शनिबार, बैशाख ८, २०८१

भैँचालोले घर पुर्यो, धानको बीउ छैन, कसले देला बीउ

बसेरी (धादिङ), ७ जेठ । “धान रोप्ने मौसम आयो, बीउ छैन । भूकम्पले भत्काएको घरबाट केही समान झिक्न पाइएन । खेत बाँझै बस्ने भयो । हामीलाई कसले देला त बीउ” — कृष्णमान श्रेष्ठ । “सरकारले निःशुल्क रुपमा धानको बीउ दिने घोषणा गरेको रेडियोमा सुनेको हो, आजसम्म कहाँबाट कसले दिन्छ थाहा पाउन सकेको छैन । सरकारी मान्छेको उपस्थिति गाउँमा भएको छैन । खेत बाँझै राख्ने हो कि के हो ? सरकारले भनिदिनुपर्यो” — नारायण कार्की ।

“दुःखजिलो गरेर खेत रोप्ने गरेको थिएँ । यसपाला भैँचालोले घर भत्कायो । बीउ छैन । कसले देला र बीउ ? खेत बाँझै बस्ने भयो” — लक्ष्मी परियार । धादिङको उत्तरी क्षेत्र बसेरीका स्थानीयवासीको प्रतिनिधि भनाइ हो यो । गत वैशाख १२, १३ र २९ गते गएको भूकम्प र पराकम्पनका कारण घर भत्किएपछि सर्वस्व गुमाएका स्थानीयवासीलाई यतिखेर सबैभन्दा ठूलो समस्या बनेको छ धानको बीउ ।
बीउ राख्ने मौसम आयो, कहीँ कतै पनि बीउ छैन । सरकारले निःशुल्क बीउ दिनेबारे स्थानीयले थाहा पाएका छन् तर उपलब्ध गराउने सरकारी निकायले आजसम्म कुनै पनि सोधखोज नगरेपछि स्थानीयवासीलाई पीडा थपिएको छ । प्राकृतिक विपत्तिले थातथलो लुट्यो, सपना टुटे, जनधनको क्षति भयो । वर्षौंदेखि जोडजाम गरेको सबै सम्पत्ति क्षणभरमा स्वाहा भयो । तर मनसुन सुरु हुन लाग्दासमेत धानको बीउ नपाएपछि स्थानीयवासीलाई भैँचालोले दिएको पीडाभन्दा ठूलो पीडा थपिदिएको छ ।
उनीहरु सरकार र सरकारी निकायले तत्काल धानको बीउ उपलब्ध गराइदिए प्रकृतिले दिएको पीडामा मल्हम लाग्ने थियो भन्ने आशामा रहेका छन् । राहतको नाममा केही पोका चाउचाउ र बिस्कुट मात्र पाएका धादिङको उत्तरी क्षेत्र बसेरीका जनता के गर्ने, कसो गर्ने रनभूल्लमा परेका छन् ।
बसेरी लहरेपीपलका ७० वर्षीय कृष्णमान श्रेष्ठ यतिबेला सरकारले अरु राहत नदिए पनि धानको बीउ दिए सबैभन्दा ठूलो राहत हुने धारणा राख्छन् । भैँचालोले घाइते भएका हल गोरु स्याहार्दै आउनुभएका श्रेष्ठ केही दिनमा खेत जोत्ने सोचमा छन् । घाइते हल गोरु त बिस्तारै स्वस्थ होलान् तर बीउ नभएपछि कसरी रोप्ने खेत । उनले गुनासो गरे “सरकारले बीउ दिने कुरा रेडियो र टिभीमा भनेर भएन, हामीजस्ता पीडितलाई दिनुपपर्यो ।”

यस्तै भैँचालोले बसेरीको अधिकांश खेत तथा बस्तीमा धाँजा फाटेको छ । हल्का पानी पर्न थाल्नेबित्तिकै स्थानीयको मनमा अर्को ठूलो भैँचालो चल्न थाल्छ । मनसुन सुरु भएपछि बस्ती बग्ला कि भन्ने पिरलो पनि सँगै छ । प्रकृतिले दिएको पीडा शब्दमा उतार्न सक्ने अवस्थामा छैनन् स्थानीयवासी ।
विनाशकारी भूकम्पले दिएको पीडा र त्यसपछिका दिनहरु कष्टकर त छँदैछन् । त्यसमाथि वर्षभरि खानका लागि उत्पादन हुने धान खेत बाँझै रहला कि भन्ने चिन्ताले सताएकी अर्की स्थानीयवासी लक्ष्मी परियार तत्काल बीउ उपलब्ध गराउन सरकारसँग माग गर्छन ।
बसेरी–८ भैसैका रामकृष्ण ढकाल तत्कालका लागि गहँु र मकैले प्राण धान्न समस्या नभए पनि आगामी दिनमा आइपर्ने खाद्य सङ्कट समाधान गर्ने उपायको खोजीमा छन् । कृषि कार्यालयले दिने भनेको बीउ तत्काल उपलब्ध हुनुपर्ने र स्थानीय मौसम अनुकूलको बीउ भए उत्पादन पनि बढ्ने तथा आगामी वर्ष आउन सक्ने खाद्य सङ्कट समाधान हुने उनको भनाइ छ ।
पानी पर्न थालेपछि बीउ ओसारपसारका लागि पनि समस्या हुने भएकाले केही दिनभित्रै बीउ वितरण गरिनुपर्ने अधिकांश स्थानीयको माग रहेको छ । बीउ सँगसँगै धाँजा परेको जमिन र बस्तीको भौगर्भिक अध्ययन गरेर स्थानीयलाई आश्वस्त पार्नुपर्ने आग्रह पनि रहेको छ ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ ७, २०७२