बुधबार, बैशाख १२, २०८१

भूकम्पपीडितका लागि ल्याइएको राहत सामग्री निजी गोदाममा

लुम्बिनी (रूपन्देही), २० वैशाख । भूकम्पपीडितका लागि भारतबाट ल्याइएको राहत सामग्री भैरहवाको एक निजी राइस मिलबाट बरामद गरिएको छ । छिमेकी मुलुक भारतको वाराणसीमा रहेको कैलाशपुरी सेवा आश्रमबाट युपी६३जे ९१०० नम्बरको ट्रकमा आएको सो राहत सामग्री सिद्धार्थनगर नगरपालिका–४ मा रहेको आचार्य राइस मिलबाट आज दिउँसो बरामद गरिएको रूपन्देही प्रहरीले जनाएको छ । उक्त राइस मिल हिन्दू स्वयम्सेवक सङ्घ नेपालका सञ्चालक हेम शर्माको रहेको प्रहरीले खुलासा गरेको छ । बरामद गरिएको सामानमा ५० क्विन्टल चना, एक सय कार्टुन बिस्कुट, तीन क्विन्टल चियापत्ती, २० कार्टुन फ्रुटी, १० झोला दूध, एक सय थान कम्बल र त्रिपाल बनाउन प्रयोग गरिने १५ थान ठूला पाल रहेको रूपन्देहीका एसपी राजेन्द्र ढकालले जानकारी दिए ।

मिलका सञ्चालक शर्माले भने गाडी चालकले राहत लैजान नसक्ने बताएपछि आफ्नो गोदाममा थन्क्याइएको बताए । राहत सामग्री गाडीबाट झिकेर गोदाममा थन्क्याइ साँचो लगाएको अवस्थामा प्रहरीले फेला पारेको थियो । यसबारे प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: आइतवार, बैशाख २०, २०७२