आइतवार, जेष्ठ १३, २०८१

गाईगोरु चराएरै आर्थिक उन्नति

cowउदयपुर, १ बैशाख-४ वर्षअघिसम्म पनि मलाई बिहान खाए बेलुकी के खाने र परिवार कसरी पाल्ने भन्ने चिन्ताले पिरोलिरहन्थ्यो । एकछाक टार्नकै लागि म गाउँमा भारी बोक्नेदेखि दाउरा चिर्नेजस्ता काम गर्थें । खेतबारीका नाउँमा मेरो एक चपरी जमिनसमेत छैन । ममात्रै होइन, मेरो गाउँ उदयपुर तपेश्वरीमा धेरैको हालत यस्तै छ । मंसिरमा अरुको घरभरि धानका बोरा देख्दा मेरो मन कटुक्क खान्थ्यो । वर्षभरि मेहनत गर्दा पनि मेरो घरमा एकबोरा धानसमेत जम्मा हुन हम्मे पथ्र्याे । छोराछोरी बिरामी हुँदा समयमै औषधिमुलो गर्नसमेत सक्दिनथें ।

सधैं अरुको घरमा मजदुरीमात्रै गरेर कसरी निर्वाह गर्ने ? म सधैंजसो यस्तै प्रश्नमा घोत्लिरहन्थें । सानोमा पढ्न सकिएन, अरु सीप पनि केही थिएन । यस्तो बेला मलाई के गर्ने भन्ने छटपटीले खान्थ्यो । एकदिन मलाई बिहानै एक्कासि एउटा नयाँ उपाय फु¥यो- गाउँभरिका गाईबस्तु एकै ठाउँमा चराइदिने । मेरो गाउँमा धेरैले गाईवस्तु पालेका छन् तर २\३ वटा वस्तु चराउन पनि एकजना सिंगै गोठालो बस्नुपथ्र्यो । उनीहरु सबैका गाईवस्तु दिनभर म र मेरी श्रीमतीले मात्रै पनि चराउन सक्छौं भन्ने लाग्यो र गाउँलेसँग यो प्रस्ताव राखें । मेरो कुरा सुनेर उहाँहरु पनि खुसी हुनुभयो । अहिले म ५५ घरका गाईवस्तु दिनभर आफैं चराइदिन्छु । यसमा भारी बोक्ने, दाउरा चिर्नेजस्तो मेहनत पनि पर्दैन र गाउँलेहरुले पनि ढुक्कको गोठालो पाएका छन् ।

गाउँलेका गाईगोरु चराएरै मेरो परिवारमा नसोचेको आर्थिक उन्नति भएको छ । अहिले बिहान १० देखि बेलुकी ४ बजेसम्म करिब १५० गाईगोरु गाउँकै विभिन्न खाली चौरीमा लगेर चराइदिन्छु । यसमा श्रीमतीले पनि साथ दिइरहेकी छन् । एउटा गाई वा गोरु १ वर्ष हेरिदिएबापत वर्षको एक मन (४० किलो) धान लिने गरेको छु । गत वर्षमात्रै ५० मन (२ हजार किलो) धान बेचें । दिनभरि भारी बोकेर २ सय रुपैयाँ कमाउनुभन्दा यो पेसा कति हो कति उत्तम लागेको छ । यही कामले परिवारमा आर्थिक उन्नति र खुसीको बहार ल्याएको छ ।
मेरो हिजोको अवस्था देख्नेहरु आज भेट्दा जोकोही पनि छक्क पर्छन् । अहिले त मैले आफ्नै कमाइले २ छोरालाई विदेश पठाएको छु । उनीहरुको कमाइले मेरो बुढेसकाल त्यति दुखद हुँदैन भन्ने लागेको छ । श्रीमतीले सुकिलो सारी चोलो लगाएको देख्दा हिजोको दिन सम्झन्छु, त्यतिबेला मन भावविह्वल हुन्छ ।  खिर खान मन लागे पनि खाएकै छु, समयसमयमा मासु खान पनि पाइएको छ । आफ्नै मोबाइल छ, छोराहरुले फोन गरिरहन्छन् ।

यो वर्षका लागि जम्मा भएको करिब १ सय बोरा धान वर्षभरिमा घरमै खपत हुन्छ । अझै ४० बोराजति उठाउन बाँकी छ । ३ वर्षदेखि धान बेचेर जम्मा पारेको पैसाले भर्खरै २ छोरालाई साउदी अरब पठाएको थिएँ र यसै वर्ष ६० हजार रुपैयाँ खर्च गरेर शौचालय पनि बनाएको छु । हाम्रा छिमेकी सदा जातिलाई चर्पीबाहिरै दिसा गर्ने भनेर हेला गरिन्थ्यो तर मैले पक्की शौचालय बनाएपछि गाउँलेहरु पनि छक्क परेका छन् ।
मेरो यही कामले ६ जनाको परिवारको पेट भरिएको हो । त्यसैले आफू हिँड्न र आँखा देख्न सकुन्जेल गाईगोरु चराइरहनेछु । गाउँलेले पनि गाई चराउने समयलाई अन्य उत्पादनमूलक काममा खर्च गर्न थालेका छन् । केटाकेटी विद्यालय जान पाएका छन् । हिजोआज धेरैले मलाई विष्णुदेव जिल्लाकै धनी सदा हो भनेको सुन्दा खुसीले मन फुल्छ ।   प्रस्तुति : गोपाल पोखरेल, कारेबार

प्रकाशित मिति: मङ्लबार, बैशाख १, २०७२