शनिबार, बैशाख १, २०८१

भूकम्पपछि दूध संकलन घटेको छैन-गंगा प्रसाद तिमल्सेना, महाप्रवन्धक, दुग्ध विकास संस्थान

interview

० विनासकारी भूकम्प पश्चात दुग्ध उत्पादन र वितरणको अवस्था के ?
महाभूकम्प पश्चातको दुग्ध संकलनलाई हेर्ने हो भने दुग्ध विकास संस्थानको सञ्जला भित्र भूकम्पअगाडि भन्दा भूकम्प पश्चात बढी भएको छ । तर, उपत्यकामा दूधको उपभोग गर्ने धेरै भन्दा धेरै उपभोक्ताहरु बाहिरिएका कारण विगतको भन्दा ३५ प्रतिशत दूधको विक्री घटेको छ भने संकलनको हिसाव हेर्ने हो भने विगतको तुलनामा २५ प्रतिशतभन्दा बढी बढेको छ । यसले गर्दा संकलित दूधलाई व्यवस्थापन गर्न निकै नै गाह्रो भएको छ ।
० भूकम्पका कारण ठूलो संख्यामा गाईभैसी मरिरहेका छन् तर दूधको संकलन बढिरहेको छ कसरी ?
हो भूकम्पका कारण काभ्रे, धार्दिङ्ख, सिन्धुपाल्चोक लगायतका जिल्लामा पशुहरु मरेका छन् । यो कारण भन्दा पनि काठमाडौंबाट उपभोक्ताहरु कम भएपछि निजी क्षेत्रले विगतमा संकलन गरिरहेको दूधहरु संकलन गर्न कम गरेको कारणले यस्तो भएको हो कि भन्ने हामीले अनुभव गरेका छौं । पशुहरुको संख्या घटेको भएपनि दूध उत्पादन र संकलन भने घटेको छैन ।
० निजी क्षेत्रले दूध विक्री नहुने भएपछि किसानहरुबाट दूध खरिद नगरेका कारण दूग्ध विकास संस्थानमा बढेको हो भन्ने सुनिन्छ नि त ?
त्यो पनि हुन सक्छ । अर्कोकुरा निजी क्षेत्रसँग भएको धूलो दूध, मखन लगायतका उत्पादन स्टक भएको हुन सक्छ । त्यो स्टक आषाढ भित्रसम्म विक्री गरिसक्नु पर्दछ । त्यो यही नै मौका हो । त्यसका लागि पनि किसानहरुसँग निजी क्षेत्रले दूध लिन कम गरेको हो कि भन्ने हाम्रो अनुमान मात्र हो । तर, दुग्ध विकास संस्थानको संकलन केन्द्रको सञ्जालमा धेरै नै दूध संकलन भएको छ । भूकम्पका कारण निजी क्षेत्रले जुनसुकै आफ्ना पूर्वाधार विग्रेको वा कुनै कारण कम संकलन गरेका कारण दुग्ध विकास संस्थानलाई थप भार परेको हुन सक्छ ।
० दुग्ध विकास संस्थानकै सञ्जालमा रहेको किसानहरुलाई केही राहतको व्यवस्था गरेको छ ?
दुग्ध विकास संस्थान आफैले राहतको प्याकेज बनाएको छैन । नेपाल सरकारले वितरण गरेको राहत पुगेको छ कि छैन भन्ने कुराको संयोजन हामीले गरिरहेका छौं। तर दुग्ध विकास संस्थान आफैले नयाँ योजना बनाएको छैन । तर मन्त्रालयले गरेका काममा दुग्ध विकास संस्थान सहयोग भने गर्दैै आईरहेको छ । भूकम्पका कारण दुग्ध विकास संस्थानका चीज केन्द्रहरु धेरै नष्ट भएका छन् । ती केन्द्रहरुमा चौरी खरिद गर्ने भौतिक संरचना बनाउनु पर्ने वा त्यसमा आश्रित किसानहरुलाई राहत स्वरुप के गर्न सकिन्छ भन्ने कुरालाई हामीले छलफल गरिरहेका छौं । चीज केन्द्रहरु कति किसानका छ भने कति हाम्रा आफ्नै पनि भएकाले भौतिक संरचना निर्माणका लागि कृषि विकास मन्त्रालयमा लेखेर पठाएका छौं । यथासक्य चाँडो ती कारखानाहरु सञ्चालनमा ल्याउन हामी लागेका छौं ।
० दूध धेरै संकलन भईरहेको छ विक्री भईरहेको छैन कसरी व्यवस्थापन गर्नु हुन्छ ?
