शनिबार, बैशाख ८, २०८१

एउटै गाविसबाट ६० लाखको अम्रिसो निर्यात

खोटाङ, ९ चैत । जिल्लाको दक्षिणी गाविस सुन्तलेबाट रु ६० लाखभन्दा बढीको अम्रिसो निर्यात भएको छ । तराईसँगको सिँधा यातायात जोडिएपछि यस वर्ष सुन्तले गाविसबाट मात्रै रु ६० लाखभन्दा बढीको अम्रिसो निर्यात भएको हो । सुन्तलेका स्थानीयवासीले उत्पादन गरेको अम्रिसो उदयपुरको गाईघाटबाट विराटनगर, जनकपुर, काठमाडौँं तथा भारतसम्म निर्यात हुने गरेको छ । चारसय २९ घरधुरी रहेको उक्त गाविसका स्थानीय बासिन्दाले दश वर्ष अघिदेखि अम्रिसोखेती गर्न सुरु गरेका हुन् । घरैबाट प्रतिकिलो रु ३० रुपैयादेखि रु ४५ सम्ममा बिक्री हुने अम्रिसोकोे कुचो गाईघाटमा प्रतिकिलो रु १५० मा बिक्री हुने गरेको स्थानिय व्यापारीले बताए । एककिलो अम्रिसोबाट तीनवटा तयारी कुचो बन्छ । ठेकेदारमार्फत निर्यात गरिने अम्रिसो यसवर्ष ७० हजार बराबरको एक्लैले बिक्री गरेको सुन्तले–२ की हिरादेवी बञ्जराले बताए । उनले भने, “यसैबाट छोराछोरीको पढाइ खर्चका साथै घरखर्च चलाउने गरेकी छु ।” अम्रिसो उत्पादनमा उर्वर मानिएको सुन्तले गाविसका लागि हालसम्म कसैले सहयोग नगरेको सुन्तले–३ का कृषक चन्द्रमणि राईले बताए । उनले भने, “आफ्नै लगानीमा खेती गर्दा त यस वर्ष रु ६० लाखभन्दा बढीको निर्यात गर्न सकियो, राज्यको ध्यान जान सकेको खण्डमा राम्रो हुने थियो ।”

जिल्लाको फाक्टाङ, साउनेचउर, बोपुङ, मौवाबोटेलगायतका गाविसमा अम्रिसो उत्पादन हुने गरेको छ । पछिल्लो समय महुरे–फोक्सिङटार सडक आसपासका क्षेत्रमा समेत अम्रिसोखेती विस्तार गरिएको छ । जिल्लामा उत्पादित कच्चापदार्थ सहजरुपमा निर्यात गर्न यसै वर्षबाट बाटोको स्तरोन्नतीका लागि पहल गर्ने सभासद् विशाल भट्टराईले बताए । उनले भने, “जिल्लामा उत्पादित कच्चापदार्थ निर्यातका लागि धाप्लाङघाट हुँदै तार्नुपर्ने हुँदा ज्यादै समस्या भएको छ, उक्त ठाउँमा पक्की पुलको प्रारम्भिक सर्वेक्षण भए पनि बाँकी काम केही नभएकाले सम्बन्धित निकायमा खबरदारी गर्नेछु ।” धाप्लाङघाट उदयपुरको साउने र खोटाङको सुन्तले जोड्ने सुनकोसी नदीमा पर्छ । उक्त ठाउँमा पक्की पुल नहुँदा झोलुङ्गे पुलमार्फत सामान ओसारपसार गर्नुपर्ने बाध्यता छ ।

प्रकाशित मिति: सोमवार, चैत्र ९, २०७१