शनिबार, बैशाख ८, २०८१

प्यूठानमा क्षेत्रीयस्तरको माछा स्रोतकेन्द्र

प्यूठान, २५ फागुन । मत्स्य विकास केन्दको सहयोगमा यहाँका कृषकले क्षेत्रीयस्तरको माछा स्रोतकेन्द्र सुरु गरेका छन् । जिल्ला कृषि विकास कार्यालयको समन्वयमा झिमरुक उपत्यकाको खैरामा मध्यपश्चिमस्तरीय स्रोत केन्द्र कृषकले सुरु गरेका हुन् । स्थानीय कृषकले सुरु गरेको व्यावसायिक माछापालन व्यवसायलाई सहयोग गर्ने र यस क्षेत्रमा आवश्यक माछाका भुराको यहि नै पूर्ति गर्ने उद्देश्यले पहिलो पटक स्रोतकेन्द्र सञ्चालनमा आएको छ ।
मत्स्य विकास केन्द्र, जिल्ला कृषि विकास कार्यालय, युवा स्वरोजगार कोष र स्थानीय कृषकको रु ५५ लाख बढीको लगानीमा स्रोत केन्द्र सञ्चालनमा ल्याइएको वरिष्ठ कृषि विकास अधिकृत शिवनारायण चौधरीले बताएका छन् । “यस क्षेत्रको माछाको माग यहि नै पूर्ति गर्ने हाम्रो योजना छ ।” अधिकृत चौधरीले भने– “यहाँका कृषकले व्यावसायिक माछापालनसँगै भुरा उत्पादन गर्ने योजना बनाएका थिए । त्यसमा हामीले सहयोगसहित सहजीकरण गरी स्रोत केन्द्रनै सञ्चालनमा ल्यायौँ ।”
झिमरुक उपत्यकाको विद्युत् ड्याम साइटमा ६० रोपनी जग्गा भाडामा लिई यहाँका कृषकले सामूहिक माछा स्रोतकेन्द्र सञ्चालनमा ल्याएका हुन् । एघार जना कृषकले झिमरुक मत्स्यपालन समूह गठन गरी माछापालनसँगै भुरा उत्पादन सुरु गरेको समूहका अध्यक्ष रेशमबहादुर बस्नेतले बताए ।
“छोटो समयमा राम्रो आम्दानी हुने र मेहनत पनि कम गर्नुपर्ने भएपछि यो पेसा रोजेका छौँ ।” अध्यक्ष बस्नेतले भने– “मत्स्य विकास केन्द्रले माछाका भुरा उत्पादनका लागि यहाँ उत्तम स्थान रहेको भन्दै हामीलाई सहयोग गरे पछि हामी यसमा थप आर्कषित भएका छौँ ।”
मध्यपश्चिम क्षेत्रकै ठूलो क्षेत्रफलमा माछाका भुरा उत्पादन सुरु गरेको भन्दै उनले यस क्षेत्रको माछा माग आपूर्ति गर्ने र क्रमशः यसलाई विस्तार गर्दै लैजाने योजना रहेको बताए । कमन, नैनि, रहुँ, सिलभर कार्भ, ग्रासकार्भ, विगेट जातका माछा उत्पादन हुने गरेको माछा समूहका कोषाध्यक्ष तथा कृषक बोधिप्रसाद आचार्यले बताए ।
“कमन जातको माछा राम्रो उत्पादन हुन्छ ।” आचार्यले भन्नुभयो– “खानका लागि रहुँ जातको माछा मीठो हुने भन्दै माग धेरै आउने गर्छ ।” कृषकले सुरुको समयमा करिब पाँच लाखको सङ्ख्यामा माछा भुरा उत्पादन सुरु गरेका छन् ।

प्रकाशित मिति: सोमवार, फाल्गुन २५, २०७१