बिहिबार, चैत्र १५, २०८०

काभ्रेमा भूकम्पमा अठार हजारभन्दा बढी पशु चौपाया मरे

बनेपा, २३ वैशाख । काभ्रेपलाञ्चोक जिल्लाका ३६ गाविस र पाँच नगरपालिकामा भूकम्पका कारण साना तथा ठूला पशुपक्षी गरी कुल १८ हजार १३७ पशु तथा पक्षी मरेका छन् । तीमध्ये तीन हजार ८७१ ठूला तथा साना पशु, चौपाया छन् । जिल्ला पशुसेवा कार्यालय काभ्रेपलाञ्चोकका अनुसार गाईभँैसी ठूला पशु एक हजार १७३, साना पशु भेडाबाख्रा, बङ्गुर दुई हजार ६९८ र पक्षी १४ हजार २६६ मरेका छन् । भूकम्पमा परी एक हजार ३९५ ठूला तथा साना पशु, चौपाया र ६४७ पक्षीलाई चोट लागेकाले ती पशु तथा पक्षीको गाउँ–गाउँ र नगरपालिकामा निःशुल्क उपचार भइरहेको जिल्ला पशुसेवा कार्यालय काभ्रेपलाञ्चोकका पशु चिकित्सक मणि सापकोटाले जानकारी दिए ।

उनले भूकम्प लगत्तै ३२ वटा गाविसमा पशु, चौपाया तथा पक्षीको तथ्याङ्क सङ्कलन जारी रहेको जानकारी दिँदै जिल्लाको कोसीपारीका विभिन्न गाविस, बनेपा नगरपालिका आसपासका विभिन्न गाविसमा महामारीको सङ्क्रमण फैलिन नदिन ३१९ पशु, चौपायाको सिनो व्यवस्थापन भएको जानकारी दिए । जिल्लामा ६८ वटा गाविस छन् । कतिपय स्थानमा हाम्रो निगरानीमा सिनोको व्यवस्थापन भएको छ भने कतिपय स्थानमा कृषक स्वयम्ले व्यस्थापन गरेका छन् जिल्ला पशुसेवा कार्यालय धुलिखेलका पशु चिकित्सक सापकोटाले भने । उनले गाउँ, गाउँमा महामारीको सङ्क्रमण फैलन नदिन कीटनाशक तथा जीवाणुनाशक औषधि समेत निःशुल्क वितरण गरिएको बताए । काभ्रेपलाञ्चोकमा जिल्ला विकास समितिले अहिलेसम्म भूकम्पका कारण पाँच हजार ४८१ पशु, चौपाया र पक्षी मरेको प्रारम्भिक अनुमान गरेको छ ।
जिल्ला विकास समिति, धुलिखेलले सबैभन्दा बढी पाँचखाल नगरपालिकामा एक हजार १४० र सबैभन्दा कम खार्पाचोकमा एक र मादनकुडारीमा एक पशु, चौपाया मरेको जनाएको छ । तर दोलालघाट, कोलातीभूम्लु, सिम्थली, टुकुचानाला, बालुवापाटी, देउपुर, रयाले, शङ्खु पाटीचौर, फलामेटार, शिखरआम्बोटे, महाकालचौर, कार्तिके देउराली, कानपुर कालापानी, सिपाली चिलाउने र वाल्टिङ गाविसमा पशु चौपाया नमरेको जिल्ला विकास समितिले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, बैशाख २३, २०७२