बिहिबार, बैशाख १३, २०८१

अकबरे खुर्सानीको व्यावसायिक खेती

ललितपुर, १९ चैत । पछिल्लो समय ललितपुरमा अकबरे खुर्सानीको व्यावसायिक खेती सुरु भएको छ । बेर्ना सारेको पाँच वर्षसम्म आम्दानी दिने गरेकाले व्यावसायिकरुपमा समेत अकबरे खुर्सानीको उत्पादन नाफामूलक मानिन्छ । उत्पादनअनुसारको बजारभाउ राम्रो प्राप्त हुने भएकाले यसको व्यावसायिक खेतीतर्फ कृषक लागिपरेका ललितपुर कृषि विकास कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकृत हरि पण्डितका अनुसार अहिले यो व्यवसाय गर्ने किसानको सङ्ख्या एकिन नभए पनि राम्रो बजार भाउ पाउने, रोपेको लामो समयसम्म पनि आम्दानी लिन सक्ने, हरियो हुँदा टिप्न नसक्दा समयको अभावमा सुकाएर पनि बेच्ने मिल्ने भएकाले कृषक यस व्यवसायप्रति आकर्षित भएका छन् ।
जिल्लाका मुख्य तरकारीखेती हुने टीकाथली, लुभू, लामाटार, विशङ्खुनारायण, कालेश्वरलगायतका स्थानमा अकबरे खुर्सानीको व्यावसायिक खेती हुने गरेको छ । विशङ्खुनारायणका तरकारी व्यवसायी धु्रब बस्नेतले एक रोपनी जग्गामा यसको खेती गर्दै आउनुभएको छ । उहाँका अनुसार यो खुर्सानीले सुरुको वर्ष प्रतिबोट एककिलो आम्दानी दिए पनि दोस्रो, तेस्रो र चौथौँ वर्षमा एकै बोटबाट पाँचदेखि सात किलोसम्म आम्दानी दिएको थियो ।

प्रकाशित मिति: बिहिबार, चैत्र १९, २०७१