बुधबार, बैशाख ५, २०८१

खेतबारी बाँझै छ, गाउँमा अनिकाल लाग्ने भो

दोलखा, १३ जेठ । धान, कोदाको बीउ राख्ने बेलामा भुइँचालोको डरले ज्यान बचाउनै मुस्किल भो । बीउ छैन । खेतबारी बाझैै हुनेभो, यसपालि गाउँमा अनिकाल लाग्ने भो । सुस्पा क्षमावती गाविस–७ निवासी सरस्वती अधिकारीले छिमेकीसँग चिन्ता गर्दै थिए । “भूकम्पले बीउ पुरियो । बीउ निकालेको पनि खेतबारीमा राखेको छैन । भोकले मरिने भो । घर भत्किहाल्यो, हावाहुरी र पानीले पाल उडाइहाल्छ”, उनले थपे, “पाल समातेर बस्दै ठीक हुन्छ, कता खेतबारीमा काम गर्न जानु ? पहिला जस्ताको टहरो बनाउन पाए हुन्थ्यो ।”

वैशाख लागेपछि धान कोदाको बीउ राखेर जेठ मध्यदेखि धान तथा असार लागेदेखि कोदो रोप्न सुरु गर्ने गाउँबस्तीमा वैशाख १२, १३ र खासगरी दोलखा केन्द्र भएर २९ गते गएको विनाशकारी भूकम्पका कारण आफ्नो ज्यान जोगाउन मुस्किल भएपछि कृषकको खेतीपातीमा ध्यान गएको छैन । “भूइँचालोको केन्द्र पनि धेरैजसो दोलखामा नै पर्र्छ, ठूलै धक्का आइरहन्छ”, स्थानीय गोरे थामीले भने, “मर्ने डरले धान, कोदाको बीउ राख्नेतिर ध्यानै गएन, अझै पनि भूइँचालो आइरहेको छ ।” धमाधम खेतबारीमा काम सुरु हुने बेलामा हलगोरु गोठले किचेर मरे । बीउ पनि पुरियो । कतिले जोगाएको बीउ पनि राख्न पाएका छैनन् । अहिले किसान घर, धन्नपात भूकम्पले पूर्णरुपमा नष्ट पारेपछि बाँसकै पक्का नभएकाले काम गर्ने जाँगर छैन । गाउँबस्तीमा अहिले उखान पनि फेरिएको छ । “आमा मरिहाल्छि, म पहिला (बिहे गरिहाल्छु) गइलाल्छु” पहिला–पहिला भन्थ्ये, अहिले ‘भूइँचालोले हामी मरिहल्छौँ, कस्ले खान्छ र खेती लाउनु” भन्छन् ।
खेतमा गहुँ पाकिसकेको छ । घरमा ल्याएर राख्ने ठाउँ छैन । यो सुन्दर बस्ती हो भन्दा एका देशको कथाजस्तो लाग्छ । कुनै घरबस्तीको संरचना छैन । सधँै सञ्चो बिसन्चो सोध्ने, हँसिलो बस्तीमा अहिले ‘भूइँचालो जादाँ कहाँ हुनुहुन्थ्यो ?’ बाँचियो है ? यस्तै यस्तै मात्र सुनिन्छ । प्राकृतिक विपत्तिले बाँच्नै ठूलो कुरा भएको छ । खेत जोतेर धान रोप्ने बेला हुन लागिसक्यो । धानको बीउ नै राखेको छैन । कतिको जमिन नै चिराचिरा परेको छ । गाउँबस्ती उजाड छ । कसैको मुहारमा हाँसो छैन । रुन पनि सकेका छैनन् । शुन्य सम्वेदनामा प्रकृतिको प्रहारसामु नतमस्तक भएर बसिरहेका छन् । कोही आयो भन्छन् । कोही गयो भन्छन् । सबैजना भेला भएर ‘ठूलै आयो’ । ‘यति ठूलो र लामो समय भूइँचालो आएको त अहिलेसम्म थाहा थिएन’… यस्तै÷यस्तै डर, त्रास नै त्यहाँका बासिन्दाको दिनचर्या बनेको छ ।
दोलखा केन्द्रीत भएर भूकम्पका धक्का निरन्तर गइरहेकाले मानिसमा अझै त्रास हट्न सकेको छैन । घर भत्किएर मरिने डर नभए पनि पहिरो र जमिन भाँसिएर मर्ने डर कायमै छ । बर्खाको समयमा यहाँ पानी परिरहन्छ । पानी नचुहिने बासको व्यवस्था भए हुन्थ्यो भन्ने आशमा छन् गाउँले । सरकारले अस्थायी घर बनाउन रु १५ हजार दिन्छ भन्ने सुनेकाले जस्ताको टहरा बनाएर बस्न पाए खेतबारीमा काममा लाग्न सजिलो हुने सोचमा उनीहरु छन् । “पालमा भएका सामान त्यतिकै छोडेर जाँदा पनि चोरी हुने डर हुन्छ”–स्थानीय डोल्मा थापाले भने, “सरकारले रु १५ हजार दिएपछि जस्ताको सानो टहरो बनाएपछि साँचो लगाएर हिड्दा ढुक्क भइन्थ्यो ।”
स्थानीय बासिन्दा सरकारले अस्थायी घर बनाउन उपलब्ध गराउने भनिएको रकमको आशमा छन् । तर सरकारी कामको प्रक्रिया मिलाउँदा सोचेजस्तो छिटो हुने देखिदैन । “गाउँमा पूर्णरुपमा क्षति भएका घरको नापजाँच गरिसकेपछि विवरणका आधारमा सरकारले अस्थायी घर निर्माणका लागि रकम दिन्छ”, दोलखाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले भने, “लगत सङ्कलन जतिसक्दो छिटो सकेर रकम वितरण गर्ने तयारीमा छौँ ।” गाउँमा क्षतिग्रस्त भवनको लगत सङ्कलनको काम तीव्र रुपमा हुनसकेको छैन । जेठ महिनाभरीमा अस्थायी टहरा बनाएन भने खेतबारी बाँझै रहने अवस्था छ । खेतबारी बाँझैै भएपछि गाउँलेलाई भोकमरीको समस्यामा पर्ने देखिन्छ । त्यसले गर्दा अस्थायी घर निर्माणका लागि जतिसक्दो छिटो रकम पीडितसम्म पुरयाउनु जरुरी छ ।

प्रकाशित मिति: बुधबार, जेष्ठ १३, २०७२