बिहिबार, बैशाख १३, २०८१

स्रोत र साधन नै किसानकहाँ पुग्न सकेको छैन

Bhartendra

डा. भारतेन्द्र मिश्र
सदस्य राष्ट्रिय योजना आयोग

० नेपालको कृषि क्षेत्र पछिल्लो समयमा अत्यन्तै चुनौतीका रुपमा बढेको छ भन्छन् नि ?
अहिले मात्र होइन विगतका केही बर्षदेखि नै कृषि क्षेत्र अत्यन्तै चुनौतीका रुपमा अगाडि बढिरहेको मैले महशुस गरेको छु । कृषि क्षेत्रमा धेरै नै समस्याहरु छन् त्यतातिर सम्वन्धित निकाय गम्भीर नभएको हो कि भन्ने मलाई लागेको छ । राष्ट्रिय योजना आयोगका तर्फबाट भन्ने हो भने पनि कृषिलाई प्राथमिकतामा राख्ने भन्ने कुरा भइरहेको छ । तर गतबर्षको बजेटलाई हेर्ने हो भने कृषिलाई प्राथमिकतामा पारिएको छ भन्ने कुराको आभाष भने भएको छ । आगामी बर्षको बजेटमा पनि यसले प्राथमिकता पाउँछ र हामी यस्ता चुनौतीलाई समाधान गर्न तर्फ अग्रसर हुनु पर्दछ ।
० त्यसो भए कृषि क्षेत्रको भविष्य त्यति धेरै राम्रो छैन ?
होइन, कृषि क्षेत्रको भविष्य धेरै नै राम्रो छ । हामीले कृषिमा सहि बाटो अंगाल्न सकेका छैनौं त्यही भएर हो । कुनै बेला अमेरिकाले नेपालबाट पिठो लैजान्थ्यो भने धान चामल हामी निर्यात गर्दथ्यौं । अहिले त्यो अवस्थामा छैनौं किन भने कृषिका कुरा भाषणमा गर्ने तर व्यवहारमा नगर्ने भएकाले यस्तो भएको हो । खासगरी भन्ने हो भने नीति निर्माताहरुले कृषिमा समस्या नै देखेन् । जुन किसिमले कृषिमा लगानी हुनु पर्ने थियो त्यो अनुपातमा कृषिमा लगानी भएको छैन । पछिल्लो समयमा कृषिमा लगानी बढ्दै गएको छ लगानी बढ्नु भनेको त्यसको भविष्य पनि उज्जवल छ भन्ने कुरा बुझ्नु जरुरी छ ।
० लगानी गरेको देखिएको मात्र हो वास्तविक रुपमा कृषिमा लगानी भएको छैन भन्छन् त ?
केही हदमा भन्ने हो भने यसलाई यथार्थ नै मान्नु पर्दछ छ । लगानी गरेर मात्र पनि हुँदैन कृषिमा गम्भीर भएर जनशक्ति नलाग्ने हो भने त्यसले उचित प्रतिफल दिन सक्दैन । हामी सहि रुपमा कृषि क्षेत्रको विकास गर्ने हो भने कृषिमा कार्यक्रमहरु इमान्दारितापूर्वक लागू गर्न सक्यौ भने हामीले धेरै नै गर्न सक्छौं ।
० किन हुन सकेन त ?
हाम्रो उर्वरभूमिहरु जहाँ धेरै उत्पादन हुन्थे ती जग्गाहरु कृषि उत्पादनका लागि भन्दा पनि अरु नै काममा प्रयोग हुन थाले । तर हामीले आएका नयाँ प्रविधिहरुलाई प्रयोग गर्न सकेनौं । म के भन्छु भने हामीले सवैभन्दा पहिलो प्राथमिकता कृषिमा लगानी बढाउनु पर्दछ अर्कोकुरा दक्ष जनशक्तिको सहि सदुपयोग हुनु पर्दछ । जवसम्म ग्रामिणभेगसम्म कृषिको प्राविधिक ज्ञान पु¥याउन सकिँदैन तवसम्म हामीले केही पनि गर्न सक्दैनौ । पानी बगाए जस्तो पैसा खर्च गरेर मात्र केही हुँदैन । कृषिमा गरेको लगानी सहि ठाउँमा सदुपयोग हुनु पर्दछ ।
० हामी खाद्यान्न आयात गरिरहेका छौ फेरि किन कृषि प्रधान देश भनिरहेका छौं ।
