमा टार खेत रोप्ने तयारी गरिन्थ्यो, यस वर्ष न बीउ राख्न पाइयो, न त खेत खन्न नै, वर्षदिन परिवारलाई कसरी पाल्नु ।”
धानको बीउ अभावले एकातिर किसानलाई मर्का परेको छ । बजारमा समेत राम्रो धानको बीउ नपाउँदा थप समस्या भएको छ । बिगतको बीउ रोप्दा बाला सुक्ने रोग लागेर उत्पादन नै नभएपछि यहाँका किसान बजारमा पाइने बीउप्रति विश्वाससमेत गर्न छाडेका छन् । सरकारले भूकम्पपीडित किसानलाई धानको बीउ समयमै उपलब्ध गराइदिए हुन्थ्यो भन्ने आशामा बसेका छन् भक्तपुरका किसान । अब बीउ राख्न १० दिन मात्रै ढिला भए पनि उत्पादन राम्रो नहुने उनीहरुको भनाइ छ । कृषि विकास कार्यालयले भूकम्पपीडित किसानलाई बीउ वितरण गर्ने तयारीमा रहेको जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ १४, २०७२