शनिबार, बैशाख १, २०८१

दोलखामा पाँच करोड अलैचीको विरुवा उत्पादन हुँदै

alaichiदोलखा, १४ चैत्र । दोलखाको पूर्वी दक्षिणी क्षेत्रको झुले गाउँ विकास समितिमा व्यावसायिक अलैँची खेती सुरु गरिएको छ । झुलेका किसान अहिले संगठित रुपमा अलैँची खेतीमा जुटेका छन् ।
अलैँची उत्पादन तथा व्यवस्थापन समूह स्थापना गरि सो व्यावसायिक खेती सुरु गरिएको हो । पाँच वर्षभित्र पाँच करोड बिरुवा उत्पादन गरि जिल्लाभरि नै विस्तार गर्ने लक्ष्य समूहको छ । समूहका अध्यक्ष भवेन्द्र कार्कीका अनुसार गाविसभरिकै १३ मिश्रित र नौ महिला मात्र गरि कुल २२ समूह छन् । सबै समूहले ८÷१० रोपनी जग्गामा अलैँची खेती गरेका छन् । महिला समूहले भने खेतीका अतिरिक्त उनीहरुले नै निर्णय गरि वचत सङ्कलन तथा ऋण प्रवाह पनि गरेका छन् । जिल्ला शिक्षा कार्यालयले सामुदायिक अध्ययन केन्द्रमार्फत् १० हजार रुपैयाँ सहयोग गरेको थियो । त्यसैबाट सुरु भएकोमा अहिले उनीहरुले पनि मासिक वचत गरी सदस्यहरुबीच आयआर्जनका लागि निश्चित व्याजमा ऋण प्रवाह समेत गर्ने गरेका छन् ।
गाविसमा पहिलो थालनी गर्ने स्थानीय अमर उमाविले आप्mनो ७० रोपनी जग्गामा अलैँची खेती गरेको हो । उमाविले यसपाली ८० किलो अलैची उत्पादन गरेको थियो । अरु सदस्यहरुको पनि १०/१५ किलो उत्पादन भएको थियो । बजारको अभाव छैन, गाउँमै प्रतिकिलो दुई हजारमा अलैँची र प्रतिगोटा दस रुपैयाँमा बिरुवा बिक्रि हुन्छ । नर्सरीलाई जिल्ला कृषि विकास कार्यालयले पनि सामान्य सहयोग गरेको छ ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार दोलखाको सुरी, पवटी, काब्रे र मिर्गे गाविसमा अलैँची नर्सरी स्थापना भएका छन् । नर्सरी स्थापनाका लागि बीउ र तालिम तथा क्षेत्र विस्तारका लागि बिरुवा वितरण गरिएको छ । जिल्लाको दुई ६१ हेक्टर खेतीयोग्य जमिनमध्ये अहिले ५० हेक्टरमा २२ मेट्रिक टन अलैँची उत्पादन भएको छ । अध्यक्ष कार्कीका अनुसार झुले गाविसमा मात्र आठ ओटा नर्सरी छन् । नर्सरीमा आठ÷दस हजार बिरुवा छन् । जिल्लामा भएको उपयुक्त जग्गामा अलैँची खेती गर्न लगाउन सबैलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ । पाँच वर्षभित्र पाँच करोड बिरुवा उत्पादन गरि खेतीको व्यापक विस्तार समेत गर्दै आयआर्जनमा तल्लीन तुल्याउने पनि समूहले लक्ष्य राखेको छ ।
अध्यक्ष कार्कीले आफ्ने ९१ रोपनीमा बिजु बिरुवा रोप्नु भएको छ । सात रोपनीमा यसपालि नै बिक्रीवितरण हुने छ लाख बिरुवा तयार छन् । बिक्रीपछि मात्र आम्दानी एकिन हुने उनले कृषिसँग बताए । झुले गाविसमा २०६८ देखि नै व्यावसायिक खेती गरिएको हो । किसानले प्रत्येक असारको ३० गते अलैँची दिवस मनाउँदै आएका छन् । यसलाई निरन्तरता दिने समूहको निर्णय भएको छ । अध्यक्ष कार्कीका अनुसार जिल्लाभरि नै अलैँचीको खेती गर्न, मूल्यमा एक रुपता कायम गर्न, उन्नत बीउ र प्रविधिको प्रयोग गराउन जिल्लामा अलैँची उत्पादन तथा प्रवद्र्धन संघको स्थापना भएको छ । सबै समूहहरुको छाता सङ्गठन भएकाले विधान निर्माण गरि विधिपूर्वक दर्ता पनि गर्न लागिएको छ । तेश्रो वर्षबाट मात्र उत्पादन दिने लाँक्रे बिरुवा पाँच वर्षमा वयस्क हुने र राम्रो उत्पादन दिन थाल्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । बिजु बिरुवा भने पाँच वर्षबाट मात्रै उत्पादन दिन थाल्ने र सात वर्षमा वयस्क हुने र यसको आयु ३० बर्षको हुने जिल्ला कृषि विकास कार्यालय दोलखाका बरिष्ठ कृषि विकास अधिकृत बैआलाल चौधरी बताए । १५ सयदेखि २२ सय मिटरसम्म गोल्साई र रामसाई, त्योभन्दा तल डम्बरसाई र सुख्खा क्षेत्रमा जिर्मलेसाई जातका अलैँची खेती गर्न सकिने कार्यालयले जनाएको छ । -शेरबहादुर भुजेल

प्रकाशित मिति: शनिबार, चैत्र १४, २०७१