हामीले यथार्थतामा भन्ने हो भने मुलुकलाई कृषक प्रधान बनाउनु हुँदैन । जति विकासले फड्को मादै जान्छ त्यत्ति नै कृषि निर्भर हुनेको संखया पनि कम हुँदै जान्छन् । हामीले दक्ष जनशक्ति र प्रविधिको प्रयोग गरेर उत्पादकत्व बृद्धि गर्दै जाने हो भने हामीले विगतमा जस्तै मुलुकलाई कृषि प्रधान देशमा रुपमा पु¥याउन सकिन्छ । त्यसका लागि मेहनत गर्नु जरुरी छ । तर हामीले हेर्ने हो भने धेरै जिल्लाहरुमा खेतहरु बाँझै छन् त्यसको कारण भने मानिसहरु रोजगारीका कारण वा शिक्षा लगायत धेरै कारणहरुबाट वसाई सराई गर्ने क्रममा पनि छ । कृषिमा नै जीवन विताउँछु भन्नेहरु धेरै कम भेटिन्छन् जसका कारण हामीले चाहे जस्तो परिवर्तन गर्न सक्दैनौ ?
० अव कसरी हामीले भएका जमीनलाई सहि सदुपयोग गरी उत्पादकत्व बृद्धि गर्ने त ?
उत्पादकत्व बृद्धि गर्न नसकिने होइन । विगतमा कसरी उत्पादन बृद्धि हुन्थ्यो भन्ने कुरालाई पनि हामीले मध्यनजर गर्नु पर्दछ । हरेक घरमा दुई चारवटा गाईबस्तु हुन्थे । प्रांगारिक मल प्रयोग हुन्थ्यो र राम्रो उब्जनी पनि हुन्थो तर यतिखेर पशुपालन गर्ने मान्छे नै छैनन् । गाउँघरमा पशुपालन गर्ने मान्छे पाउन गाह्रो छ । दुईचार दर्जन पशु फार्म हेरेर त्यसको मल प्रयोग गर्दछु भन्ने कुरा हुँदैन । हामीले जति नै चर्का कुरा गरेपनि माटोको उर्वराशक्ति ह्रास हुँदै गएको छ । उर्वराशक्ति ह्रास भएपछि प्रविधिको विकास गर्न सकिएन । भन्न त नार्कले बढीपानी हुँदाका लागि फलानो जात, पानी नभएको ठाउँका लागि फलानो जात सिफारिस गरेका छौं भन्छ तर त्यो किसानसम्म कति पुगेको छ त भन्ने कुरालाई मध्यनजर गर्नुपर्दछ । कम उर्वराशक्ति भएको ठाउँमा कसरी बढी उत्पादन लिन सकिन्छ भन्ने कुरा किसानका पु¥याउन सक्नु पर्दछ । मल प्रयोग भएको र नभएको माटोमा उत्पादन उस्तै उस्तै भएको मैले पाएको छु । कारण माटोमा अम्लियपन बढ्यो । तर त्यही माटोका जाँच गरेर कुन बाली लगाउँदा बढी उत्पादन गर्न सकिन्छ भन्ने कुरा किसानमा जागरुक गराउन हामी पछाडि परेका छौं ।
० किन उत्पादकत्व बृद्धि गर्न तर्फ लागेका छैनौ त ? मन्त्रालयका कार्यक्रमहरु हेर्ने हो भने पनि त्यस्ता खालका कार्यक्रम देखिँदैनन्  ?
यो विषयमा म पनि धेरै चिन्तित छु । हामी कृषिमा व्यवसायिकताका कुरा गरिरहेका छौं । यान्त्रिकीकरणका कुरा गरिरहेका छौं तर किसानहरुले गर्न सकेका छन् किन छैनन् भन्ने कुरा हामीले कहिल्यै पनि सोचेनौ । त्यही अनुरुप हाम्रा कार्यक्रम लक्षित पनि भएनन् । जवसम्म किसानहरुका समस्यालाई समाधान गर्ने किसिमका कार्यक्रमहरु हामी लैजान सक्दैनौ भने उत्पादकत्व बृद्धि गर्न पनि सक्दैनौ । कुनै पनि जग्गामा किन उत्पादन बृद्धि हुन सकेन भन्ने कुरामा गम्भीर रुपमा सोचेर ग्रामीण तहसम्म हामीपुग्ने हो भने उत्पादकत्व बृद्धि गर्न सकिन्छ ।
० समस्या कहाँ छ त ?
समस्या जटिल छ । स्रोत र साधन नै किसानकहाँ पुग्न सकेको छैन । सिंचाई सुविधा किसानहरुले पाउन सकेका छैनन् । जुन बेला किसानका लागि मल वीउ आवश्यक पर्दछ त्यो बेला पाउन सकेका छैनन् । जुनबेला पानीको आवश्यक पर्दछ त्यही बेला पाउँदैनन् । अरु केही नगरी किसानहरुका साना साना समस्या मल,बीउ सिंचाईलाई मात्र ध्यान दिन सक्यौ र समयमा उपलब्ध गराउन सक्यौ भने समस्या धेरै नै समाधान गर्न सकिन्छ । -वैकुण्ठ भण्डारी

प्रकाशित मिति: आइतवार, बैशाख ६, २०७२