शुक्रबार, बैशाख ७, २०८१

सुर्खेतमा शीत भण्डार स्थापनाका लागि बहश

drसुर्खेत, चैत्र । मध्यपश्चिमाञ्चलको सदरमुकामका रुपमा रहेको सुर्खेतमा शीत भण्डार नभएका कारण सुर्खेतमात्र होइन सुर्खेतका नजिकका जिल्लाहरुका किसानहरुले उत्पादन गरेका कृषि उपजहरु वाध्यताका कारण सस्तो मूल्यमा बेच्नु परेको छ ।
किसानहरुले उत्पादन गरेको कृषि उपजलाई उचित मूल्यमा बेच्नका लागि उत्पादित कृषि उपज लामो समयसम्म संकलन गरी सुरक्षित राख्ने शीत भण्डार नभएकै कारण किसानहरु मारमा परेको यस क्षेत्रका किसान, कृषि व्यवसायीहरु, व्यापारी एवं सरोकारवाला निकायहरुले बताएका छन् । २०६६ सालमा सुर्खेतमा शीत भण्डार सञ्चालन गर्नका लागि अध्ययन भए लगतै सरोकारवालाहरु भण्डार स्थापनाका लागि जुर्रमुराएपनि पछि त्यसै सेलाएको थियो । यतिखेर कृषि विकास मन्त्रालय मातहतमा सञ्चालनमा रहेको उच्च मूल्य कृषि बस्तु विकास आयोजनाले सुर्खेतमा पुन ः शीत भण्डार स्थापना गर्नु पर्दछ भन्ने चासो उब्जाईदिएको छ ।
सुर्खेत लगायत आसपासका जिल्लाका किसानहरुले उत्पादन गरेका कृषि उपजहरुको भण्डारण गर्नका लागि सुर्खेत जिल्लामा शीत भण्डारको आवश्यकता एवं अवसर विषयक गोष्ठी सञ्चालन गरी सरोकारवाल निकायहरुलाई एउटै थलोमा उभ्याएर शीत भण्डारण स्थापना सम्वन्धमा छलफल गराएको छ ।
गोष्ठीमा प्रमुख अतिथिका रुपमा सुर्खेत पुगेका कृषि विकास मन्त्रालयका सहसचिव डा.दिनेशप्रसाद पराजुलीले शीत भण्डारले हजारौं किसानहरुको रोजीरोटीसँग सम्वन्ध राख्ने भएकाले किसानहरुका लागि महत्वपूर्ण मानिएको शीत भण्डार स्थापनाका लागि सरोकारवालाहरुको माग अनुरुप सरकारले सहयोग गर्ने बताए । शीत भण्डार स्थापना गरेर मात्र नपुग्ने बताउँदै डा. पराजुलीले शीत भण्डार सञ्चालन गर्नका लागि उत्कृष्ट व्यवस्थापनको आवश्यक पर्ने भएकाले सो अनुरुप गर्न सके किसान र व्यवसायी दुवैका लागि हितकार हुने बताए ।
गोष्ठिमा क्षेत्रीय कृषि विकास निर्देशनालय मध्यपश्चिमाञ्चलका क्षेत्रीय निर्देशक अच्चुतप्रसाद ढकालले सुर्खेतमा शीत भण्डार स्थापना सम्वन्धि कार्यपत्र प्रस्तुत गर्दै कृषि क्षेत्रको विकासको प्रशस्त सम्भावना रहेको चर्चा गरेका थिए । गोष्ठीमा अर्का कार्यपत्र प्रस्तुतकर्ता कृषि उद्यम केन्द्रका कार्यकारी निर्देशक प्रदीप महर्जनले व्यवसायीहरुले कसरी नाफा कमाउन सकिन्छ भन्ने कुरा ध्यान दिएकै कारण बजारको अवस्थालाई हरेर मात्र शीत भण्डार स्थापनाका लागि लगानी गर्ने बताए । सरकारले २० मेट्रिक टन क्षमतासम्मको शीत भण्डार स्थापना गर्नका लागि अनुदान दिएको भएपनि त्यसले खासै उपलब्धि नहुने समेत बताए ।
कार्यक्रममा उच्च मूल्य कृषि बस्तु आयोजनाका आयोजना निर्देशक राजेन्द्रप्रसाद भारीले आफूहरु किसानहरुले उत्पादन गरेको कृषि उपजमहरु नष्ट नपाउने र सस्तो मूल्यमा बेच्न नपरोस् भन्न सोच राखेर सुर्खेत जिल्लामा शीत भण्डार केन्द्र स्थापनाका लागि जोड दिएको बताए । कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय सुर्खेतका प्रमुख विजयकुमार गिरीले जिल्ला पूर्णरुपमा कृषि प्रधान जिल्ला भएको भएपनि शीत भण्डार कै अभावका कारण किसानहरुले वाध्यतामा सस्तोमा कृषि उपज विक्री गर्नु परेको बताए । कार्यक्रमका जिल्लाका कृषिसँग सरोकार राख्ने सम्पूर्ण सरोकारवाला निकाय, जिल्लामा कृषि कार्यक्रम सञ्चालन गरेका सरकारी एवं गैरसरकारी संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । -कृषि सम्वाददाता

प्रकाशित मिति: सोमवार, चैत्र ९, २०७१