शुक्रबार, बैशाख ७, २०८१

चितवनमा भारतीय केरा भित्रियो

चितवन, १५ चैत । केरामा आत्मनिर्भर रहेको भनिएको चितवनमा भारतीय केरा भित्रिन छाडेको छैन । केरा व्यवसायी सङ्घ चितवनका अध्यक्ष यज्ञ सुवेदीका अनुसार अनुगमनका क्रममा दैनिक ४०० घरीको हाराहारीमा भारतीय केरा चितवन भित्रिने गरेको पाइएको बताए । केराका पातसहित यहाँ आउने केराका कारण भारतबाट रोगसमेत भित्रिन सक्ने सम्भावना बढेको उनले बताए ।

विभिन्न रोगले तथा हावाहुरीले सताइरहँदा आफ्नो बजारमा भारतबाट भित्रिने केराले थप समस्यामा पारेको किसानहरू बताउँछन् ।
चितवनमा केराखेतीको विकास र विस्तारका लागि ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमसमेत सञ्चालन गरिएको छ । उक्त कार्यक्रमकै कारण जिल्लामा केराखेतीको व्यवसायीकरण भएको र मूल्य तथा बजारसमेत प्रभावकारी भएको उद्योग वाणिज्य सङ्घ चितवनले जनाएको छ ।
चितवनमा गएको वर्ष करिब रु ४० करोडको केरा बिक्री भएको थियो । जिल्लामा अहिले क्षेत्र विस्तार भई एक हजार ६०० बिगाहाभन्दा बढी क्षेत्रमा केराखेती हुन थालेको छ । यहाँ ४०० केरा व्यवसायीहरू रहेका छन् ।
जिल्लामा सार्वजनिक गरिएको पछिल्लो कृषि गणनामा पनि केराखेतीमा वृद्धि भएको देखाएको छ । १० वर्षको तुलना गर्दा तीन सय बिगाहाबाट एक हजार ६०० बिगाहामा केराखेती भएको तथ्याङ्कले देखाउँछ ।

प्रकाशित मिति: आइतवार, चैत्र १५, २०७१