वास्तवमा डेरी उद्योगकै लागि पनि यसले नकारात्मक सन्देश जान सक्छ । भर्खरै किसानहरु दूध उत्पादनमा उत्साहित भएका बेला दूध किन्न सकिएन भने किसानहरुलाई असर पर्दछ । त्यो किसानहरुको मात्र असर होइन पूर्ण रुपमा डेरी उद्योगका कै असर हो भन्दा ठिक हुन्छ । भोली किसानहरुले यही कारणले दूध उत्पादनमा सक्रिय नहुने अवस्थामा पनि आउन सक्छ । त्यस कारण पनि हामीले किसानहरुको दूध संकलन गरेर विक्री नभएपनि धूलो दूध उत्पादन गर्न कारखानामा पठाएर भएपनि यसलाई व्यवस्थापन गर्न खोजिरहेका छौं । तर, लामोसमयसम्म यसैगरी दूध धेरै आयो भने दुग्ध विकास संस्थानले मात्र खरिद गर्न सक्ने अवस्था छैन र सक्दैन पनि । किन भने दुग्ध विकास संस्थानले आफूले दूध विक्री गर्न नसकेर पाउडर वा मख्खन बनाउनु भनेको पनि भएको रकम थन्किए काम गर्न नसक्ने अवस्था आउँछ जसले गर्दा संस्थान नै धरासायी हुन सक्छ । यतिखेर डेरी उद्योगहरु र संस्थानसँग पनि प्रशस्त मात्रामा धूलो दूध र मख्खन प्रशस्त मात्रामा छ । यसलाई हामीले सुख्खा समयमा मिसाएर बजारमा उपलब्ध गराउने गर्दथ्यौं । अहिले दूध अत्यधिक उत्पादन भएका कारण पनि धूलो दूधको आवश्यक देखिँदैन दूधले पुग्ने भएकाले पनि अव स्टक भएका दूधहरु पनि म्याद गुज्रिन सक्छन् त्यसकारण म्याद भएका दूधलाई व्यवस्थापन गर्न गाह्रो भएकोले किसानहरुको भुक्तानी पनि ढिलो हुन सक्ने कारणले गर्दा पनि उद्योगी उत्पादन पक्ष र किसानहरुलाई समेत समस्या आउने सम्भावना मैले देखेको छु ।
० निजी डेरी उद्योगहरुले किसानहरुले उत्पादन गरेका दूध खरिद गरिरहेका छैनन् त्यसकारण पनि दुग्ध विकास संस्थानले नै किन्नु पर्ने वाध्यता छ होइन ?
केही मात्रामा यो कुरा पनि सहि हो । अहिले जति पनि निजी डेरी उद्योगहरु छन् । ती धेरै उद्योगाहरुले दूध संकलन गरिरहेका छैनन् भन्ने कुरा सुन्नमा आएको छ । त्यसले गर्दा पनि किसानहरुले दुग्ध विकास संस्थानकै भरोसा गर्ने हो । तर संस्थानले नियमित रुपमा जुन किसानहरुबाट संकलन गरिरहेको छ र आवश्यक मात्रा भन्दा केही हदसम्म बढी नै किनिदेला तर त्यो भन्दा बढी किन्न सक्ने अवस्था देखिँदैन । किसानको दूध लिने अनि त्यसको भुक्तानी दिन नसक्ने अवस्था हुन सक्छ । त्यसले गर्दा विगतमा जसजसले जसरी दूध संकलन गरिरहेका छन् त्यसलाई निरन्तरता दिनु आवश्यक छ नै ।
० चितवन मिल्क बन्द भएका कारण पनि यो अवस्था आएको हो ?
अहिलेको जस्तो वर्तमान अवस्थामा चितवन मिल्क जस्ता पाउडर कारखाना सञ्चालन भईदिएको भए दूध उत्पादन गरिरहनु भएका किसानहरुले नियमित रुपमा दूध विक्री गर्ने अवसर र स्थान पाउनु हुन्थ्यो । अर्कोकुरा के छ भने दुग्धजन्य उत्पादनहरुको अन्तर्राष्टिूय बजारमा मूल्य कम भएको छ त्यसले गर्दा पाउडर दूध उत्पादन गर्ने कम्पनीहरुले पनि दूध स्टक राखेर खरिद गर्न सक्ने अवस्थामा देखिँदैनन् । त्यसकारण अहिले यो विपद्मा उत्पादन भएका दूधलाई वैकल्पिक उपाय खोजेर भएपनि व्यवस्थापन गर्नु पर्ने अवस्था आएको छ ।
० कस्तो खालको वैकल्पिक उपायहरु निकाल्न सकिन्छ त ?
भूकम्प पश्चात विविध कारणहरुले निजी डेरीहरुले दूध संकलन नगरेका कारण दुग्ध विकास संस्थानमा धेरै दुध संकलन भईरहेका छन् । त्यसकारण संकलन भएका दूधलाई निर्यात गर्ने व्यवस्था गराएर हुन्छ कि अर्को कुनै व्यवस्थापनका उपाय निकालेर हुन्छ हामीले समस्या समाधान गर्नु अनिवार्य छ । अन्यथा यसले भावी दिनमा ठूलो असर पार्न सक्छ । –वैकुण्ठ भण्डारी

 

 

प्रकाशित मिति: आइतवार, जेष्ठ १०, २०७२