शुक्रबार, बैशाख ७, २०८१

स्थानीय गोरसबाट क्यान्सर जस्ता भयानक रोग नलाग्ने 

cow milk medician for cancer tooस्थानीय जातका गाईको दूध र दूधजन्य परिकारबाट क्यान्सरलगायतका कतिपय जटिल रोग निको हुने अनुसन्धानबाट पुष्टि भएको छ । राष्ट्रिय जनावर भए पनि गाईमाथि नकारात्मक दृष्टि बढिरहेका बेला यसको संरक्षणका लागि बृहत् अभियान सुरु गरिएको छ । सरकारले जर्सी गाईलाई सहुलियत दिएर स्थानीय जातका गाईलाई बेवास्ता गरेको भन्दै अभियानकर्ता यसमा जुटेका हुन् । जर्सी गाईबाट आउने दूध, दही, घ्यू स्वास्थ्यका लागि राम्रो नभएको वैज्ञानिक अनुसन्धानबाट समेत प्रमाणित भइसकेको ती अभियानकर्ताले बताएका छन् । ‘शास्नादी मत्वंगोत्वं ककुद् वत्वं गोत्वं’ अर्थात् जसमा माला र जुरो हुन्छ, त्यो नै गाई हो । स्थानीय गाई गोरुमा जुरो हुन्छ । स्थानीय गाई गोरु प्राकृतिक हुन् भने जर्सी गाई गोरु कृत्रिम हुन् भन्ने तथ्य वैज्ञानिक अनुसन्धानबाट समेत प्रमाणित भएको छ । स्थानीय गाई गोरुमा हुने जुरोले सूर्य र चन्द्रमाबाट आउने किरणलाई तान्ने (अवशोषण) गर्ने काम गर्छ । यो जुरोलाई सूर्यकेतु नाडी भनिन्छ । सूर्यकेतु नाडीले सूर्य र चन्द्रमाबाट लिएको किरण शक्तिका रुपमा गाईको दूध, गहुँत र गोबरमा प्रकट हुन्छ । यसरी प्रकट भएको शक्ति र ऊर्जाले नै मानिसलाई विभिन्न भिटामिनयुक्त तत्व प्रदान गर्ने भएकाले गाईको दूध, दही, घ्यू, गहुँत र गोबर पवित्र मानिएको स्थानीय गाईको अध्ययन अनुसन्धानमा लागेकाका गोब्रती योगी सोमराजले बताए । उनले भने – “स्थानीय गाईको दूधमा ‘ओमेगा ३’ नामक तत्व पाइन्छ, जसले स्मरण शक्ति बढाउने काम गर्दछ । त्यसैगरी गाईको दूधमा पाइने सेरी ब्रोसाइड नामक तत्वले कुनै पनि खालका क्यान्सर हुन दिँदैन । गोमूत्रमा कक्र्युमिन नामक तत्व पाइन्छ, जुन ‘एन्टी क्यान्सर ड्रग’ हो भन्ने तथ्य वैज्ञानिकरुपमा प्रमाणित भएको छ । यसले क्यान्सर रोग लाग्नबाट समेत बचाउँछ । गौमूत्रमा अन्य २४ वटा तत्व पाइने र यसले मानव शरीरका सम्पूर्ण आवश्यकतालाई पूर्ति गरी निरोगी बन्न सहयोग पुरयाउँछ ।”

इटालीमा प्राजि ई बिंगेडले गाईको गोबरमाथि अनुसन्धान गरी क्षयरोग र मलेरियाका किटाणुलाई मार्ने अद्भूत क्षमता हुन्छ भन्ने प्रमाणित गरे । नपुंसकता, चिडचिडापन, मधुमेह, उच्च रक्तचाप, बाथ, मिर्गौलाले काम नगर्ने जस्ता रोग आधुनिक कृषि प्रणालीका उपज हुन् । गाईको गहुँत र गोबरबाट बनेको प्राङ्गारिक मलको प्रयोग गरेर गरिने खेतीबाट यस्ता रोग लाग्ने अनाज उत्पादन नहुने तथ्य वैज्ञानिकरुपमा प्रमाणित भएपछि अहिले युरोप र अमेरिकाका सहरमा प्राङ्गारिकखेती गर्ने क्रम बढ्न थालेको मानव मूल्य मिसनका संस्थापक चैतन्यकृष्ण प्रभुले बताए । वैदिक सनातन हिन्दू धर्मावलम्बीले गाईको पूजा गरेर गाईको गहुँत, गोबर र दूधलाई पवित्र किन मानेका रहेछन् भन्ने कुरा अहिले वैज्ञानिक अनुसन्धानले प्रमाणित गर्न थालेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । “हाम्रा ऋषिमुनिले अध्ययन अनुसन्धानबाट प्रमाणित गरेर नै यी कुरालाई पवित्र मानेका थिए,” उनले भने – “यी विषयमा वैज्ञानिकले अहिलेमात्र अध्ययन अनुसन्धान सुरु गर्दैछन् । यस्ता गुणले युक्त पवित्र गाईको दान गर्नाले दान गर्ने मानिस पनि पवित्र हुने भएकाले हाम्रा धार्मिक कृत्यमा गोदान अर्थात् गाई दानको विधि रहेको हो ।” यही तथ्यलाई बुझेर गोब्रती योगी सोमराजले बाँकेको कोहलपुरमा ५१ वटा स्थानीय गाईको संरक्षण गरी दुई कट्ठा जग्गामा अनुसन्धानका रुपमा गाईको गहुँत र गोबरबाटै खेती गरिरहेकाछन् ।

