बिहिबार, बैशाख १३, २०८१

उखुले बजार नपाउँदा किसान चिन्तित

दाङ, ३ चैत । दाङको देउखुरीस्थित गोवरडिहा, गङ्गापरस्पुर, वेला, राजपुर गढवालगायत गाविसमा किसानले उत्पादन गरेको उखुले बजार नपाउँदा किसान मर्कामा परेका छन् ।

उखुखेती गरिरहनु भएका गढवाका किसान महेश यादवले दिएको जानकारीअनुसार त्यस क्षेत्रका ९० जनाभन्दा बढी किसानले सय बिगाहा क्षेत्रफल जग्गामा लगाएको उखुले बजार नपाउँदा चिन्तित बनेका हुन् ।
अहिले किसानले ४०० क्विन्टल उखु काटेर खेतमा राखेका छन् । धेरै वर्षदेखि उखु खरिद गर्दै आएको कपिलवस्तुमा रहेको महालक्ष्मी चिनी मिल बन्द भएपछि किसानलाई बजारको समस्या परेको हो ।
यसैबीच, किसानले आफूहरूले व्यावसायिक रूपमा खेती गरेको उखुको बजारको व्यवस्था मिलाई दिन सरकारसँग माग गरेका छन् । किसानले उत्पादन गरेको उखुको बजारको व्यवस्था मिलाउन दबाब दिने उद्देश्यले रामलक्ष्मण शाहको अध्यक्षतामा सात सदस्यीय सङ्घर्ष समिति पनि गठन गरेको जनाएका छन् ।

प्रकाशित मिति: मङ्लबार, चैत्र ३, २०७१