आइतवार, मंसिर २४, २०८०

प्रधानमन्त्री कोइरालासँग विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक कजनको भेट

काठमाडौँ। प्रधानमन्त्री सुशील कोइरालासँग विश्व खाद्य कार्यक्रमकी कार्यकारी निर्देशक इर्थारिन कजनले प्रधानमन्त्री निवास बालुवाटारमा भेटगरेका छन् । सो अवसरमा नेपालमा हालै आएको भूकम्पबाट पीडितको उद्धार, राहत, पुनःस्थापना र पुनःनिर्माणका विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीद्धारा जारी विज्ञप्तिमा उल्लेख गरेका छन् । भेटमा कार्यकारी निर्देशक कजनले विनाशकारी भूकम्पबाट नेपालमा हुन पुगेको ठूलो जनधनको क्षतिप्रति आफ्नो व्यक्तिगत, विश्व खाद्य सङ्गठन र विश्व खाद्य कार्यक्रमका तर्फबाट प्रधानमन्त्री कोइराला र उनिमार्फत पीडित नेपाली जनतामा समवेदना प्रकट गरेकाथिए ।

प्रधानमन्त्री कोइरालाले यस्तो भयानक भूकम्प आउला भनेर कल्पनासमेत नगरिएको बताउँदै यसबाट पीडित नेपाली जनतालाई अस्थायी ओतका लागि पाल र टेन्टहरु, खानका लागि सुक्खा खाद्य पदार्थ, पानी शुद्ध गर्ने उपकरण, ओछ्याउने म्याट्रेस र घाइतेहरुको उपचारका लागि औषधि चाहिएको बताए। उनले मनसुनअगावै उचित प्रबन्ध गर्न नसके पीडितलाई अझ समस्या पर्न सक्ने जोखिम पनि औँल्याएकाथिए ।
प्रधानमन्त्री कोइरालाले यस पटक भूकम्पको असर पहाडी र हिमाली क्षेत्रमा बढी परेको उल्लेख गर्दै दुर्गम स्थानमा राहत सामग्री पु¥याउन अन्तर्राष्ट्रिय निकाय र दातृ मुलुकहरुको सहयोगको अत्यन्त खाँचो रहेको उल्लेख गरेकाथिए । उनले पीडितको आवश्यकतालाई सम्बोधन गर्ने पर्र्याप्त राहत सामग्री जुटन नसकेको बताए । विश्व खाद्य कार्यक्रम प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरण र खाद्य सुरक्षाको क्षेत्रमा काम गर्दै आएको छ । भेटमा नेपालका लागि अमेरिकी राजदूत पिटर बोडी र प्रधानमन्त्री कोइरालाका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराई पनि सहभागी रहेको थियो ।

प्रकाशित मिति: आइतवार, बैशाख २०, २०७२