मङ्लबार, बैशाख ४, २०८१

काभ्रेमा दुग्ध प्रशोधन केन्द्र बन्दै

काभ्रे, २३ चैत । ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोकको कुशादेवीमा रु २० लाखको लागतमा दुग्ध प्रशोधन केन्द्र स्थापना हुने भएको छ । प्रशोधन केन्द्रका लागि ४० लिटरको पाँच थान क्यान, ५०० लिटरको ब्याच पास्चुराइज, ५०० लिटरको चिलिङ भ्याट, दुई वटा ५०० लिटरको डिफ्रिज, १२० लिटरको खुजा बनाउने मेसिन, दुई हजार ८०० किलोवाटको जेनेरेटर, पनिर फ्रेस मेसिनसहित रु ११ लाखबराबरको सामग्री खरिद गरिएको उद्योग वाणिज्य सङ्घ, काभ्रेपलाञ्चोकले जनाएको छ ।
प्रशोधन केन्द्रसँग १३ वटा कृषक समूहका करिब १९२ जना कृषकसमेत आबद्ध छन् । “हामीले कृषकसँग सेयर राख्नसमेत अनुरोध गरेका छाँै”, सङ्घका अध्यक्ष सुरकृष्ण वैद्यले भने ।
उनले सो प्रशोधन केन्द्रबाट दूध, घ्यू, पनिर, खुवा, पुष्टकारी उत्पादन गर्ने र त्यसलाई बनेपामा रहेको बिक्री केन्द्रमार्फत बिक्री वितरण गर्ने जानकारी दिएका छन् ।
काभ्रे उद्योग वाणिज्य सङ्घका कार्यकारी सचिव पूर्णसागर रञ्जितले प्रशोधन केन्द्रको भवन निर्माणाधीन अवस्थामा रहेको उल्लेख गर्दै प्रशोधन केन्द्रबाट गुणस्तरीय उत्पादनमा जोड दिइने बताए ।

प्रकाशित मिति: सोमवार, चैत्र २३, २०७१