बिहिबार, बैशाख १३, २०८१

विषादी प्रयोग घटाउन विषादी प्रयोगशाला थप्दै

bisadi mechinकाठमाडौं, वैशाख । गत असार ४ गतेदेखि कालिमाटी तरकारी बजारमा तरकारी जन्य बस्तुमा विषादी प्रयोगको मापनका लागि स्थापना गरिएको विषादी दू्रत विश्लेषण केन्द्रका कारण करीव १० महिनाको वीचमा किसानहरुले तरकारीमा विषादी प्रयोगलाई अत्यन्तै कमी गरिसकेका छन् । जसको परिणाम कालिमाटी तरकारी तथा फलफूल बजारमा विक्रीका लागि राखिएका हरिया तरकारीमा विषादी भेट्न अव मुश्किल नै पर्दछ । अघिल्लो आर्थिक बर्ष शुरु भए लगतै शुरु भएको विषादी प्रयोग न्यूनिकरण अभियानले यति छिटो सफलता हात पार्न सफल भयो कि सरकारी अधिकारीहरु नै अचम्मित परेका छन् ।
कालिमाटीमा राखिएको एउटा विश्लेषण केन्द्रले पारेको प्रभाव काठमाडौं उपत्यका मात्र होइन मुलुकभरका विभिन्न शहरमा समेत यसले जनचेतना अभिबृद्धि गर्ने कामलाई समेत सघाएको देखिन्छ । बाली संरक्षण निर्देशनालयको पहलमा शुरु गरिएको यो अभियानलाई अझ मूर्त रुप दिनका लागि आगामी बर्ष मुलुकका विभिन्न पाँच ठाउँमा बिषादी प्रयोगशाला राख्ने तयारीमा बाली संरक्षण निर्देशनालय जुटेको छ ।
संयुक्त राष्ट्र संघ खाद्य तथा कृषि संगठनको सहयोगमा निर्देशनालयले आगामी दुई बर्षसम्म विषादी प्रयोग न्यूनिकरण गर्नका लागि के के गर्न सकिन्छ भन्ने विषयमा सरोकारवाला निकायहरुसँग छलफल समेत गरिसकेको छ । रोग कीरा मार्नका लागि बर्षौदेखि प्रयोग गरिँदै आएको विषादीको प्रयोग न्यूनिकरण गर्नका लागि अत्यन्तै चुनौति भएको भएपनि गतबर्ष कालिमाटीमा दू्रत प्रयोगशाला स्थापना पछि सञ्चार माध्यमहरुले समेत विशेष प्राथमिकता दिएका कारण सोचेभन्दा बढी प्रभावकारी भएको बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराम शर्माले बताए ।
कार्यक्रममा सरोकारवाला निकायहरुले नै बजारमा पैसा तिरेर तरकारीका नाममा विषादी किनिरहनु परेको तथ्य औलाउँदै बाली उत्पादनदेखि उपभोक्तासम्म पुग्ने अवस्थासम्म सुधारन गर्नु पर्ने समेत बताएका छन् । सवै क्षेत्रमा पहल गर्ने हो भने विषादी प्रयोग न्यूनिकरण मात्र होइन अन्त्य नै गर्न सकिने शर्माको तर्क थियो ।
हाल किसानहरुले रोगकीरा मार्ने नाममा एग्रोभेटहरुकै सल्लाहमा विषादी प्रयोग गर्ने गरेको र त्यस्ता किसानहरु करीव ५५ प्रतिशत रहेको भन्दै शर्माले आगामी बर्षदेखि यही तथ्यांकलाई आधार मानेर एग्रोभेटहरुलाई तालिम प्रदान गर्ने तयारी गरिरहेका समेत बताए ।
संयुक्त राष्ट्र संघ खाद्य तथा कृषि संगठनका बाली संरक्षण अधिकृत वियाओ योङ्गफानले रोग कीरा मार्ने नाममा खाद्य बालीमा प्रयोग हुने विषादी अत्यन्तै हानिकारक हुने भएकाले यसको प्रयोगमा आम किसानहरुलाई सचेतना जगाउनु पर्ने बताए । त्यसकै लागि पनि आफूहरुले बाली संरक्षण निर्देशनालयसँग सहकार्य गरेको उनको भनाई थियो ।
नेपालमा हाल प्रति हेक्टर ३ सय ९६ ग्राम विषादी प्रयोग भैरहेको बाली संरक्षण निर्देशनालको तथ्यांकमा उल्लेख गरिएको छ । अन्य देशको तुलनामा नेपालमा विषादी प्रयोगको मात्रा कम भएको भएपनि प्रयोग गर्ने तरीका मिलाउन नसक्दा समस्या आएको कार्यक्रम निर्देशक डिल्लीराम शर्मा बताउँछन् ।

प्रकाशित मिति: शुक्रबार, बैशाख ११, २०७२