बिहिबार, बैशाख १३, २०८१

काभ्रेमा कुखुरापालन फस्टाउँदै

henकाभ्रे,२३ चैत्र । कुखुराजन्य उत्पादनमा नेपालकै दोस्रो जिल्ला काभ्रेमा मासु प्रशोधन केन्द्र बन्ने भएको छ । कृषि विकास मन्त्रालयको ओडीओपी अर्थात् ‘एक जिल्ला, एक उत्पादन’ कार्यक्रमअन्तर्गत बनेपामा केन्द्र बन्ने भएको हो । काभ्रे उद्योग वाणिज्य संघले बनेपामा सरोकारवालाहरूसँग अन्तरक्रिया गरी केन्द्र स्थापनाको प्रस्ताव मन्त्रालयमा पठाएको छ । कुखुरापालक कृषकको संख्या बढिरहेको भए पनि मासु प्रशोधन केन्द्र नहुँदा कृषकले बिक्री गर्ने समयमा निकै समस्या झेल्नुपरेको भन्दै केन्द्र स्थापनाका लागि प्रस्ताव पठाइएको संघका अध्यक्ष सुरकृष्ण वैद्यले जानकारी दिए । नेपालमा चितवन कुखुरा उत्पादनमा पहिलो जिल्ला हो ।

उद्योग वाणिज्य संघले प्रस्तावका लागि मासु, डेरी र गोलभेंडा प्रशोधन केन्द्रको विकल्प राखेको थियो । जिल्ला पशु विकास कार्यालयका अनुसार जिल्लामा हजारभन्दा बढी कुखुरा पाल्ने ३००, ५ सयभन्दा बढी पाल्ने ७०० र २०० भन्दा बढी पाल्ने १ हजार कृषक छन् । जिल्लामै मासु प्रशोधन केन्द्र नहुँदा कृषक जिउँदै खुकुरा सस्तोमा बेच्न बाध्य छन् । “उत्पादन गरे पनि आम्दानीको आधाभन्दा बढी बाहिरै जान्छ,” संघका अध्यक्ष वैद्यले भने, “प्रशोधन केन्द्र बने जिल्लामा कुखुरा पालन गर्ने कृषकको संख्या अझ बढ्नेछ ।” गाउँदेखि सहरसम्म कुखुरापालन फष्टाइरहेको छ । कुखुरा पालन व्यवसायमा युवा आकर्षण बढी देखिएको छ । जिल्लामा मासुका लागि राँगा, भैंसी पनि प्रयोगमा आउने गरेका छन् । जिल्लामा अण्डा दिने लेयर्स कुखुरा फार्म २५ वटा छन् । ती फार्ममा रहेका झण्डै लाखभन्दा बढी कुखुराबाट दैनिक ८५ हजार अण्डा बिक्रीका लागि बजार आउने गरेको छ ।

कृषि मन्त्रालयले ‘एक जिल्ला, एक उत्पादन’ कार्यक्रमअन्तर्गत १३ वटा जिल्लामध्ये काभ्रे पनि छनोट भएको थियो । मन्त्रालयको सम्भाव्यता सकारात्मक भए चालू आर्थिक वर्षबाटै केन्द्र स्थापनाको काम अघि बढ्नेछ । मन्त्रालयले मेसिन खरिद र भौतिक संरचनामा कुल लागतको ५० प्रतिशत बेहोर्नेछ । जग्गा खरिद र सञ्चालनका लागि कृषक र सहकारी संस्थाले १५ प्रतिशत, उद्योग वाणिज्य संघको ५ प्रतिशत र निजी क्षेत्रको ३० प्रतिशत लगानीमा केन्द्र स्थापना गर्नुपर्ने मापदण्ड बनेको छ । वाणिज्य संघको प्रस्ताव मन्त्रालयले स्वीकृत गरे कम्तिमा २ करोडमा मासु प्रशोधन केन्द्र स्थापना हुनेछ ।

पाँचखाल नगरपालिकामा नेपालकै पहिलो र एकमात्र ‘ग्रेन्ड प्यारेन्ट अर्थात् कुखुराको वंशज उत्पादन र प्यारेन्ट स्टक ह्याचरी फार्म सञ्चालनमा छ । पशु विकास कार्यालयका निमित्त वरिष्ठ पशु विकास अधिकृत राजकुमार हुमागाईंले जिल्लामा झण्डै ६० हजार प्यारेन्टबाट प्रतिसाता २ लाख ७५ हजारदेखि ३ लाखसम्म चल्ला उत्पादन भइरहेको जानकारी दिए । उत्पादित चल्लाको ४५ प्रतिशत जिल्लामा खपत हुन्छ भने बाँकी ५५ प्रतिशत चल्ला देशका विभिन्न जिल्लामा बिक्रीका लागि जाने गरेका छन् ।प्रशोधन केन्द्रले सानादेखि ठूला व्यवसायीलाई समेत लगानीका लागि ढुक्क हुने अवस्था सिर्जना हुने धुलिखेल नगरपालिका–७ स्थित प्रभात ह्याचरीका प्रोप्राइटर एवं नेपाल ह्याचरी संघका पूर्वअध्यक्ष ईश्वरी शर्माले बताए । “व्यवसायमात्रै विस्तार हुँदैन, उपभोक्ताले स्वथ्यकर मासुसमेत खान पाउँछन्,” उनले भने । उद्योग वाणिज्य संघले ०७० सालदेखि सञ्चालन गरेको ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रमअन्तर्गत अहिले कुशादेवी र पात्लेखेत गाविसमा दूधजन्य सामग्री उत्पादनको काम भइरहेको छ । प्रकाश सुन्दास

प्रकाशित मिति: सोमवार, चैत्र २३, २०७१