शुक्रबार, चैत्र १६, २०८०

किसान आयोजना किसानका पक्षमा देखिएन

hariprasad-parajuli1काठमाडौं,१० वैशाख । कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीले प्राविधिक विषय रहेको कृषि क्षेत्रलाई विकास गर्नका लागि सैदान्तिक कुरा व्यवहारमा उतार्नु पर्नेमा जोड दिएका छन् । कृषि विकास मन्त्रालयमा आयोजित समिक्षा गोष्ठिलाई सम्वोधन गर्दै कृषि मन्त्री पराजुलीले सो कुरा बताएका हुन् ।
कृषि क्षेत्रका बुद्धिजिवीहरु कृषिको विकास गर्ने भन्दा पनि अनुदान कसरी बढी हात पार्न पाइन्छ भन्ने तर्फ लाग्ने गरेको आरोप लगाउँदै वर्तमान अवस्थामा कृषि विकासका लागि सञ्चालन आएका आयोजनाहरुको औचित्य आफूले नदेखेको मन्त्री पराजुलीको भनाई थियो । सीमान्तकृत तथा साना किसानहरुको जीवनस्तर माथि उठाउनका लागि कृषिमा अनुदानको व्यवस्था गरिएको भएपनि उदेश्य विपरित अनुदान गईरहेको शंका मन्त्री पराजुलीले व्यक्त गरेका छन् ।
कृषिका नाममा आउने आयोजनाहरुका कृषि विकास मन्त्रालय केवल साक्षीका रुपमा मात्र भएको बताउँदै मन्त्री पराजुलीले अर्थमन्त्रालयका उच्च अधिकारीहरुे आयोजना स्वीकृत गर्दादेखि नै आफू कुन ठाउँमा अटाउँछु भन्ने किसिमले आयोजनाको योजना तयार गर्ने र कृषि विकास मन्त्रालयलाई साक्षी मात्र राख्ने गरेको आफूले पाएको आरोप समेत लगाए ।
यदि कृषिको विकास गर्ने हो भने आयोजनाहरुमा कृषि मन्त्रालयका कर्मचारीहरु प्रयोग गर्न नहुने भन्दै हाल कृषि विकास मन्त्रालय मातहतका २७ सय कर्मचारी आयोजनामा काजमा गएकाले काम गर्न अत्यन्तै असहज भईरहेको बताए ।
स्थानीय विकास मन्त्रालयले सञ्चालन गरेको करेसाबारी आयोजना होस् वा कृषि विकास मन्त्रालयसँग समन्वय गरेको ‘किसान’ आयोजना किसानका पक्षमा नभएको मन्त्री पराजुलीले ठोकुवा समेत गरे । तर कर्मचारीहरु लोकमान सिंहको तरबारका डरले कान गर्न आँट नगरिरहेको समेत आरोप लगाए । किसान जस्ता धेरै आयोजनामा कृषि मन्त्रालयका सह सचिव ताली बजाउन मात्र पुग्ने गरेकोले त्यस्ता कार्यको अन्त्य गर्न मन्त्रीले निर्देशन समेत दिए । किसानका नाममा आएका आयोजनाहरु किसान कै खेतसम्म पुग्नु पर्ने उनको तर्क थियो । -कमला नेपाल

प्रकाशित मिति: बिहिबार, बैशाख १०, २०७२