बुधबार, मंसिर १३, २०८०

कृषिमा युवाशक्तिको आकर्षण बढ्दै गएको छ

achut dhakal (3)

अच्चुतप्रसाद ढकाल: क्षेत्रीय निर्देशक, मध्यपश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशनालय

० मध्यपश्चिमाञ्चल क्षेत्रमा कृषिको अवस्था कस्तो छ ?
मध्यपश्चिमाञ्चल क्षेत्र समग्रलाई हेर्ने हो भने कृषि क्षेत्रमा पछिल्लो समयमा तीव्र गतिमा विकास हुँदै गएको छ  । किसानहरु पनि परम्परागत कृषिखेतीलाई विस्तारै परिवर्तन गरी व्यवसायिक कृषि खेती गर्नु पर्दछ भन्ने सोचका साथ अगाडि बढिरहेका छन् । मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय सुर्खेतमा भएको भएपनि यसले हेर्ने जिल्ला भनेको वाँके बर्दियादेखि कालिकोटसम्म पुग्नु पर्ने भएकाले पनि हरेक जिल्ला जिल्लामा कृषि बालीको उत्पादनमा परिवर्तन छ । जिल्ला अनुसार किसानहरुको समस्याहरुपनि धेरै नै छन् । बर्दियामा भएको समस्या र कालिकोटमा भएको समस्या फरक छ । त्यही भएर हामीले अरु क्षेत्रमा जस्तो कृषि आजको भोली नै परिवर्तन गछौं भन्ने सोच राख्नु हुदैन । कृषिको अवस्थालाई विकास र परिवर्तन गर्नका लागि केही समय लाग्छ नै समय कुर्न सक्नु पर्दछ त्यो धैर्यता राख्न सक्यो भने मध्यपश्चिमाञ्जलमा कृषिको भविष्य अत्यन्तै उज्जल छ ।
० विगतका बर्षहरुमा भन्दा पछिल्लाबर्षहरुमा कृषि उत्पादनतिर युवाहरु अलि सक्रिय भएका छन् भन्ने सुनिन्छ नि ?
सहि कुरा गर्नु भो । विगतमा मध्यपश्चिमाञ्चलको कृषिको उत्पादनको अवस्था हेर्ने हो भने गतबर्षदेखि केही मात्रामा भएपनि सन्तोष गर्ने ठाउँहरु छन् । कारण युवा जनशक्ति कृषिमा केही गरौं भन्ने सोचले प्रवेश गरेका छन् । खासगरी विदेशबाट फर्केका युवाहरु कृषिमा बढी आकर्षित भएको पाईन्छ । किनकी उहाँहरुले विदेशमा सिकेको प्रविधिलाई नेपालमा स्थापित गर्ने प्रयास गर्नु भएको छ । यो प्रशसनीय छ । विदेशमा गएर आएका युवाहरुमा नेपालमा नै केही गर्नु पर्दछ भन्ने भावना आएको मैले महशुस गरेको छु । विदेशमा भन्दा नेपालमा नै कृषिका लागि अत्यन्तै उर्वर भूमि भएका कारण पनि युवाहरु त्यहाँ भन्दा नेपालमा नै केही गर्नुपर्दछ भन्ने सोचमा हुनु हुन्छ ।
० युवाहरु कृषि उत्पादनका लागि बढी कुन बालीतिर आकर्षित भएको पाउनु भएको छ त ?
युवाहरु परम्परागत रुपमा गरिने खेती प्रणाली भन्दा पनि व्यवसायिक रुपमा गरिने खेती तिर आकर्षित भएका छन् । गोलभेंडा खेती, च्याउखेती गाईपालनमा बढी आकर्षित भएको देखिन्छ । कारण के हो भने यो बर्ष मुलुकभर नै युवा लक्षित कार्यक्रम सञ्चालन गरिएको छ । ती युवा लक्षित कार्यक्रमका लागि आवेदन माग गर्दा १० गुणा बढी आवेदन पर्ने गरेका छन् । ती आवेदनहरुमा बढी भन्दा बढी तरकारी खेती, च्याउ खेती नै देखिन्छन् । यसबाट के देखिन्छ भने युवाहरुमा तत्कालै नगद आउने र व्यवसायिक बन्न सक्ने बाली लगाउने तर्फ आकर्षित भएको पाइन्छ ।
० अहिले सुर्खेतकै कुरा गर्ने हो भने पनि किसानहरु धेरै व्यवसायिक हुन थाले भन्छन् नि ?
