शनिबार, बैशाख १, २०८१

कृषि क्षेत्रको विकास गर्न साना किसान महत्वपूर्ण

yogendra karkiपरम्परागत रुपमा अंगाली आएको कृषि व्यवसायलाई हेर्ने हो भने हामी कृषि प्रधान देशका रुपमा स्थापित हुनका लागि ठूलो खाडल छ । त्यो खाडल पुर्नका लागि र कृषिमा रुपान्तरण गर्नका लागि नेपालमा अत्यधिक संख्यामा रहेको परम्परागत र निर्वाहमुखी कृषिलाई व्यावसायिक तर्फ रुपान्तरण गर्नु पर्ने आवश्यकतालाई दृष्टिगत गर्दै २० वर्षे कृषि रणनीति र राष्ट्रिय कृषि नीति २०६१ ले निर्दिष्ट गरे अनुसार कृषि क्षेत्रमा कार्यरत सबै सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका निकायहरु विगत डेढ दशक देखि व्यावसायिक कृषिलाई अभिवृद्धि गर्ने कार्यमा प्रयासरत रहँदै आएका छन् । देशको दिगो विकास र गरिबी निवारणमा कृषिको भूमिका विश्व सामु स्पष्ट भइसकेको छ । विश्व बैंकको हालैको प्रतिवेदनले गरिबी निवारणमा अन्य क्षेत्रको दाँजोमा कृषि क्षेत्रको ४ गुना बढि योगदान हुने प्रमाणित भइसकेको छ । तर पनि नेपालले व्यावसायिक कृषि तर्फ खासै फड्को मार्न नसकेको सम्वद्ध सबै क्षेत्रहरुको गुनासो यथावत छ । गाउँहरुबाट ठूला संख्यामा युवाहरु सुगम तथा बढि नाफा मुलक रोजगारीको खोजीमा शहरतर्फ र अन्य विदेशी मुलुक खास गरी खाडी क्षेत्र, कोरिया र मलेसिया जान ठूलो व्याजदरमा ऋण तिर्न वाध्य छन् । कृषिमा महिलाहरुको सहभागिता वृद्धिभई उनीहरुले बहन गर्दैआएको परम्परागत घरायसी काममाथि कृषि तर्फको अतिरिक्त बोझ समेत थपिदै गएको छ । अर्काे तर्फ विदेशिएका युवायुवतीहरु विदेशमा आफू ठगिएको र त्यहाँ कमाएकोभन्दा आफ्नै गाउँ कृषिलाई व्यावसायिक गर्दा खाडी मुलुकमा कमाएको भन्दा बढि कमाउन सकिने महसुस गर्र्दै स्वदेश फर्किने क्रम पनि शुरु भई व्यावसायिक कृषिमा लाग्नेको संख्या पनि उल्लेखनीय रुपमा बढ्दै गइरहेको छ । यस्तो अवस्थामा व्यावसायिक कृषिमा तीव्रता ल्याउन यस क्षेत्रका चुनौतीहरुलाई सामना गर्न नेपाली कृषकहरुको क्षमता अभिवृद्धि गर्नु पनि नितान्त जरुरी भईसकेको छ ।
व्यावसायिक कृषिका हालका चुनौतीहरु
व्यावसायिक कृषिको मुख्य चुनौती भनेको नै बजारको माग अनुसारको परिमाण र गुणस्तर को कृषि वस्तु उत्पादन गर्न नसकी वस्तु विक्रीबाट हुने आम्दानी उत्पादन लागत भन्दा कम हुनु हो । कुनै पनि सचेत व्यक्ति कुनै त्यस्तो वस्तुको उत्पादन तथा बिक्रीमा सहभागी हुँदैन जब त्यसबाट उसलाई प्रत्यक्ष नोक्सानी हुन्छ । अर्काेतर्फ कृषि यस्तो व्यवसाय हो जसमा प्राकृतिक तथा जलवायु सम्बन्धी कारणहरुबाट जोखिम उच्च रहेको हुन्छ । उत्पादन तथा बिक्री सम्बन्धि जोखिमहरुलाई न्यूनिकरण गर्दै उत्पादन लागत घटाई बजारको माग अनुसारको परिमाण र गुणस्तरका वस्तु उत्पादन गर्न गराउन उपयुक्त पूर्वाधारको अभाव र प्रयाप्त लगानी नहुनु हाम्रो समस्या हो । बजारको माग राम्ररी अध्ययन गरी त्यसलाई सही विश्लेषण गर्दै उत्पादन र विक्री वितरणमा तालमेल मिलाई तुलनात्मक लाभ भएका वस्तुहरुको उत्पादन गर्न नसक्नु, उत्पादित वस्तुको गुणस्तर कायम गर्न नसक्नु, आफ्नो गुणस्तर युक्त उत्पादनलाई समेत देश तथा विदेशका उपभोक्ताहरुलाई