हाल बुटवल सहर वरपर ६०० र नेपालगन्ज सहर वरपर २०० वटा स्थानीय गाई बेवारिसे रुपमा छोडिएका छन् । यी गाईलाई संरक्षण गर्ने कार्यक्रम ल्याउने तयारी जनस्तरबाट गर्न लागिएको पनि उनले बताए  । धर्तीका लागि गाईको गोबर अमृत मानिने भएकाले बृहत्रुपमा गाईको संरक्षण गरिसकेपछि सयौँ बिगाहा जमिनमा प्राङ्गारिकखेती गर्न सकिनेछ । गाईको गहुँतबाट १४८ प्रकारका रोग ठीक हुने वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएको छ । गाईको घ्यूले बढेको कोलेस्ट्रोल ठीक गराउनुका साथै मुटुरोगमा समेत लाभदायक रहेको तथ्य प्रमाणित भएको छ । रुसी वैज्ञानिक शिरोबीचले मानिसमा हुने रेडियोधर्मी कणको प्रभाव नष्ट गर्ने क्षमता गाईको दूध, दही, घ्यू, गहुँत र गोबरमा हुने अनुसन्धानबाट प्रमाणित गरेकाछन् । सन् २०१२ मा अमेरिकन हर्ट एसोसिएसनले स्थानीय गाईको दही सेवन गर्नाले उच्च रक्तचापका रोगीमा सो समस्या ३१ प्रतिशतले कमी आएको आफ्नो शोधपत्रमा उल्लेख गरेका छन् । इन्टरनेसनल कार्डियोलोजी भारतका अध्यक्ष डा शान्तिलाल साहले भैँसीको दूधमा लोङ्चन फ्याट बढी भई नसा जमेर अवरुद्ध हुँदा हृदयाघातका समस्या देखापरेकाले गाईको दूध हृदय रोगीका लागि वरदान सावित भएको अनुसन्धाबाट प्रमाणित गरेकाछन् ।

गाईको गहुँतमा अमेरिकाले शोध अनुसन्धान गरी गोमूत्रबाट बन्ने पाँचवटा औषधिका रुपमा ‘पेटेन्ट राइट’ लिएको गोब्रती सोमराज बताएकाछन् । भारतले पनि गाईको गोबरमा अनुसन्धान गरी ४८ वटा औषधिका लागि पेटेन्ट राइट लिएको छ । गाईको घ्यू पनि उत्तिकै औषधीय गुणले युक्त छ । गाईको घ्यूले हवन गर्दा प्रोपिलिन अक्साइड, इथिलिन अक्साइड, फारमेलडी हाइड ग्यास निस्किन्छ । प्रोपिलिन अक्साइडले वर्षा गर्न सहयोग पुरयाउँछ भने इथिलिन अक्साइड र फारमेलडी ग्यासले पर्यावरणमा नकारात्मक असर पुरयाउने जीवाणुलाई मारी शुद्धीकरण गर्दछ । यसैले गर्दा गोघृत अर्थात् गाईको घ्यूको महत्व छ । यस किसिमको महत्व भएको राष्ट्रिय जनावर गाईलाई कसैले खान्छन् भनेकै तर्कका आधारमा राष्ट्रिय जनावरबाट हटाउन अनेक किसिमका षडयन्त्र हुँदै आएकाले यसविरुद्धको अभियानमा आफू पनि लागेको पूर्व सांसद शङ्कर पाण्डे बताएकाछन् । “बाघ र डाँफे कसैले खाँदैनन् र ? अनि खागकै लागि कति गैँडाको हत्या गरिन्छ । के अब यी सब हुन दिइरहने ?” – पूर्व सांसद पाण्डेले भने ।

“गोरखनाथ र पशुपतिनाथको देशमा गाई एउटा राष्ट्रिय धरोहरका रुपमा रहँदै आएको छ, ” मिसनका संस्थापक चैतन्य कृष्ण प्रभुले भन्नुभयो – “धेरै गोवंश पालेकैले शिवजीलाई पशुका पतिअर्थात् पशुपति भनिन्छ । यसैकारण शिवजीको बाहन नै साँढे अर्थात् गोरु रहन गएको हो । धेरै गाईको रक्षा गरेकाले गोरक्षनाथ अपभ्रंश भई गोरखनाथ हुन गएको हो । यही भूमिमा गाई गोठालाबाट द्रव्य शाह राष्ट्रनायक बनेको इतिहास छ । धेरै गाई पाल्ने गोपालवंशी राजाहरुले समेत यही भूमिमा शासन चलाएको इतिहास छ । गोरक्षाबाट अपभ्रंश भई गोरखा शब्द बनेको हो ।”

