शनिबार, बैशाख ८, २०८१

मौरी चरनमा समस्या

beeझापा, २४ चैत । झापाका मौरीपालक किसानले मौरी चरनमा समस्या भएको बताएका छन् । भद्रपुरस्थित कलवलगुढीमा सोमबार आयोजित ६ दिवसीय मौरीपालन तालिमको समापन समारोहमा सहभागी किसानले सो कुरा बताएका हुन् । व्यावसायिक कीट विकास निर्देशनालय हरिहरभवनले आयोजना गरेको तालिममा झापाका ३७ र उदयपुरका २० मौरीपालक किसान सहभागी थिए । सहभागीमध्ये अधिकांशले मौरी चरनमा समस्या भएको बताएका हुन् ।
तालिममा सहभागीमध्ये सतासी महिला मौरीपालक सहकारी संस्थाकी व्यवस्थापक देवीमाया दाहालले मौरी चराउन ठाउँको अभाव भएको र मौरी चराउन ढुवानीका लागि सरकारले सहुलियत दरमा ऋण उपलब्ध र सवारीसाधनको व्यवस्था गर्न माग गरिन् ।
यसैगरी मोहन तिम्सिना र धनमाया थापाले समेत मौरी चरनमा समस्या भएकाले किसानका लागि सरकारले सहयोग गर्नुपर्ने बताए ।
जिल्ला कृषि विकास कार्यालय झापाको संयोजनमा भएको कार्यक्रममा व्यावसायिक कीट विकास निर्देशनालयका कार्यक्रम निर्देशक जगदीशभक्त श्रेष्ठले सरकारले कृषि विकासका लागि नयाँ योजना ल्याएको र योजनाअनुरुप किसानका लागि सरकारले छिट्टै विशेष कार्यक्रम ल्याउने जानकारी दिए ।
यसैबीच तालिममा सहभागी किसानलाई २० घार मौरी अनुदान दिइने बताइएको छ । हाल झापामा एक हजार २०० घार मौरीपालन हुँदै आएको र यो वर्षबाट दुई हजारभन्दा बढी घार मौरी पाल्न थालिएको जिल्ला कृषि विकास कार्यालय झापाका प्रमुख मेघनाथ तिमल्सेना बताए ।

प्रकाशित मिति: मङ्लबार, चैत्र २४, २०७१