बिहिबार, फाल्गुन १७, २०८०

जथाभावी बीउ विरतण गर्दै संघ संस्थाहरु

seedकाठमाडौं, जेठ । मुलुकमा कुनै असहज परिस्थिति भएमा विदेशी शक्तिहरुले राजनीतिमा खेल्ने गरेको सवैले अनुभूति गरेकै हो । तर महाभूकम्पका कारण प्रताडित रहेका किसानहरु यतिखेर आफ्नो खेतमा धान रोप्नका जोहो गरेर राखेको धानको बीउ समेत भूकम्पमा परेपछि के बीउ लगाउने भन्ने दोधारमा परिरहेका बेला बीउमाथि पनि राजनीति शुरु हुन खोजिरहेको छ । यतिखेर किसानहरुलाई बीउवितरण गर्नेका लागि केही गैरसरकारी संस्थाहरु प्रतिष्पर्धात्मक रुपमा उत्रिएका छन् । धानको बीउ छर्ने समय आईसक्दा पनि भूकम्पको पीडाका कारण धानको बीउ राख्न समेत किसानहरु सकिरहेका छैनन् । सरकारले भूकम्प प्रभावित जिल्लाका किसानहरुलाई बर्खे बाली तथा तरकारीका लागि आवश्यक बीउ विजन अनुदानमा उपलब्ध गराउने घोषणा गरे लगतै कृषि क्षेत्रमा काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुवीच प्रतिष्पर्धा नै चल्न थालेको हो ।
यतिखेर किसानहरुलाई राहतमा बीउ वितरण गर्नका लागि विभिन्न संस्थाहरु तीव्रताका साथ लागिरहेका छन् । यद्यपी कृषि विकास मन्त्रालयसँग समन्वय गरी बीउ वितरण गर्ने प्रतिवद्धता भने एफएओ र इरीले मात्र गरेको मन्त्रालय स्रोतले बताएको छ । ती बाहेकका धेरै संस्थाहरु किसानसम्म पुगिसकेका पनि देखिन्छन् ।
महाभूकम्पको पीडामा रहेका किसानहरुलाई बीउ नपाईरहेको अवस्थामा अनुदानको बीउ पाउँद ढुङ्गा खोज्दा देउता मिले जस्तो त होला तर त्यसले भविष्यमा पार्न सक्ने नकारात्मक असरका बारेमा बेलैमा सजग गराउनु भने आवश्यक छ ।
दुईबर्ष अगाडि मात्र भक्तपुर तथा काभ्रेका किसानहरुले पैसा तिररे किनेका धानको बीउले फल नदिएको ज्वलन्त उहादरण हामी माझ ताजै छ । यसलाई स्मरण गर्दै अनुदानका नाममा वा सहयोगका नाममा अन्दधुन्द तरीकाले किसानहरुलाई बीउ वितरण गर्न दिएमा त्यसले ठूलो समस्या निम्त्याउने देखिएको छ ।
भूकम्प प्रभावित जिल्लाहरुका किसानहरुलाई धानको बीउ अनुदानमा दिने प्रतिष्पर्धामा जुट्ने जुनसुकै संघसंस्थाहरुलाई कृषि विकास मन्त्रालयले आफ्नो नियन्त्रण भन्दा बाहिर जान दिनु कदापी हुँदैन । कृषि विकास मन्त्रालयको मातहतमा रहेर एकद्धार नीति गरी गुणस्तरीय बीउ विजन किसानको हातमा पर्ने अवस्थाको सृजना गर्नु अनिवार्य छ । न कि अनुदानका नाममा बीउ दिने होडबाजीको पछि लाग्दा कृषि क्षेत्रमा नै ठूलो दूर्घटना निम्त्याउन सक्छ ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ ५, २०७२