राष्ट्रिय गाई स्मारकको अवधारणा  : नेपालमा राष्ट्रिय जनावर गाईमाथि चौतर्फी रुपमा नकारात्मक दृष्टिकोण बढेपछि स्थानीय जातका गाईको महत्व बुझाई संरक्षणका लागि राष्ट्रिय गाई स्मारकको अवधारणा अगाडि सारिएको छ । मारवाडी सेवा समिति पशुपति गौशाला धर्मशालाको प्रस्तावमा मिसनका संस्थापक चैतन्य कृष्ण प्रभु र श्री राम जानकी गौशाला कोहलपुर बाँकेका प्रमुख संरक्षक गोब्रती योगी सोमराजको समर्थनमा स्मारकको अवधारणा ल्याइएको हो । स्मारकका लागि सरकारसँग जग्गाको व्यवस्थाका लागि अनुरोध गरिने र सरकारले व्यवस्था नगरिदिएमा नागरिकबाट सहयोग जुटाएर जग्गा किनी पाँच हजार गाई जम्मा पारेर राष्ट्रिय गाई स्मारक निर्माण गरिने भएको छ । स्मारकमा गाईका विषयमा वैज्ञानिक र आध्यात्मिक अनुसन्धान गराइने, वाचनालय र पुस्तकालयको व्यवस्था गरिने र गाईको दूध, दही र घ्यूका परिकारको प्रदर्शनीस्थलसमेत राखिने भएको छ । यी कार्यका लागि कम्तीमा पनि १०० बिगाहा जग्गा चाहिने भएको हो । सरकारले जग्गा उपलब्ध नगराए गाईप्रति श्रद्धा भक्ति भएका व्यक्तिबाट रु एक/एक चन्दा उठाएर राष्ट्रिय गाई स्मारक बनाइने कार्यक्रम संयोजक महेश मोदीले जानकारी दिए । “नेपालमा पाइने स्थानीय जातका गाई नै राष्ट्रिय जनावर हो । जर्सी गाई राष्ट्रिय जनावर होइन तर जर्सी गाईलाई खुवाउने आहार ल्याउन राज्यले सहुलियत दिने गरेको छ भने स्थानीय गाईप्रति उपेक्षा भाव प्रकट गर्ने गरेको छ,” गाई पाल्ने व्यवसाय गर्दै आएका केशवप्रसाद भण्डारीले भने ।

पञ्चगव्य उपचार विधि : स्थानीय गाईको पञ्चगव्यका माध्यमबाट हुने चिकित्साको तुलना विश्वका कुनै पनि चिकित्सा प्रणालीसँग हुनै नसक्ने वैज्ञानिक अध्ययन अनुसन्धानबाटै प्रमाणित भएको गोब्रती योगी सोमराज बताउछन्। यस चिकित्साले मधुमेह, उच्च रक्तचाप, बाथ, दम, युरिक एसिड, चर्म रोग र अर्थराइटिस जस्ता असाध्य रोगमा चमत्कारिकरुपमा लाभ पुरयाउँछ । मास्टर डिप्लोमा इन पञ्चगव्य थेरोपीमा चेन्नई दक्षिण भारतमा अध्ययन गरिरहनुभएका गोब्रती योगी सोमराज यस्ता असाध्य रोगमा पञ्चगव्य चिकित्सा वरदान सावित भएको अनुभव सुनाउछन । दक्षिण भारतको चेन्नईमा प्राज्ञिक अध्ययन अध्यापन हुने पञ्चगव्य चिकित्साको अन्त भने प्रशिक्षण मात्र दिने गरिएको छ । नेपालमा अध्ययन अध्यापन त परै जाओस् अहिलेसम्म प्रशिक्षणसमेत भएको छैन । पञ्चगव्य चिकित्साको उपचार भने न्युरोडमा रहेको कल्याण आयुर्वेद केन्द्रमा सुरु भएको छ । भारतबाटै अध्ययन गरी आएकाले अहिले यस केन्द्रमा पञ्चगव्य चिकित्साबाट उपचार गरिरहेको केन्द्रका सञ्चालकसमेत रहेका कार्यक्रम संयोजक मोदीले बताउए । राष्ट्रिय गाई स्मारकको निर्माणपछि त्यही स्थलमा पञ्चगव्य ‘चिकित्साको प्राज्ञिक अध्ययन अध्यापन गराई दक्ष चिकित्सकको उत्पादनसमेत गरिने भएको छ । यसबाट असाध्य रोग लागेका व्यक्तिले बिना कुनै ‘साइड इफेक्ट’ आफ्नो रोग निवारण गर्ने अवसर प्राप्त गर्नेछन् । -पूर्णप्रसाद मिश्र/eheraldpost

प्रकाशित मिति: सोमवार, चैत्र ९, २०७१