शुक्रबार, बैशाख ७, २०८१

खेतमै उखु सुक्न थाले

पथरी (मोरङ), १३ चैत । खेतमै उखु सुक्न थालेपछि मोरङका उखु कृषक चिन्तित भएका छन् ।  माघ फागुन महिनामा काट्नुपर्ने उखु सुनसरीको इस्टन चिनी मिलले कृषकलाई कटान पूर्जी नदिएकाले खेतमै उखु सुक्न थालेको हो । समयमै उखुको पैसा नदिने र बेलैमा उखु नकिन्ने चिनी मिलको समस्याले गर्दा कृषक चिन्तित भएका हुन् । चैत १५ बित्नै लाग्दासमेत चिनी मिलले कृषकलाई कटानपूर्जी नदिएकाले उखु खेतमै सुक्न थालेको मोरङ कदमहाका कृषक भोला सरकारले बताए ।

सिँचाइ अभावका कारण आफूहरू उखु लगाउन बाध्य भएको कृषकको भनाइ छ । जति समय बित्यो त्यति उखु हलङ्गो हुने भएकाले चिनी मिलले ढिलो कटान पूर्जी दिने गरेको कृषकहरूको भनाइ छ । उखु किसान सदानन्द सरदार कृषकले चाहेको समयमा उखु काट्न र बेच्न नसक्ने बताउनुहुन्छ । उनका अनुसार चिनी मिलले जहिले उखु काट्ने पूर्जी दियो त्यही दिन काट्नुपर्ने र उखुको पैसा लिन वर्षौँ कुर्नुपर्ने कृषकहरूको बाध्यता रहँदै आएको छ । उखु कृषकमाथि चिनी मिलले चरम शोषण गरेको कृषकहरूको आरोप छ । चिनी मिलले बेलैमा उखु नकिन्ने र उखुको पैसासमेत समयमै नदिने गरेका कारण उखु कृषक मारमा पर्दै आएका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत्र १३, २०७१