मङ्लबार, बैशाख ११, २०८१

महाभूकम्पका कारण कृषि क्षेत्रमा करीव चौध अर्वको क्षति

cowकाठमाडौ, ३ जेठ । गत बैशाख १२ र २९ गते आएको महाभूकम्पका कारण मुलुकको अर्थतन्त्रमा ठूलो असर परेको छ । महाभूकम्पका कारण करीव ९ हजार व्यक्तिले ज्यान गुमाईसकेका छन् भने १९ हजारको हाराहारीका व्यक्तिहरु घाइते बनेका छन् । सरकारी तथ्यांकलाई हेर्ने हो भने पनि दुई लाख भन्दा बढी घरहरु पूर्ण रुपमा क्षतिग्रस्त बनेका छन् । यो महाभूकम्पका कारण जुन मात्रामा मानवीय क्षति भएको छ त्यही मात्रामा मुलुकभरीका १० हजार गाईभैसी मात्र मरेका छन् । भने २ लाखको हाराहारीमा ठूला तथा साना पशु एवं पंक्षीहरु भूकम्पका कारण मरेका देखिन्छन् । घाईते पशुहरुको भने लाखौंको संख्यामा हुने अनुमान गरिएको छ । 

महाभूकम्पको बढी प्रभावित १४ जिल्ला सिन्धुपाल्चोक, दोलखा, गोरखा, काठमाडौं, ललितपुर, भक्तपुर, ओखलढुङ्गा, रामेछाप, रसुवा, धादिङ्ग, नुवाकोट, काभ्रे, मकवानपुर र सिन्धुली र कम प्रभावित जिल्लाका रुपमा रहेको गुल्मी, लम्जुङ्ग, रुकुम, सोलुखुम्वु, मोरङ्ग, तनहुँ, भोजपुर, रोल्पा, सुनसरी,पर्वत कास्की,प्यूठान, पाल्पा, तेह्रथुम, धनकुटा, पाँचथर, खोटाङ्ग, डोल्पा, चितवन, सर्लाही मुस्ताङ्ग, म्याग्दी, स्याङ्गजा, दाङ्ग, इलाम र बाग्लुङ्ग समेत गरी ४० जिल्ला महाभूकम्पको प्रभावित जिल्लाहरुमा परेका छन् । यी जिल्लाहरु मध्ये सवै भन्दा बढी २ हजारको संख्यामा ठूला पशु गोरखामा मरेका छन् । कृषि विकास मन्त्रालयको तथ्यांक अनुसार भन्ने हो भने गोरखामा १ हजार ३ सय ४३ साना पशु र २ हजार २ सय ३२ पंक्षीहरु मरेका छन् । त्यस्तै सवैभन्दा बढी गोठ क्ष्ति पनि गोरखामा नै भएको छ । सो जिल्लामा २ हजार ३ सय ७८ गोठ क्षति भएको देखिन्छ ।
त्यस्तै काभ्रेपलाञ्चोकमा १ हजार २ सय ५८ ठूला २ हजार ८ सय ५६ साना पशु मरेका छन् भने १४ हजार ३ सय ९१ पंक्षीहरु मरेका छन् । भक्तपुर जिल्लामा भने १ सय ४३ ठूला पशु, २ सय ७५ साना पशु, ६६ हजार ४ सय ७१ पंक्षी मरेका छन् भने १ लाख ६३ हजार ९ सय अण्डा पूर्ण रुपमा क्षति भएको देखिन्छ । काठमाडौं जिल्लामा पनि ७ सय ६० ठूला पशु, ४ सय ८४ साना पशु २७ हजार ७० पंक्षी मरेका छन् भने ४५ हजार अण्डा र २० हजार चल्ला क्षती भएको बताइएको छ ।
महाभूकम्पका कारण पशुहरु ठूलो मात्रामा हताहत भएको देखिन्छ । नुवाकोटमा १ हजार ३ सय ५० पशु १० हजार पंक्षी , सिन्धुपाल्चोकमा ३ हजार १ सय पशु, ३ हजार पंक्षी, रसुवामा १ हजार ८ सय पशु, ९ हजार ३ सय पंक्षी, धादिङ्गमा ३ हजार १ सय पशु, ६ हजार पंक्षी, मरेका छन् । महाभूकम्पको बढी प्रभावित १४ जिल्लामा अत्यन्तै बढी पशुहरु मरेका छन् भने अन्य जिल्लामा पनि मरेका पशु एवं पंक्षीको मात्रा बढ्दै गईरहको देखिन्छ । सो भूकम्पका कारण अनुमानित ६ अर्व भन्दा बढी मूल्य बराबरका पशु एवं पंक्षीहरुको मृत्यु भएको बताइएको छ । त्यस्तै कृषि तर्फ पनि १ लाख ३५ हजार १ सय ८७ मेट्रिक टन खाद्यान्न नष्ट भएका छन् । बैशाख २६ गतेसम्मको तथ्यांकलाई मूल्यांकन गर्ने हो भने ८ अर्वको खाद्यान्न नष्ट भएको कृषि विकास मन्त्रालयले जनाएको छ ।-वैकुण्ठ भण्डारी

प्रकाशित मिति: आइतवार, जेष्ठ ३, २०७२