हो । धेरै किसानहरुमा विगतमा जस्तो परम्परागत खेती गरेर मात्र हुन्न भन्ने सोचको विकास भएको छ । धान वा गहुँ उत्पादन गरेर मात्र होइन अन्य नगदेवाली व्यवसायिक रुपमा गर्नु पर्दछ भन्नेमा नै किसानहरु देखिनु हुन्छ । कारण के हो भने विगतमा जसरी परम्परागत रुपमा खेती हुन्थे त्यो विस्तारै कमी हुन थालेको छ । विभिन्न कारणले बसाई सर्नेहरुको संख्या पनि बढ्दै गएको छ भने कृषिमा काम गर्ने जनशक्तिको अभाव पनि त्यत्तिकै मात्रामा बढ्दै गएको छ । जवसम्म हामीले कृषिमा काम गर्नका लागि दक्ष जनशक्तिहरुलाई उपयोग गर्न सक्दैनौ तवसम्म कृषिको विकास हुन्छ भन्न सकिने अवस्था छैन । मध्यपश्चिम कै कुरा गर्ने हो भने पनि यस क्षेत्रमा उत्पादन भएका अदुवाहरु अन्तर्राष्टिूय बजारसम्म पुग्छ त्यसलाई हामीले यस क्षेत्रको कृषिका लागि महत्वपूर्ण विकासको पाटो मान्नु पर्दछ । यहाँ उत्पादन भएका कृषि उपजलाई विश्वबजारसम्म पु¥याउनु पर्दछ भन्ने कुरामा किसानहरु प्रतिवद्ध हुनुहुन्छ ।
० युवाहरुलाई कृषिमा आकर्षण गर्ने त भनिएको छ तर, युवाहरु बढी भन्दा बढी विदेशतिर जान खोजिरहेका छन् नि ?
तपाईले उठाउनु भएको प्रश्न महत्वपूर्ण छ । हामी युवाहरुलाई कृषिमा आकर्षण गर्नु पर्दछ कृषि युवामय हुनुपर्दछ , युवा जनशक्तिलाई कृषि उत्पादनबृद्धि गराउने तर्फ लाग्नु पर्दछ भनिरहेका पनि छौं हामीले विदेशबाट फर्केका युवाहरुलाई कृषिमा आकर्षण गर्न सक्यो तर विदेश जान खोजिरहेकाहरुलाई विदेश जानबाट रोक्न सकेका छैनौं । जवसम्म हामीले युवाहरुको विदेश प्रतिको मोह त्याग्न सक्ने र कृषिमा नै नै प्रयोग गर्न सक्दैनौं तवसम्म युवालाई आकर्षण गर्ने कुरा नारामा मात्र सिमित होला कि भन्ने डर पनि लागिरहेको छ । तर हामी त्यो हुन दिन्नौं भनेर प्रतिवद्धताका साथ अगाडि बढिरहेका छौं । मध्यपश्चिामाञ्चल कै कुरा गर्नु हुन्छ भने पनि अहिले व्यवसायिक कृषिमा लगानी गर्ने धेरै जसो युवा जनशक्ति नै देख्न सकिन्छ । जुन रुपमा युवाहरुलाई अगाडि बढाउनु पर्ने हो त्यो रुपमा भने अगाडि बढाउन सकिएको छैन ।
० कृषि विकास मन्त्रालय हरेक क्षेत्रमा दुई बालीमा आत्मनिर्भर बनाउने भनेर लागिरहेको छ सम्भव छ त ?
असम्भव भन्ने कुरा केही पनि छैन । हामीले प्रविधिलाई थोरै मात्र प्रयोग गर्न सक्ने र कृषि वास्तवमा नै व्यवसायिक हुुनु पर्दछ र एउटा एउटा बालीमा आत्मनिर्भर बन्नु पर्दछ भन्ने भावन सवै जिल्लाका सरोकारवाला निकालयले लिने हो भने सकिन्छ । त्यसका लागि बजेट तथा कार्यक्रम पक्कै पनि त्यही किसिमले बन्नु पर्दछ । अहिले मन्त्रालयले लिएको योजनाले पक्कै पनि बजेट र कार्यक्रम राम्रो आउने संकेत देखिएको छ । मन्त्रालयले सोच अनुरुप नै कार्यक्रम आउने हो भने हामी कृषिका केही बस्तु र बालीमा आत्मनिर्भर बन्न सक्छौं ।
० त्यसका लागि के गर्नु पर्दछ त मन्त्रालयले ?
मन्त्रालयले पछिल्लो समयमा योजना तर्जुमाका लागि पाँचै विकास क्षेत्रमा पुगेर त्यहाँको भौगोलिक अवस्थालाई ख्याल गरेर बजेट योजना बनाईरहेको परिप्रेक्ष्यमा हरेक जिल्लामा एक बस्तु र दुई बालीमा आत्मनिर्भर बनाउने हो भने कार्यक्रमहरुलाई केही मात्रामा परिष्कृत गरेर हरेक सरोकारवाला निकाय र व्यक्तिहरुलाई जिम्मेवार बोध गराउनु पर्दछ । कृषि उत्पादनबृद्धि गर्ने काम कृषि विकास मन्त्रालय र मातहतका निकायहरुको मात्र हो भन्ने सोच अन्य सरोकारवाला निकायहरुले अन्त्य गर्नु पर्दछ । कृषि उत्पादन बृद्धि गर्नका लागि सिंचाईका कुरा वा भूमिका कुरालाई पनि सँगै लिएर जान सक्ने हो र किसानलाई आवश्यक मात्रामा मल बीउ, सिंचाई र प्रविधिको विस्तार गरी दक्ष जनशक्ति प्रयोग गर्ने हो भने हामी कृषिका केही बस्तु र बालीमा आत्मनिर्भर बन्न सक्छौं । -वैकुण्ठ भण्डारी

प्रकाशित मिति: आइतवार, बैशाख १३, २०७२