विश्वस्त पार्न आवश्यक प्रविधि, ज्ञान र सीप हामीसँग आवश्यकता अनुसार उपलब्ध नहुनु, भूमिको खण्डीकरण हुनु, कृषि ऋणको सहजीकरण नहुनु, कृषि यान्त्रिकीकरणको कमि हुनु आदि व्यावसायिक कृषिका चुनौतीहरु हुन् । बढ्दो अन्तर्राष्टिूयकरण तथा खुला बजारको वर्तमान अवस्थामा नेपाली उत्पादनले छिमेकी मुलुकहरुको उत्पादनसँग परिमाणात्मक प्रतिस्पर्धा गर्न नसकेपनि गुणस्तरको हिसाबले प्रतिस्पर्धा गर्न सक्नु पर्दछ ।
नेपालको अर्थतन्त्रको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान उच्च रहेको र नेपालका दुई करोड छैसठ्ठी लाख मध्ये ८० प्रतिशत भन्दा बढी आम नेपालको आय तथा रोजगारी कृषि क्षेत्रबाट मात्र प्राप्त हुने भएकोले यस क्षेत्रको व्यावसायिकरण हुनु नितान्त जरुरी छ । अतः यस क्षेत्रको विकासको लागि ६० प्रतिशतभन्दा बढी आधा हेक्टरभन्दा कम क्षेत्रफलमा खेती गर्ने साना कृषकहरु भएको हाम्रो जस्तो मुलुकमा उनीहरुलाई केन्दविन्दुमा नराखी कुनै कृषिका कार्यक्रम वा आयोजना÷उपआयोजना सञ्चालन गरे÷गराए कृषि व्यावसायिकरणमा तीव्रता आउन नसकी कृषि क्षेत्रको अपेक्षित विकास हुनै सक्दैन । तसर्थ साना कृषकहरु र साना कृषक समुहको हितलाई प्रवद्र्धन गर्ने कृषिका कार्यक्रम संचालन गरे मात्र यस क्षेत्रको विकास हुनेमा आशावादी बन्न सकिन्छ ।
कृषि विकास मन्त्रालय मातहतमा रहेको व्यवसायिक कृति तथा व्यापार आयोजना साना कृषक समूहहरुको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न केन्द्रित रहेको छ । यसको लागि प्राप्त नतिजा र प्रतिफललाई तीन वटा परिसूचकहरु (उत्पादन, उत्पादकत्व र बिक्री) बाट मापन गरिन्छ । उत्पादन र उत्पादकत्व नबढाई क्षेत्रफल वा संख्याबाट मात्र पनि वृद्धि गर्न सकिन्छ तर उत्पादकत्व बढेन भने उत्पादन खर्च बढ्नुको साथै त्यो दिगो हुन सक्दैन । उत्पादन र उत्पादकत्व बढ्दैमा बिक्रीको लागि बजारमा आउन सकेन भने त्यसको कुनै औचित्य नरहने मात्र होइन त्यो दिगो पनि हुँदैन र बालुवामा पानी खनाए जस्तो हुन्छ । तसर्थ यस आयोजनाले व्यावसायिक कृषिका प्रमुख चुनौतिहरुलाई सामना गर्दै यसको डिजाइनले मूल्य श्रृंखलाका सबै पात्रहरुको सहभागीता अभिबृद्धि गर्दै देशको आवश्यकतालाई सही ढंगबाट प्रतिविम्वित गरेको छ ।
विगतमा २५ जिल्लामा सञ्चालित उपआयोजना अव मुलुकभर लागू हुने छ । आयोजना सफल भयो भने देशमा कृषिले ठूलो फड्को मारी सही रोजगारीको लागि भड्की रहेका लाखौं नेपाली यूवाहरुलाई व्यावसायिक कृषितर्फ सहभागी गराई देशको दिगो विकास तथा गरिबी निवारणमा ठूलो योगदान पुग्ने देखिन्छ । यसै आयोजनाको अनुदान सहयोगमा ललितपुरको लुभुमा सञ्चालित व्यावसायिक तरकारी खेतीमा संलग्न एक महिला कृषकले उत्साहित हुँदै व्यक्त गरेको यो भनाईबाट निष्कर्ष निकाल्न सकिन्छ । हाम्रा श्रीमानहरु हिजोपनि, आज पनि महिनामा एक पटक ८÷१० हजार सम्म त आम्दानी गरी ल्याउने हुन नी, हामीहरुको हिजो त आम्दानी शुन्य थियो, आज व्यवसायिक तरकारी खेतीमा लागेपछि दिनदिनै ४÷५ हजार भन्दा बढि घर भित्र्याउने गरेका छौं। – योगेन्द्र काकी

प्रकाशित मिति: आइतवार, फाल्गुन २४, २०७१