बिहिबार, चैत्र १५, २०८०

ऊखुको मूल्य प्रतिक्विन्टल ४६१

sugger acnकाठमाडौं, १३ चैत  – सरकारले चालू आर्थिक वर्षका लागि उखुको मूल्य प्रतिक्विन्टल ४६१ रुपैयाँ तोकेको छ । यो गत वर्षको भन्दा ११ रुपैयाँ कम हो । गत वर्ष मूल्य अभिवृद्धि कर (भ्याट)सहित प्रतिक्विन्टल ४७२ रुपैयाँ थियो । यद्यपि, चिनी उद्योगीहरुले भने यो मूल्य नमान्ने बताएका छन् । उद्योग मन्त्रालयले कृषि मन्त्रालयसँग समन्वय गरी चालू वर्षका लागि भ्याट र उखुको प्रवद्र्धन खर्चसहित ४६१ रुपैयाँ मूल्य तोकेको मन्त्रालयका सहसचिव जितबहादुर थापाले जानकारी दिए । मन्त्रालयले सोही मूल्यमा खरिद गर्न चिनी उद्योगीलाई अनुरोध गरेको छ । आगामी वर्षदेखि प्रवद्र्धन खर्च उपलब्ध नहुने व्यहोरासहित मूल्य निर्धारण गरिएको थापाले बताए ।
उखु क्रसिङको समय सकिन लाग्दासम्म उद्योगी र कृषकबीच विवाद नसुल्झिएपछि सरकारले मूल्य तोकेको हो । यही विषयलाई लिएर उद्योगी र कृषकबीच विवाद बढेपछि सरकारले फागुन १४ गते कृषि मन्त्रालयसँग समन्वय मूल्य तोक्न उद्योग मन्त्रालयलाई निर्देशन दिएको थियो । फागुन २० गते संसदीय समितिले समेत छिटो मूल्य तोक्न कृषिलाई निर्देशन दिएको थियो । चिनी उद्योगीले भने यो मूल्य नमान्ने भएका छन् । “सरकारले निर्देशन दिँदैमा हामी यो मूल्यमा उखु किन्न सक्दैनौं,” नेपाल चिनी उत्पादक संघका अध्यक्ष शशीकान्त अग्रवालले भने, “अन्तर्राष्ट्रिय बजारमै चिनीको मूल्य घटिरहँदा ४६१ रुपैयाँ मान्य हुँदैन ।”
चालू वर्षका लागि भ्याटसहित ४३६ रुपैयाँभन्दा बढी दिन नसकिने उनले बताए । सरकारले प्रवद्र्धन खर्च दिने हो भनेमात्र ४६१ मा राजी हुन सक्ने उनको भनाइ छ । “तर सरकारले मूल्य तोकेको कुरा हामीलाई अहिलेसम्म औपचारिक जानकारी छैन ।”
गत वर्ष सरकारले जबर्जस्ती ४७२ रुपैयाँ दिन लगाएको गुनासो उनले गरे । “त्यही कारण अहिले हामीलाई भुक्तानी गर्न समस्या भइरहेको छ,” उनले थपे, “पोहोर नै हामीले लागत मूल्यअनुसार ४२० रुपैयाँमात्र दिन सकिने भनेका थियौं ।” चिनीको मूल्य गत वर्षभन्दा १२ रुपैयाँसम्म घटेकाले उखुलाई यो वर्ष भ्याटसहित ४३६ रुपैयाँभन्दा बढी दिन नसकिने उनले बताए । उद्योगीका अनुसार गत वर्ष यही समयमा चिनीको कारखाना मूल्य प्रतिकिलो ६४ रुपैयाँ रहेकोमा हाल ५२ रुपैयाँमात्र छ ।

प्रकाशित मिति: शुक्रबार, चैत्र १३, २०७१