शुक्रबार, चैत्र १६, २०८०

किसान आफै उत्रिए चिया प्रशोधनमा

इलाम, ७ वैशाख । कारखानाबाट चिया किसानले उचित मूल्य नपाएपछि आफ्नै लगानीमा हाते ड्रायर खरिद गरी चिया प्रशोधन गर्न थालेका छन् । हरियो चियापत्ती सुकाउने ड्रायर खरिद गरेर किसानले सामूहिक रुपमा चिया प्रशोधन गरेर चिया उत्पादन सुरु गरेका हुन् । केहीले घाममा सुकाएरसमेत हाते चिया बनाउने गरेका छन् । साँखेजुङ, सूर्याेदय नगरपालिका, बरबोटे, माइपोखरीलगायतका किसानले हाते चिया उत्पादन गर्न सुरु गरेका छन् ।
चिया कारखानाले न्यून मूल्यमा हरियोपत्ती खरिद गर्न थालेपछि १२ देखि १८ जनाको समूह बनाएर किसानले आफै प्रशोधन गर्दै आएका छन् । यसरी उत्पादन गरेको चिया प्रतिकिलो रु २०० सम्ममा बिक्री गर्ने गरेका छन् । इलाममा हाल एक दर्जन यस्ता प्रशोधन केन्द्र सञ्चालन गरेका छन् । हाते चिया स्थानीय बजारमा खपत भएपनि मुख्य बजार भने काठमाडाँैं हो ।
सा“खेजुङका तीन वटा घरेलु प्रशोधन केन्द्रबाट उत्पादन भएको हाते चिया गत वर्ष थोरै परिमाणमा युरोपका विभिन्न मुलुकमा निकासी भएको ‘दाहाल बन्धु’ हाते चिया उद्योगका मोतीराम दाहालले बताए । यस्ता घरेलु प्रशोधन केन्द्रहरूले दैनिक १०० देखि ५०० किलोसम्म हरियोपत्ती प्रशोधन गर्ने गरेका छन् । अहिले रु ३० देखि रु ४० प्रतिकिलोका दरले हरियो चियापत्तीको मूल्य कारखानाले दिन थालेका छन् ।

प्रकाशित मिति: सोमवार, बैशाख ७, २०७२