शनिबार, बैशाख ८, २०८१

मुसुरोमा ढुसी लागेपछि किसान चिन्तित

चितवन, २२ फागुन । केही दिनअघि परेको वर्षाका कारण यहाँ मुसुरोमा ढुसी लागेपछि किसान चिन्तित भएका छन् । चितवनको पदमपुरका किसान होमनाथ पौडेल ढुसी लागेको औषधि खोज्दै जिल्ला कृषि विकास कार्यालय भरतपुर  आए ।  पानी धेरै भएर ढुसी लागेकाले कुन औषधि हाल्नुपर्ने हो भन्नेबारे जानकारी लिन कृषि कार्यालय आएको उनले बताए ।
उनले चितवनको पदमपुरमा डेढ बिगाहा क्षेत्रमा मुसुरो लगाएका छन् ।  । आफ्नो गाउँमा मात्रै करिब १० बिगाहा खेतमा मुसुरो लगाइएको पौडेलले बताए । “अधिकांशको मुसिरोमा ढुसी देखिएको छ” उनले बताए ।
चितवनमा तीन दिनसम्म हावाहुरीसहित पानी परेको थियो । सोही कारण पानी कम चाहिने र सुक्खा बनाउनुपर्ने मुसुरोमा पानी बढी भएपछि विभिन्न समस्या देखिएको हो ।
कृषि कार्यालय चितवनका प्राविधिक सहायक नोदनाथ लामिछाने घाम लाग्न थालेकाले समस्या आफैँ ठीक हुँदै जाने बताए  ।
जिल्ला कृषि कार्यालयका अनुसार चितवनमा हाल करिब ३५ सय हेक्टरमा मुसुरो लगाइएको छ । यहाँ प्रतिहेक्टर एक टन मुसुरो उत्पादन हुने प्राविधिक सहायक लामिछानेलेबताए ।

प्रकाशित मिति: शुक्रबार, फाल्गुन २२, २०७१