शुक्रबार, चैत्र १६, २०८०

आफ्नो कार्यकाल अविस्मरणीय

jayamukund-finalकाठमाडौं १ चैत्र । कृषि विकास मन्त्रालयमा करिव २९ महिना सचिव पदमा रहेर काम गरेका कृषि सचिव जयमुकुन्द खनालले उद्योग मन्त्रालयमा सरुवा भएर जाँदा जाँदै मन्त्रालय मातहतका उच्च अधिकारीहरुको साथ र सहयोगका कारण आफूले गरेको संकल्प पूरा गरेको बताएका छन् । कृषि विकास मन्त्रालयमा रहँदा गरेका कतिपय कार्यले आफ्नो कार्यकायल स्मरणीय बन्न पुगेको समेत सचिव खनालले बताएका छन् । उद्योग मन्त्रालयमा सरुवा भएर जाने पूर्वसन्ध्यामा मातहतका विभिन्न कार्यालय प्रमुखहरुलाई व्यक्तिगत रुपमा पत्र पठाई खनालले २०६९ सालको श्रावण महिनामा मन्त्रालयले भोग्नु परेका रसायनिक मल आपूर्तिको समस्यालाई मनन्गरी सो समस्या समाधान गर्दै पुनः सो समस्या आउन नदिन गरेको संकल्प पूरा गराउनका लागि पु¥याउनु भएको योगदानको कदर समेत गरेका छन् । बाली, मत्स्य र पशुपंक्षी बीमा योजना ल्याउन मन्त्रालय सफल भएको र त्यसमा उच्च अधिकारीहरुले महत्वपूर्ण भूमिका रहेको भन्दै बीस बर्षे दीर्घकालिन कृषि विकास रणनीति तर्जुमाको सिलसिलामा उच्च अधिकृतहरुबाट पाएको सहयोगको पनि मुक्त कण्ठले प्रशंसा गरेका छन् । सो पत्रमा खनालले भनेका छन्, कृषि विकास मन्त्रालयले क्षतिपूर्ति सहितको बडापत्रको कार्यान्वयन, प्रमुख थोक बजारहरुमा विक्री हुने तरकारी तथा फलफूलको मूल्य वेवसाइटमा तत्काल प्रकाशनमा ल्याउने कार्य, सरोकारवालाहरु र सेवाप्रदायकवीचको रहेको दूरीलाई घटाउने कार्यमा होस्टेमा हैसै गर्दै तपाईहरु कै सक्रियतामा मन्त्रालयबाट जारी विभिन्न निर्देशिका र कार्यविधिहरुको कार्यान्वयनबाट युवा लक्षित लगायत प्रतिष्पर्धात्मक पुरक अनुदान कार्यक्रम सफलतम् ढंगले सम्पादन गर्न सक्नु खुशीको विषय भएको समेत उल्लेख गरेका छन् । आफ्नो कार्यकालमा बैदेशिक सहयोगमा सञ्चालित आयोजना मार्फत कृषिको व्यवसायिकरण गर्न निकै प्रयास भएको र उपभोक्ताहरुकोले स्वस्थ तरकारी र फलफूल सेवन गर्न पाउने अधिकारको सुनिश्चिता गर्न विषादी दू्रत विश्लेषण प्रयोगशाला मार्फत ठोस कार्यक्रम जारी रहेकोले उपभोक्ताको पक्षका मन्त्रालय र मातहतका कर्मचारीहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा खुशी समेत व्यक्त गरेका छन् । २०६९ को उत्तरार्धमा र २०७० सालको पूर्वाधमा देशका बिभिन्न भागमा फैलिएको बर्डफ्लु रोग नियन्त्रण गर्न सरकारी तथा गैरसरकारी क्षेत्रमा कार्यरत पशु चिकित्सक र पशु चिकित्सा प्राविधिकहरुले पु¥याउनु भएको योगदानबाट आफूले धेरै कुरा सिक्न अवसर पाएकोले पनि कृषि विकास मन्त्रालयको कार्यकाल अविस्मरणीय बनेको खनालले बताएका छन् । कृषि विकास मन्त्रालयको सचिव पदको जिम्मेवारी सम्हाल्न आउनु हुने सचिव उत्तमकुमार भट्टराईलाई पनि आफूलाई जस्तै सहयोग र सद्भाव उपलब्ध गराई नेपाल सरकारले कृषि विकास मन्त्रालयबाट राखेको अपेक्षा पूर्ण रुपमा सम्पादन गर्ने शुभेच्छा सहित कृषि क्षेत्रको विकास र कृषिको व्यवसायिकरणको उज्जवल भविष्यको कामना समेत सचिव खनालले गरेका छन् । आज तीन बजे कृषि विकास मन्त्रालयका कर्मचारीहरुले सचिव खनाललाई विदाई गर्दैछन् ।

प्रकाशित मिति: आइतवार, चैत्र १, २०७१