मङ्लबार, बैशाख ११, २०८१

दोलखाबाट एक अर्वको आलु निर्यात

potatoदोलखा, २५ चैत्र । दोलखाको मुख्य उत्पादन आलु बिक्रिबाट किसानले यो वर्ष एक अर्ब रुपैयाँ कमाउन सफल भएका छन् । जिल्ला बाहिर आलु निर्यात गरी किसानले एक अर्ब आम्दानी गरेको जिल्ला कृषि विकास कार्यालय दोलखाले जनाएको छ ।
कार्यालयका प्राविधिक सहायक नेत्रमणी काप्mलेका अनुसार जिल्ला स्थित मालुखोला, सिगटी, जिरी र मागापौवा गरी चार ओटा सेवा केन्द्र, समूह, सहकारीहरु र व्यक्तिगत समेतबाट लिएको तथ्याङ्क मुताविक यो देखिएको हो ।
दोलखा आलु उत्पादन हुने जिल्ला मुख्य हो । यो वर्षको कुल उत्पादन ३६ हजार मेट्रिक टन छ । तीन हजार हेक्टर आलु उत्पादन हुने क्षेत्र रहेको छ । प्रतिहेक्टर १२ हजार मेट्रिक टन आलु उत्पादन हुन्छ । आवश्यक बिऊका लागि छ हजार, जिल्लामै खपत १० हजार र २० हजार मेट्रिक टन आलु बाहिर निर्यात भएको हो जिल्ला कृषि विकास कार्यालयलको तथ्याङ्कले देखाएको छ ।
गाउँमा उन्नत प्रविधि पुग्न नसक्दा परम्परागत रुपमै आलु खेती हुने गरेको भूषाभेदा–२ का किसान इन्द्र तामाङ बताउँनु हुन्छ । काठमाडौँमा थाङ्का बुनेर बस्ने गाउँका युवाहरुको पनि अहिले आलुखेती प्रति झुकाव हुन थालेको छ । यसपाली खेतको दुई लाख र बारीको ६० हजारको आलु बिक्रि गरेको तामाङ बताउछन् । १०÷२० हजारको आलु नबेच्ने कोही छैन । गाउँमा भण्डारणको व्यवस्था नहुँदा सस्तैमा बेच्नु पर्ने बाध्यता त छँदैछ, बिचौलियाले बेस्सरी नाफा कमाउने मौका पाएको तामाङको गुनासो छ ।
दोलखा उच्च पहाडी क्षेत्र र चिसो हावापानी भएकाले आलुखेतीका लागि उर्वरा योग्य जमिन छ । यहाँको आलु खूबै स्वादिलो हुन्छ । मुँडेको भनिने आलु यहीँकै उत्पादन हो । किसानहरु खेतमा फागुनदेखि असोजसम्म र बारीमा साउनदेखि फागुनसम्म आलु खनेकै खनेइ गर्छन् । यहाँ नयाँ प्रविधि र भण्डारणको व्यवस्था हुने हो भने आलुबाटै राम्रो आयआर्जन गरी जीवनस्तर उकास्न सकिने किसानहरुको कथन रहेको छ । आलु खेती गर्दै आएका किसानलाई तालिम, गुणस्तरीय नयाँ जातको बिजन समेत सेवा केन्द्रमार्फत उपलब्ध गराउने प्रयास भईरहेको जिल्ला कृषि विकास कार्यालय दोलखा बरिष्ठ कृषि विकास अधिकृत बैआलाल चौधरीले कृषि अनलाईनलाई जानकारी दिएका छन् । – शेरबहादुर भुजेल

प्रकाशित मिति: बुधबार, चैत्र २५, २०७१