बिहिबार, बैशाख ६, २०८१

व्यवसायिक बन्दै छपियाको माछापालन

बुटवल, २४ फागुन । नमुनाका रुपमा रहेको रुपन्देहीको दयानगर गाविस, छपियाको माछापालन व्यावसाय उदाहरणीय वन्दै गएको छ । स्थानीय किसानले आआफ्ना पोखरीमा सानो लगानीमा गर्दै आएको माछापालन अहिले आएर ठूलाठूला पोखरीमा करोडाँैको लगानी गरी व्यावसायिक रुपमा माछापालन गर्न थालिएको हो । दयानगर गाविस–७ ओलहिवामा रु नौ करोडको लागतमा व्यावसायिक माछापालनसँगै मत्स्य पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न घिरिमे कन्ट्रिसाइट एग्रो फार्म सञ्चालनमा आएको छ ।
करिब नौ बिगाहा क्षेत्रफलमा सुरु गरिएको माछापालन व्यवसायसँगै होमस्टे, बोटिङ, लोप हुन लागेका बिरुवाको बगैँचा, कछुवा फार्मलगायतका सुविधासहितको माछापालन व्यवसाय विस्तार हुँदै गएको छ । घिरिमे कन्ट्रिसाइट एग्रो फार्म चार दाजुभाइको लगानीमा थालिएको हो ।
सोही गाविस–२ छपिया बैदलीमा रु चार करोडको लागतमा माछापालनसहित बहुउद्देश्यीय कृषि व्यवसाय सुरु गरिएको छ । रुपन्देहीका तीनजना युवा व्यवसायीको लगानीमा सो बहुउद्देश्यीय व्यवसाय सुरु गरिएको हो ।
नौ बिगाहा क्षेत्रफलमा पोखरी निर्माण गरी माछापालन सुरु गरिएको प्रालिका अध्यक्ष दिवाकर भुसालले जानकारी दिए ।  उनका अनुसार सो स्थानमा सातवटा माछा पोखरी निर्माण गरिएको छ । युवा उद्यमी दिवाकर भुसाल, लोचन भुसाल र मिनराज भुसालको संयुक्त लगानीमा ‘रेन्वो मत्स्य तथा कृषि फार्म प्रालि’ स्थापना गरी व्यवसाय सुरु गरिएको हो । भारतबाट आउने मासुजन्य सामग्रीको आयात प्रतिस्थापनका लागि मत्स्य तथा कृषि फार्मको स्थापना गरिएको प्रालिका अध्यक्ष भुसालले जानकारी दिए ।
उनका अनुसार प्रालिले माछामात्र नभई कुखुरा, हाँस र बाख्रासमेत पाल्ने योजना रहेको छ । सो क्षेत्रमा अहिले छ बिगाहा क्षेत्रफलमा माछा पोखरी निर्माण गरिएको छ । टिक, श्रीखण्ड, रक्तचन्दन, पाउलोनिया चाइनिज सालका बिरुवा समेत रोपिएको भुसालले बताए ।

प्रकाशित मिति: आइतवार, फाल्गुन २४, २०७१