बिहिबार, बैशाख ६, २०८१

पशु प्रजननका लागि कृत्रिम गर्भाधान प्रभावकारी बन्दै

तुलसीपुर (दाङ), ७ जेठ । पशु सेवा कार्यालयले जिल्लामा पशु प्रजननका लागि कृत्रिम गर्भाधानलाई व्यापक गराएको छ । कार्यालयले कृत्रिम गर्भाधानका लागि क्षेत्रगत रुपमा सामुदायिक पशु प्रजनन केन्द्र थपेर यसलाई व्यापक गराएको हो । कार्यालयले गत वर्ष सञ्चालन भएका आठवटा सामुदायिक पशु प्रजनन केन्द्रलाई यो वर्ष १४ पुर्योयाएर यसको व्यापकता गरेको कार्यालय प्रमुख जगतबहादुर सिम्खडाले बताए । गत वर्ष जिल्लामा एक हजार गाईभैँसीमा तथा यस बर्षको हालसम्म दुई हजार ९३६ गाईभैँसीको कृत्रिम गर्भाधान गरिएको छ । यो आर्थिक वर्षको अन्त्यसम्ममा चार हजार ८०० पुर्योउने कार्यालयको लक्ष्य रहेको छ ।

“केन्द्र बढेकाले किसानले सहजै सेवा लिन पाएका छन्” उनले भने । अहिले लालमटिया, गढवा, सतवरिया, रिहार, उरहरी, रामपुर, घोराही, लमही, सिसहनिया, फूलबारी, श्रीगाउँलगायतका स्थानमा पशु प्रजनन केन्द्र स्थापना गरी गाईभैँसीको कृत्रिम गर्भाधान गरिरहेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०६८/६९ मा नयाँ योजना तथा अवधारणा लिएर सञ्चालन गरेको कृत्रिम गर्भाधानले विगतका वर्षभन्दा प्रगति गरेको कार्यालयका पशु चिकित्सक रमेशप्रसाद नेपालीले बताए । वार्षिक रुपमा दूधको अभाव बढिरहेकाले त्यसलाई कम गर्न कृत्रिम गर्भाधानलाई बढाइएको हो । यसले किसानको व्यावसायिकता बढाउन पनि सहयोग पुग्ने छ । कृत्रिम गर्भाधानले स्थानीय र उन्नत जातको समिश्रण हुँदा २०० प्रतिशत बढी दूध दिने गरेको उनले जानकारी दिए ।
कार्यालयका अनुसार कृषकले निर्धारण गरिएका केन्द्रमा आफैँ गाईभैँसी लिएर आई गर्भाधान गराएमा न्युनतम शुल्क लिई प्रतिकृषकलाई रु १०० बराबरको उन्नत जातको घाँस र खुवाउनका लागि खनिज दिई प्रोत्साहन गरिने गरिएको छ । गाउँमै पशु चिकित्सकलाई लैजानुपरे केन्द्रमा गठन भएको सञ्चालन समितिको निर्णयबाट तोकिएको शुल्क तिर्नु पर्नेछ । जिल्लामा वार्षिक २५ हजार ६६९ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ । यो उत्पादनले जिल्लामा गर्मी समयबाहेक अन्य समयमा भने पूर्ति गर्दै आएको छ ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ ७, २०७२